रेमिट्यान्सको रकममा रमाउन छाडौँ

आर्थिक वर्ष २०८०/८१ को प्रस्तावित बजेट एक हजार ७५१ अर्ब रुपैयाँ भए तापनि संशोधनगरी यस वर्ष १ हजार ५३० अर्बमा घटाइएको छ । यसै सन्दर्भमा, आव २०८१/८२ मा १ हजार ८६० अर्बको प्रस्तावित बजेट संसद्बाट पास भए पनि कार्यान्वयनमा चुनौती देखिन्छ । यसमा वैदेशिक अनुदान आव २०८०/८१ मा ५० अर्ब रुपैयाँ प्रस्तावित भए पनि यसवर्ष जेष्ठसम्म ३ अर्ब रुपैयाँ मात्र प्राप्त हुनु दुःखको कुरा हो । हामीले विदेशसँग आर्जन गर्न नसकेको विश्वसनीयता र अरू स्रोतहरू समेत अनुमान गरिएको तुलनामा उठ्न नसक्नु आफैँमा गम्भीर विषय हो । मुलुकको राजस्व आशातीत परिचालित हुन नसक्नु, पुँजीगत खर्च गर्न नसक्नु, स्वदेश र विदेशबाट ऋण प्रस्तावित कार्यान्वयन हुन नसक्नु तथा साँवा र ब्याज राष्ट्रले तिर्ने ऋणको भार बढ्दै जानु यो परिस्थितिमा अबको समृद्धिको यात्रामा चुनौतीका विषय हुन् । संविधानमा उल्लेखित समाजवाद उन्मुख राज्यव्यवस्था मूलतः लोककल्याणकारी चरित्रको उदार, खुला र प्रतिस्पर्धी हो । तर, संविधानमा जे व्यावस्था भए पनि कार्यान्वयमा समस्या भने देखिन्छ । यसै विषयमा हामीले विकास प्रयासमा देखिएका चुनौतीहरूको विश्लेषण गरेका छाैँ । गरिबी र असमानता : गरिबी र असमानता नेपालको विकासको प्रमुख बाधक हुन् । ग्रामीण क्षेत्रका जनताले पर्याप्त सुविधा र अवसरहरू प्राप्त गर्न नसकिरहेको अवस्थामा शहरी क्षेत्रका जनताहरूले तुलनात्मक रूपमा बढी सुविधा र अवसरहरू पाउँदैछन् । आर्थिक असमानताले सामाजिक असन्तुलन पैदा गरिरहेको छ । उदाहरणका लागि, ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य र शिक्षाको पहुँच सीमित छ, जसले गर्दा गरिबीको चक्रलाई तोड्न कठिनाइ भएको छ । शिक्षा र स्वास्थ्य : शिक्षा र स्वास्थ्य सेवाहरूको अभाव विकासको लागि अर्को ठूलो बाधा हो । ग्रामीण क्षेत्रका विद्यालयहरूमा आधारभूत सुविधाहरूको कमी छ । शिक्षण स्तर सुधार गर्न र गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न सरकारले पर्याप्त स्रोत उपलब्ध गराउनुपर्छ । स्वास्थ्य सेवाहरूमा पहुँच सीमित छ, जसले गर्दा ग्रामीण क्षेत्रका जनताहरूलाई स्वास्थ्य सेवाको पहुँचमा समस्या भएको छ । रोजगारी र व्यवसाय : रोजगारी र व्यवसायको कमीले पनि नेपाललाई आर्थिक रुपमा पछि पारेको छ । युवा वर्ग बेरोजगार छ । यसले गर्दा उनीहरूको क्षमताको सही प्रयोग हुन सकेको छैन । व्यावसायिक वातावरण सुधार गर्न र स्वरोजगार प्रवद्र्धन गर्न ध्यान दिनु आवश्यक छ । बेरोजगारीले गर्दा युवा विदेसिन बाध्य छन् । यसले देशमा ‘ब्रेन ड्रेन’को समस्या उत्पन्न गरेको छ । देशको विकासका लागि युवा शक्तिलाई सही ढङ्गले प्रयोग गर्न सरकारले रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ । पूर्वाधार विकास : पूर्वाधार विकासमा पनि धेरै काम गर्न बाँकी छ । यातायात, सञ्चार, विद्युत् आदि क्षेत्रहरूमा लगानीको आवश्यकता छ । ग्रामीण