यी १८ बीमा कम्पनीले प्राधिकरणलाई टेरेनन्, कारोबार रोक्का गर्ने ल्याकत राख्ला ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई २०८१ असारसम्म तोकिएको चुक्ता पुँजी पुर्‍याउन समय दिएको थियो ।  याे अवधिमा १० वटा बीमा कम्पनीले मात्रै प्राधिकरणले दिएको समयमा चुक्ता पुँजी पुर्‍याउन सफल भए । हाल १४ वटा जीवन बीमा र १४ वटा निर्जीवन बीमा कम्पनी गरी २८ बीमा कम्पनी सञ्चालनमा छन् । प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार अझै १८ वटा बीमा कम्पनीले तोकिएको चुक्ता पुँजी पुर्‍याउन सकेका छैनन् । जसमध्ये जीवन बीमातर्फ राष्ट्रिय जीवन बीमा कम्पनी, मेट लाइफ, लाइफ इन्स्योरेन्स कर्पारेशन (एलआईसी) नेपाल, एशियन लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ र प्रभु महालक्ष्मी लाइफले प्राधिकरणले तोकेको पुँजी पुर्‍याउन सकेका छैनन् । यस्तै, निर्जीवन बीमातर्फ नेपाल इन्स्योरेन्स, दि ओरियण्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, यूनाइटेड अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआईसीले प्राधिकरणले तोकेको पुँजी पुर्‍याउन नसकेका हुन् । समय सीमा सकिएपछि पुँजी नपुर्‍याउने बीमा कम्पनीहरूलाई प्राधिकरणले के गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । साविक बीमा संस्थान रहेको यस कम्पनीमा सरकारको लगानी छ । विसं २०८० मंसिर १२ गते कम्पनी लिमिटेडमा परिणत भएपछि ६ महिनाभित्र तोकेको पुँजी पुर्‍याउने शर्त प्राधिकरणमा राखेको स्रोतको भनाइ छ । तर, कम्पनीले मन्त्रालयमा प्रक्रिया अघि बढाएको र स्वीकृति पाउन ढिलाइ भएको जानकारी प्राधिकरणलाई गराएको छ । ‘कम्पनीमा परिणत भएपछि जेठ ११ गतेसम्म पुँजी पुर्‍याइसक्नुपर्ने थियो । तर, कम्पनीले पुर्‍याउन सकेन । किनभने कम्पनीमा सरकारको लगानी छ, लगानी गर्न सरकारको मन्त्रीपरिषद्ले निर्णय पर्खिनुपर्ने हुन्छ । त्यसका लागि अर्थमन्त्रालयमा प्रक्रिया बढाएको कम्पनीले प्राधिकरणलाई जानकारी दिएको छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘अहिले कम्पनी सरकारको निर्णयको पर्खाइमा छ ।’ रिलायबल नेपाल, सन नेपाल र सिटिजन लाइफलाई जगेडा कोषमा भएको रकम चुक्ता पुँजीमा गणना गर्न दिने निर्णय गरेको प्राधिकरण स्रोतको भनाइ छ । साथै, यी कम्पनीले जगेडा कोषमा भएको रकमबाट बोनस सेयरका रूपमा वितरण गरेर पुँजी पुर्‍याउने प्राधिकरणसँग प्रतिबद्धता जनाएका छन्। रिलायबल नेपालको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ, सिटिजन लाइफको ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ र सन नेपाल लाइफको ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । यद्यपि, सन नेपालले भने २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाइसकेको छ । यस्तै, सानिमा रिलायन्स र प्रभु महालक्ष्मीले भने गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट बोनस सेयर वितरण गरेर बाँकी पुँजी पुर्‍याउने प्रतिबद्धता गरेको प्राधिकरण स्रोतको भनाइ छ । हाल सानिमा रिलायन्सको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ र प्रभु महालक्ष्मीको ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । यस्तै, एशियन लाइफले हकप्रद सेयरको माध्यमबाट पुँजी पुर्‍याउने भएको छ । कम्पनीले चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँको ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ । यस्तै, राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ सम्मको मात्रै वार्षिक र लेखापरीक्षक प्रतिवेदनसहितको वित्तीय विवरणहरू सम्पन्न गरी पारित गरेको छ । त्यसयताको कम्पनीको लेखापरीक्षण तथा वार्षिक साधारण सभा हुन सकेको छैन । कम्पनीको सबै हिसाब बाँकी रहेकाले जगेडा कोषमा ठूलो रकम हुन आउँछ । सोही जगेडा कोषको रकमलाई पुँजीमा गणना गर्न दिने तयारी भइरहेको प्राधिकरण स्रोतले बतायो । नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ, यूनाइटेड अजोडको २ अर्ब १० करोड रुपैयाँ, नेको इन्स्योरेन्सको २ अर्ब १ करोड २३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको १ अर्ब ३७ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ र सानिमा जिआईसीको २ अर्ब रुपैयाँ छ । यी कम्पनीले हपक्रद सेयरमार्फत पुँजी वृद्धि गर्ने छन् । जसमध्ये नेपाल इन्स्योरेन्सले ४० प्रतिशत, यूनाइटेड अजोडले १५ प्रतिशत, नेको इन्स्योरेन्सले २५ प्रतिशत, प्रभु इन्स्योरेन्सले ५०.