एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकबाट बाहिरिए निरौला

काठमाडौं । एनएलजी इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक लक्ष्मी प्रपन्न निरौलाले दिएको राजिनामा स्वीकृत भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिले सोहि दिनबाट लागु हुनेगरी राजिनामा स्वीकृत गरेको हो । निरौला २०८० वैशाख २७ गते सो कम्पनीमा स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका निरौला केहि समय कृषि विकास बैंकको अध्यक्ष जिम्मेवारी बहन गरेका थिए । तत्कालिन सरकार परिवर्तन भएपछि उनले कृषि विकास बैंकबाट राजिनामा दिएका थिए । उनै निरौलाले विगत एक वर्षदेखि एनएलजीमा सञ्चालकको रुपमा रहेका भएतापनि उनी अहिले कम्पनीबाट बाहिरिएका छन् । उनले घरायसी कारणले कम्पनीबाट बाहिरिएको प्रतिक्रिया दिएका छन् ।

नेपाल माइक्रोले आइपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सल कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशनका लागि बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटललाई चयन गरेको छ । उक्त विषयमा इन्स्योरेन्स र क्यापिटलबीच सोमबार सम्झौता भएको छ । सम्झौतामा निष्काशन कम्पनी तथा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र नाथ रिमाल र क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् । नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त नेपाल माइक्रोले चुँक्ता पुँजीको ३० प्रतिशत आइपीओ जारी गर्न लागेको छ ।

लघु र हवाई बीमाको व्यापारमा उछाल, किन घट्यो मोटर र कृषि बीमाको बजार ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीतर्फको लघु बीमाको व्यापार ३४९ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुबीमाको व्यापार ३४९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा कुल ६ करोड ९८ लाख रुपैयाँको लघुबीमा व्यवसाय भएपनि गत आर्थिक वर्षमा भने ३१ करोड ३६ लाख रुपैयाँको पुगेको छ । यस्तै, यो अवधिमा हवाई बीमा ३५.८ प्रतिशत र सम्पत्ति बीमा व्यवसाय १४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा कुल २ अर्ब ६० करोड ७६ लाख रुपैयाँको हवाई बीमा भएको छ भने १० अर्ब ३२ करोड ९२ लाख रुपैयाँको सम्पत्ति बीमा भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो बीमा क्रमशः १ अर्ब ९२ करोड २ लाख र ९ अर्ब रुपैयाँ भएको थियो । गत आर्थिक वर्षमा निर्जीवन बीमा व्यवसाय सामान्य रुपमा वृद्धि भएको छ । निर्जीवन बीमाको व्यपार ३.१२ प्रतिशतले बढेर ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ कायम भएको छ । निर्जीवन तर्फको मूख्य व्यवसायको रुपमा हेरिएको मोटर बीमाको बजार भने घटेको छ । निर्जीवन बजारको ४० प्रतिशतको हिस्सा ओगट्ने मोटर बीमाको व्यापार गत आवमा खुम्चिएको हो । मोटर बीमाको बजार ५.५६ प्रतिशतले खुम्चिएको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा मोटर बीमाको व्यापार ७४ करोड रुपैयाँले घटेको हो । यस्तै, कृषि बीमाको बजार ११.२५ प्रतिशतले घटेको हो । सरकारबाट बीमा अनुदान वापतको रकम भुक्तानी नपाएपछि बीमा कम्पनीहरुले करिब अढाई महिना कृषि बीमालेख जारी गर्न रोकेका थिए । सोही कारणले पनि यो पोर्टफोलियोको व्यापार घटेको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू बताउँछन् । यस्तै, समून्द्रिक बीमालेख अन्तर्गतको बजार १.७४ र इन्जिनिरिङ्ग तथा निमाण क्षेत्रको बीमा बजार ०.९६ प्रतिशतले घटेको छ ।