क्षेत्रका लागि विशेष पूर्वाधार विकास कार्यक्रमहरू आवश्यक छन् । यसले गर्दा गाउँगाउँमा पनि विकासको पहुँच पुग्न सकोस् । नेपालको भौगोलिक विविधता र कठिनाइका कारण पूर्वाधार विकास चुनौतीपूर्ण छ । ग्रामीण क्षेत्रहरूमा यातायात र सञ्चारको पहुँच सीमित छ । यसलाई सुधार गर्न सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्दछ । सुशासन र पारदर्शिता : सुशासन र पारदर्शीता विकासको महत्वपूर्ण आधार हो । भ्रष्टाचारले विकास प्रयासहरूमा अवरोध पुर्याइरहेको छ । प्रशासनिक प्रक्रियाहरूलाई सरल र पारदर्शी बनाउन आवश्यक छ । यसले गर्दा जनताले सरकारप्रति विश्वास कायम गर्न सकून् । नेपालमा भ्रष्टाचार व्यापक रूपमा फैलिएको छ । यसले विकास प्रयासहरूमा गम्भीर अवरोध पुर्याइरहेको छ । प्रशासनिक सुधार र भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम चाल्नुपर्दछ । पारदर्शीता र जवाफदेहीता बढाउन सरकार र गैरसरकारी संस्थाहरूले मिलेर काम गर्नुपर्छ । वातावरण संरक्षण र जलवायु परिवर्तन : वातावरण संरक्षण विकाससँगै अघि बढ्नुपर्ने महत्वपूर्ण विषय हो । वातावरणीय सन्तुलन कायम राख्न र प्राकृतिक स्रोतहरूको दिगो उपयोग सुनिश्चित गर्न आवश्यक छ । जलवायु परिवर्तनको प्रभावलाई मध्यनजर राख्दै विकास रणनीतिहरू तयार गर्नुपर्छ । यसले गर्दा भविष्यका पिँढीहरूलाई स्वस्थ र सुरक्षित वातावरण मिलोस् । नेपाल प्राकृतिक स्रोतहरूले धनी देश हो । यिनको सही संरक्षण र व्यवस्थापन नगर्ने हो भने वातावरणीय सङ्कट उत्पन्न हुन सक्छ । जलवायु परिवर्तनका चुनौतीहरूलाई सामना गर्न र वातावरणीय सन्तुलन कायम राख्न सरकार, निजी क्षेत्र र नागरिक समाजले संयुक्त प्रयास गर्नुपर्छ । सामाजिक न्याय : सामाजिक न्यायको सुनिश्चितता विकासको आधार हो । सबै वर्ग र समुदायलाई समान अवसर र सुविधाको पहुँच सुनिश्चित गर्नुपर्छ । लैङ्गिक समानता, जातीय समानता र सामाजिक समावेशीकरणमा ध्यान दिनुपर्छ, जसले गर्दा समाजको हरेक तप्काले विकासको लाभ प्राप्त गर्न सकोस् । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यहाँ विभिन्न जाति, भाषा र संस्कृतिका मानिसहरू बसोबास गर्छन् । यिनको अधिकार र अवसरको समान सुनिश्चितबिना विकास सम्भव छैन । लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा विशेष ध्यान दिनुपर्छ । दलाल पुजीवादको विकास : सन् १०८० को शुरुदेखि नै नेपालले आर्थिक क्षेत्रमा उच्च व्यापार तथा शोधनान्तर घाटा, बढ्दो बजेट घाटा, मुद्रास्फीति, तथा घट्दो विदेशी मुद्रा सञ्चितिजस्ता समस्याको सामना गर्नुपर्‍यो । सन् १०८५ मा नेपालमा पनि आर्थिक सुधारका नाममा राज्यको भूमिका घटाउने र खुला बजार अर्थतन्त्र अपनाउने अवस्था आयो । व्यापार, वित्तीय र विनिमय प्रणालीको उदारीकरण यसैबेलादेखि सुरु भयो । नेपालको समाजवाद निर्माण : अहिले नेपाल एकातिर प्रतिस्पर्धी राजनीति, खुला समाज, खुला व्यापार, निजी क्षेत्रको वाहुल्य भएको