आधा दर्जन लघुवित्तमा ५ बीमा कम्पनीको लगानी
काठमाडौं । आधा दर्जन लघुवित्त वित्तीय संस्थामा बीमा कम्पनीहरूले लगानी गरेको पाइएको छ । विभिन्न ५ बीमा कम्पनीहरूले ६ लघुवित्तमा करिब साढे १६ करोड बढी लगानी गरेका हुन् । स्वाबलम्बन लघुवित्त, निर्धन उत्थान लघुवित्त, मिथिला लघुवित्त, महुलि लघुवित्त, फरवार्ड लघुवित्त र मेरोमाइक्रोफाइनान्स लघुवित्त संस्थामा सूर्यज्योति लाइफ, नेपाल लाइफ, नेशनल लाइफ, एशियन लाइफ र सन नेपाल लाइफले सेयर लगानी गरेका हुन् । लघुवित्त संस्थाहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सूर्यज्योति लाइफ र नेपाल लाइफले ४ वटा लघुवित्त संस्थामा लगानी गरेका छन् । सूर्यज्योति लाइफले विभिन्न लघुवित्तमा ३ लाख ४ हजार ३६९ कित्ता र नेपाल लाइफले ६ लाख ४४ हजार ८९२ कित्ता सेयर लगानी गरेका हुन् । स्वाबलम्बन लघुवित्तमा सूर्यज्योति लाइफ र नेपाल लाइफले लगानी छ । जसमा सूर्यज्योति लाइफको ०.५६ प्रतिशत अर्थात् ७३ हजार ३५ कित्ता र नेपाल लाइफले ०.६८ प्रतिशत अर्थात् ८८ हजार ३६७ कित्ता सेयर लगानी गरेका हुन् । यस्तै निर्धन उत्थान लघुवित्तमा नेशनल लाइफ र नेपाल लाइफको लगानी रहेको छ । यस लघुवित्तमा नेशनल लाइफको २ प्रतिशत अर्थात् ५ लाख २२ हजार ४१५ कित्ता र नेपाल लाइफको ०.६८ प्रतिशत अर्थात् १ लाख ७८ हजार २५८ कित्ता सेयर लगानी छ । मिथिला लघुवित्तमा नेपाल लाइफको २.०८ प्रतिशत अर्थात् ४० हजार ७६६ कित्ता सेयर, महुलि लघुवित्तमा सूर्यज्योति लाइफको २.१० प्रतिशत अर्थात् ६७ हजार ७५९ कित्ता सेयर लगानी छ । फरवार्ड लघुवित्तमा विभिन्न तीन बीमा कम्पनी नेपाल लाइफ, एशियन लाइफ र सूर्यज्योति लाइफको लगानी रहेको छ । जसमा नेपाल लाइफको ३.२० प्रतिशत अर्थात् ३ लाख ३७ हजार ५ सय कित्ता, एशियन लाइफ र सूर्यज्योति लाइफको ०.८०÷०.८० प्रतिशत अर्थात् ८४ हजार ३७५ कित्ता सेयर स्वामित्व छ । मेरोमाइक्रोफाइनान्स लघुवित्तमा सन नेपाल लाइफको ०.७९ प्रतिशत अर्थात् १ लाख ४ हजार १४५ कित्ता र सूर्यज्योति लाइफको ०.६० प्रतिशत अर्थात् ७९ हजार २ सय कित्ता सेयर लगानी छ ।
यी ५ बैंकमा राष्ट्रिय बीमा कम्पनीको करोडौंको सेयर
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न ५ वटा वाणिज्य बैंकमा करोडौंको सेयर लगानी गरेको छ । कम्पनीले नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक र नेपाल पुनर्बीमा कम्पनीमा सेयर लगानी रहेको हो । यी ५ वटा संस्थामा कम्पनीको ४ करोड ८० लाख १४ हजार १७८ कित्ता सेयर लगानी रहेको छ । जसमध्ये नबिल बैंकमा २ करोड ६ लाख ३६ हजार ९८६ कित्ता सेयर, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा २ करोड २९ लाख ६७ हजार ७९६ कित्ता, ग्लोबल आईएमई बैंकमा ५ लाख ६१ हजार ०८६ कित्ता, नेपाल बैंकमा २ लाख ९९ हजार ५३७ कित्ता र नेपाल पुनर्बीमा कम्पनीमा ३५ लाख ४८ हजार ७७३ कित्ता सेयर लगानी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाल आयल निगम, हिमालयन बैंक, नेपाल ल्युव आयल लगायतका संस्थामा समेत लगानी छ । २०८१ असारसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ६ अर्ब ८१ करोड रुपैयाँको लगानी रहेको कम्पनीको तथ्याङ्क छ । सरकारको प्राथमिकतामा रहेका तथा नेपाल बीमा प्राधिकरणद्वारा निर्दिष्ट गरिएका क्षेत्रहरूमा लगानी गरेको कम्पनीले जनाएको छ । साथै विद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधिभित्र रही विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेञ्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी कम्पनीले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको कम्पनीको भनाइ छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (तत्कालीन राष्ट्रिय बीमा संस्थान) को संयुक्त रूपमा भोगचलन गरिरहेको रामशाह पथस्थित १५ रोपनी जग्गा तथा भवनको अतिरिक्त कम्पनीको वीरगञ्जमा ६ कठ्ठा जग्गा, धनगढीमा ६ कठ्ठा जग्गा रहेको छ भने भैरहवामा ४ कठ्ठा १० धुर जग्गा र सोमा आफ्नो भवन समेत रहेको छ ।
राष्ट्रिय बीमा कम्पनी ११औँ वर्षमा प्रवेश, स्तरीय र विश्वसनीय सेवा दिने प्रतिबद्धता
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी ११औँ वर्षमा प्रवेश गरेको छ । बीमा कम्पनी १० वर्ष पुरा गरी आजदेखि ११औँ वर्षमा प्रवेश गरेको हो । वि.सं.२०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रूपमा स्थापना भएपश्चात् राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ बमोजिम राष्ट्रिय बीमा संस्थान स्थापना भएको थियो । राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा विभागलाई नेपाल सरकारको वि.सं २०७१ बैशाख २३ गतेको निर्णयानुसार छुट्टै सङ्गठित संस्थाको नाममा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको थियो । कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा जेठ २८ गते दर्ता भई २०७१ साल साउन १८ गतेबाट कारोबार सञ्चालन गरेको थियो । यस कम्पनीसँग पाँच दशकभन्दा लामो निर्जीवन बीमा व्यवसायको इतिहास छ । आगामी दिनहरूमा अझ भरपर्दो स्तरीय र विश्वसनीय बीमा सेवा प्रदान गर्दै जाने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ । २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा नेपाल सरकारको ४१.०३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १९.३७ प्रतिशत, नेपाल बैंकको ९.६० प्रतिशत गरी कुल ७० प्रतिशत संस्थाप समूहको सेयर स्वामित्व छ भने सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व छ ।