१५ प्रतिशत, एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत, सानिमा जिआईसीले २५ प्रतिशत हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाएका हुन् । नेपाली बीमा बजारमा विभिन्न ४ बीमा कम्पनी मेट लाइफ, एलआईसी नेपाल, ओरियण्टल र नेशनल इन्स्योरेन्समा विदेशी लगानी छ । यी कम्पनीको पुँजी वृद्धि गर्न बीमा प्राधिकरणलाई सकस छ । जसमध्ये एलआईसी नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गरेर ५ अर्ब रुपैयाँ पुँजी पुर्‍याउने छ । मेट लाइफ, ओरियण्टल र नेशनलले पुँजी वृद्धि गर्ने कबुल गरेपछि प्राधिकरण मौन बसेको छ । ‘विदेशी लगानीका कम्पनीलाई पुँजी वृद्धि गर्न प्राधिकरणले पत्र पठाएको थियो, पुँजी वृद्धि गर्ने कबुल गरेपछि सहजीकरण गरेको छ, मेटलाइफ, ओरियण्टल र नेशनलले कबुल गरिसकेका छन्,’ प्राधिकरण स्रोतले भन्यो, ‘एलआईसीमा भारतीय कम्पनीले पुँजी थप्ने निर्णय गरेपछि ८८ प्रतिशत हकप्रदको प्रक्रिया अघि बढिसक्यो, अब भारतीय र नेपाली लगानीकर्ताले आफैं पैसा थप्नुपर्छ ।’ प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा कम्पनीलाई पनि चुक्ता पुँजी २० अर्ब पुर्‍याउन निर्देशन दिएको छ । यी कम्पनीमध्ये हाल नेपाल पुनर्बीमाको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ र हिमालयन पुनर्बीमाको १० अर्ब ४० करोड रुपैयाँ छ । नेपाल पुनर्बीमाले बोनस सेयरमार्फत् पुँजी पुर्‍याउने र हिमालयन पुनर्बीमाले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ । साथै, हाल विभिन्न ७ वटा लघुबीमा नेपाल माइक्रो, गार्डियन माइक्रो लाइफ, प्रोटेक्टिभ माइक्रो, क्रेष्ट माइक्रो लाइफ, लिवर्टि माइक्रो लाइफ, स्टार माइक्रो र ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी सञ्चालनमा छन् । प्राधिकरणले यी सातै लघुबीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । जसमध्ये ७० प्रतिशत संस्थापक सेयरधनी र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुनुपर्ने प्रावधान छ । हाल यी सबै कम्पनीको पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । अब ७५ करोड पुँजी पुर्‍याउन सबै लघुबीमा कम्पनीहरूले ३० प्रतिशत अनिवार्य आईपीओ जारी गर्नुपर्ने छ । ‘लघुबीमाको चुक्ता पुँजी ७५ करोड रुपैयाँ हुनुपर्ने हो, जसमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुनुपर्छ, सञ्चालनमा आएको एक वर्षभित्र आईपीओ जारी गर्नुपर्छ, केही कम्पनीको वार्षिक साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ, अब आईपीओ जारी गर्ने प्रस्ताव प्राधिकरणमा आएमा अनुमति दिन्छ,’ स्रोतले भन्यो । पुँजी नपुर्‍याउने कम्पनीको कारोबार रोक्का  समयमा पुँजी नपुर्‍याउने कम्पनीको कारोबार रोक्का गर्न सक्ने अधिकार प्राधिकरणलाई छ । बीमा ऐन बमोजिम समयमा पुँजी पुर्‍याउन नसक्ने कम्पनीको पोर्टफोलियो रोक्का र कारोबार रोक्का गर्ने प्रावधान छ । तर, अधिकांश कम्पनीको पुँजी वृद्धि प्रक्रिया अघि बढेको र अर्काे नियामकमा रोकिएका कारण बीमा प्राधिकरण अन्यौलमा छ । स्रोतका अनुसार नियमनकारी निकायसँग समन्वय गरेर प्राधिकरणले निर्णय गर्छ । यी कम्पनीले पुर्‍याए पुँजी  नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब कायम गर्न निर्देशन दिएको हो । जीवन बीमातर्फ नेपाल लाइफको ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ, हिमालयन लाइफको ८ अर्ब २ करोड ३ लाख रुपैयाँ, नेशनल लाइफको ५ अर्ब १ करोड १६ लाख रुपैयाँ, सूर्याज्योति लाइफको ५ अर्ब १ करोड १९ लाख रुपैयाँ र आइएमई लाइफको ५ अर्ब रुपैयाँ छ । निर्जीवन बीमातर्फ भने हिमालयन एभरेष्टको २ अर्ब ५० करोड १ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ, आईजिआई प्रुडेन्सियलको ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी छ ।

एनआईसी एशियाले १७१ रुपैयाँमा सूर्यज्योती लाइफको सेयर बेच्दै

काठमाडौं । एनआईसी एशिया बैंकले सूर्यज्योती लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ९२ हजार ३४९ कित्ता संस्थापक सेयर आज साउन १३ गतेदेखि बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखेको सूर्यज्योती लाइफको उक्त सेयरको मूल्य प्रतिकित्ता १७१ रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले साउन १८ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त सेयरमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ बैंकको स्वामित्वको इन्स्योरेन्सको उक्त सेयर बिक्री प्रबन्धकमा एनआर्ईसी एशिया क्यापिटल रहेको छ ।

सेयर कर्जामा २० करोडको सीमा खारेज, १५ करोड सीमा यथावत

काडमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जामा २० करोडको सीमा खारेज गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै  उक्त सीमा खारेज गरेको गभर्नर महाप्रसाद अधिकारीले बताए । ‘मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिनेछ’ गभर्नर अधिकारले भने । धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको उनले बताए । पत्रकारको एक प्रश्नको जवाफ दिदै गभर्नर अधिकारीले व्यक्तिगत सेयर कर्जाको सीमा १५ करोड रुपैयाँ यथावत रहेको बताए ।