अर्थतन्त्र, वाह्य सहायतामा आधारित सार्वजनिक वित्त स्थिति, उच्च लगानीका लागि बाह्य पूँजीमाथिको निर्भरता तथा अर्थतन्त्रमा सार्वजनिक क्षेत्रको कमजोर अवस्थितिका बीचमा छ भने अर्कातिर उच्च आर्थिक वृद्धि, सामाजिक न्यायसहितको विकास, सामाजिक सुरक्षा र समृद्धिको बाटोबाट छिटोभन्दा छिटो समाजवादतर्फ सङ्क्रमण गर्नुपर्ने आकांक्षामा पनि छ । मुलुकी संहिता कार्यान्वयन, संविधानमा उल्लेखित मौलिक हकको पूर्ण कार्यान्वयन, प्रतिस्पर्धी र समाजप्रति जिम्मेवार निजी क्षेत्रको विकास, शिक्षा, स्वास्थलगायतका आधारभूत सामाजिक सेवामा राज्यको दरिलो उपस्थिति, आर्थिक पूर्वाधारको विकास, सामाजिक संरक्षण र सुरक्षामा राज्यको उत्तरदायी भूमिका, उत्पादनका साधनमा बहुसङ्ख्यक जनताको पहुँच, राष्ट्रिय उद्योगको विकास र न्यायपूर्ण उत्पादन सम्बन्धबाट समाजवादतर्फ अघि बढ्नु आजको मार्गचित्र हो । मुख्य सुधार गर्नुपर्ने क्षेत्र वन, कृषि शिक्षा : वनको सदुपयोग अझै विस्तारीत रुपमा हुन सकेको छैन । वन पैदावरलाई उपयोग गर्ने नीति आवश्यक देखिन्छ । काठजन्य सामग्री आयातबाट अर्थतन्त्रमा गम्भीर असर परेको छ । आयात रोक्ने एउटा उपाय भनेको वन पैदावरको सही उपयोग पनि हो । त्यस्तै कृषि प्रदन देश नेपालमा व्यावसायिक कृषि गर्नु अनिवार्य बनेको छ । आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदै आत्मनिर्भर र निर्यातमुखी कृषि अहिलेको आवश्यकता हो । त्यस्तै, विद्यार्थीको सिकाइको स्तर सुधार्न नसक्नु नेपालको शिक्षा प्रणालीको सबैभन्दा पेचिलो विषय बनेको छ । अर्थतन्त्रसँग जोड्न नसक्नु पनि यसको गम्भीर समस्या हो । यसले विद्यालयदेखि विश्वविद्यालय तहसम्म सार्वजनिक शिक्षामा सरकारले गरेको लगानीबाट न्यून प्रतिफल प्राप्त भएको छ । शिक्षाको गुणस्तरमा देखिएका यी यावत् समस्याका कारण शिक्षाले नेपालको आर्थिक वृद्धिमा अपेक्षाकृत योगदान दिन सकेको देखिँदैन । यस विषयमा पर्याप्त अध्ययन अनुसन्धान र गरमागरम सार्वजनिक बहस निर्माण हुन नसक्नु नेपालका लागि अर्को विडम्बना हो । समृद्धिका लागि ठोस कदम : यी सबै मुद्दाहरूलाई मध्यनजर राख्दै नेपालले आफ्नो विकास प्रयासहरूलाई अघि बढाउनुपर्छ । सामाजिक न्याय र समृद्धिको लागि ठोस कदमहरू चाल्न आवश्यक छ, जसले गर्दा सबै नेपालीले विकासको लाभ प्राप्त गर्न सकून् । विकास प्रयासहरूमा सबैको सक्रिय सहभागिता र सहयोगले मात्र देशलाई समृद्धिको यात्रामा अघि बढाउन सकिन्छ । समग्र नेपालको हाल चलिरहेको आर्थिक ढाँचामा पुनरावलोकन गरी वैदेशिक व्यापारबाट सामान आयात गर्ने, भ्याटबाट राजश्व सङ्कलन गर्ने, रेमिट्यान्सको पैसा विदेश पठाइ राजस्व उठ्दा रमाउने सोचलाई परिवर्तन गरी नेपालको विशिष्टमा आधारित हरित अर्थतन्त्र, पानी, वन, कृषि, जडीबुटी, वन्यजन्तु र पर्यावरणीय पर्यटनलाई सम्वद्र्धन–प्रवद्र्धन गर्ने सकिने र छरिएको पुँजी एकीकृत भई राष्ट्रिय पुँजी निर्माण हुँदै स्वाभिमानी अर्थतन्त्रको निर्माण र आफ्नै मौलिकतामा आधारित समाजवादउन्मुख बाटोमा अर्थतन्त्रलाई लैजान सकिन्छ । नेपाललाई सामाजिक न्याय र समृद्धिको मार्गमा अगाडि बढाउन यी चुनौतीहरूलाई समाधान गर्दै सरकार र सरोकारवाला निकायहरूले ठोस कदम चाल्नु आवश्यक छ । समृद्ध नेपालको सपना साकार पार्न सबै क्षेत्रबाट एकजुट प्रयास आवश्यक छ । देशको समग्र विकासको लागि शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, सुशासन, वातावरण संरक्षण र सामाजिक न्यायमा विशेष ध्यान दिनुपर्छ । यसरी मात्र हामीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त गर्न सक्छौँ । रासस (डा देवकोटा बागमती प्रदेशसभा सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन्)

महामारीले ल्याउने विश्व संकट

महामारी भनेको एउटा रोग वा सङ्क्रमण हो, जसले विश्वव्यापीस्तरमा वा ठूलो भौगोलिक क्षेत्रमा तीव्ररूपमा फैलिन्छ र धेरै सङ्ख्यामा मानिसलाई प्रभावित पार्छ । यसमा सामान्यतया नयाँ सङ्क्रामक रोग समावेश हुन्छन्, जसमा मानिससँग सङ्क्रमणसँग लड्ने प्रतिरक्षा कमजोर हुन्छ, जसले गर्दा व्यापक बिरामी/अस्वस्थ गराउँछ । महामारीले धेरै देशहरू वा महादेशलाई समेट्न सक्छ र रोगको फैलावटलाई नियन्त्रण गर्न र व्यवस्थापन गर्न अन्तर्राष्ट्रियस्तरमा समन्वित प्रतिक्रिया आवश्यक पर्छ । महामारीको घोषणा विश्व स्वास्थ्य संगठनद्वारा गरिन्छ । जब कुनै महामारी विभिन्न देशहरूमा व्यापक रूपमा फैलिन्छ र नियन्त्रण गर्न चुनौतीपूर्ण हुन्छ। महामारीले मानव जनसङख्यालाई गहिरो रूपमा प्रभाव पार्छ । विगतमा यस्ता थुप्रै महामारीहरु भएका छन् । सन् १६५–१८०को एन्टोनिन प्लेग,सन् ५४१–५४२मा जस्टिनियन प्लेग,सन् ७३५–७३७ को जापनिज स्माल पक्स,सन् १३४७–१३५१ को ब्ल्याक डेथ महामारी,सन् १६२९–१६३१ को इटालियन प्लेग,सन् १९६५–१६६६ को ग्रेट प्लेग अफ लन्डन महामारी भएको थियो । यस्तै सन् १८१७–१९२३ को पहिलो हैजा, सन् १८२७–१८३५को दोस्रो हैजा महामारी,सन् १८३९–१८५६ को तेस्रो हैजा,सन् १८६३–१८७५ को चौथो हैजा महामारी,सन् १८८१–१८८६ को पाँचौं हैजा महामारी,सन् १८८९–१८९० को रसियन फ्लू र सन् १८९९–१९३३ को छैठो हैजा महामारी भएको थियो । सन् १९१८–१९१९ को स्प्यानिस फ्लू,सन् १९५७–१९५८ को एसियन फ्लू, सन् १९६१ देखि वर्तमानसम्म सातौँ हैजा, सन् १९६८–१९७० को हङ्कङ फ्लु,सन् १९८१ देखि वर्तमानसम्म एचआइभी एड्स,सन् २००२–२००३ को सार्स कोरोना भाइरस–१,सन् २००९–२०१० को स्वाइन फ्लु,सन् २०१४–२०१६ को इबोला,सन् २०१५ देखि वर्तमानसम्म मर्स महामारी रसन् २०१९ देखि वर्तमानसम्म कोभिड–१९ महामारीलाई लिन सकिन्छ । महामारीले जनसङ्ख्याको ठूलो हिस्सालाई असर गर्छ । महामारीका नतिजाहरू दूरगामी र बहुआयामिक हुन्छन्, जसले समाजका विभिन्न पक्षहरूलाई असर गर्छन् । महामारीहरूले बिरामी र मृत्युदरमा उल्लेखनीय वृद्धि गर्छन् । अस्पताल र क्लिनिकहरूले चिकित्सा आपूर्ति, उपकरण र कर्मचारीहरूको अभाव सामना गर्न सक्छन्, जसले उपचारको गुणस्तर घटाउँछ । महामारीबाट बचेकाहरूले दीर्घकालीन स्वास्थ्य समस्याहरूबाट ग्रस्त हुन सक्छन् ।दीर्घकालीन थकान, अंग क्षति, मधुमेह,रगतको मात्रामा गिरावट, रगत जम्ने, प्लेट्लेट्स को मात्रा घट्ने, हृदयघात, स्ट्रोक, स्नायुसम्बन्धी समस्याहरू, रोग प्रतिरक्षा शक्तिमा हस कोभिडपछिका अवस्थामा देखिएका छन् । गम्भीर रोगप्रसारका कारण प्रभावित हुने व्यक्तिहरूमा डिप्रेसन र पोस्ट–ट्रामाटिक स्ट्रेस डिसअर्डर विकास हुन्छ । महामारीहको कारण आर्थिक गतिविधिमा उल्लेखनीय मन्दी आउन सक्छ । धेरै व्यवसायहरू, विशेषगरी साना व्यवसायहरू बन्द हुन सक्छन्, जसले व्यापक रोजगारी गुमाउनु र बेरोजगारी दरमा वृद्धि गराउँछ । लकडाउन, क्वारेन्टाइन र आइसोलेसन जस्ता उपायहरूले सामाजिक एकान्तमा वृद्धि गर्छन्, जसले मानसिक स्वास्थ्यलाई असर गर्छ र मानसिक समस्याहरू जस्तै मन आत्तिने,चिन्ता र डिप्रेशनको घटनाहरू वृद्धि गर्छ । विद्यालय बन्दले शिक्षा प्रणालीमा अवरोध पुर्याउँछ ।महामारीले प्रायः सार्वजनिक स्वास्थ्य नीतिहरू, आर्थिक प्रोत्साहन प्याकेजहरू र स्वास्थ्य सेवा नियमहरूमा परिवर्तनहरू सहित महत्वपूर्ण सरकारी हस्तक्षेपहरू निम्त्याउँछ । महामारीको कमजोर व्यवस्थापनले राजनीतिक अस्थिरता र नेतृत्वमा परिवर्तन ल्याउन सक्छ । घटाइएको औद्योगिक गतिविधि र यातायातले प्रदूषण र हरितगृह ग्यास उत्सर्जनमा अस्थायी कमी ल्याउन सक्छ । ठूलो जमघट समावेश गर्ने सांस्कृतिक र धार्मिक अभ्यासहरू परिवर्तन वा स्थगित हुन सक्छन्, जसले सामुदायिक र सांस्कृतिक जीवनलाई असर गर्न सक्छ । उपभोक्ता बानीहरूमा परिवर्तनहरू जस्तै डिजिटल प्लेटफर्महरू–ई–सेवा, फोन पे, खल्ती र ई–बैंकिङमा बढेको निर्भरता, महामारी पछि पनि जारी रहन सक्छ। यसले दुरदराजका मानिसहरूमा समस्या उत्पन्न गराउन सक्छ । भाइरसको फैलावटलाई नियन्त्रण गर्न निगरानी प्रविधिहरूको प्रयोगले तथ्याङ्क गोपनीयता र नागरिक स्वतन्त्रताहरूको बारेमा चिन्ता बढाउन सक्छ । महामारीको पूर्वतयारीले सम्भावित महामारीलाई प्रभावकारी रूपमा रोक्न, पत्ता लगाउन र प्रतिक्रिया दिन उपायहरू, योजना र कार्यान्वयन समावेश गर्दछ । रोगको प्रकोपहरू निगरानी गर्न बलियो विश्वव्यापी निगरानी प्रणालीहरू स्थापना र कायम गरिनुपर्दछ । विश्व स्वास्थ्य सङ्गठन जस्ता संस्थाहरूले महामारी निगरानीमा निष्पक्ष र महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । बिरामीहरूको सङ्ख्यामा भएको वृद्धिलाई व्यवस्थापन गर्न स्वास्थ्य प्रणालीको क्षमता वृद्धि गर्नुपर्छ । स्वास्थ्यकर्मीलाई सङ्क्रमण नियन्त्रण अभ्यास र आपत्कालीन प्रतिक्रिया प्रक्रियाहरूमा नियमित रूपमा प्रशिक्षण दिनुपर्दछ।व्यक्तिगत सुरक्षा उपकरण,मास्क,सेनिटाइजर,औषधि र सुरक्षित खोपजस्ता आवश्यक चिकित्सकीय सुविधा उपलब्ध हुनुपर्छ । उन्नत उपकरण, उपचार र रोकथामका उपायहरू विकास र तैनाथ गरी ज्ञान र स्रोतहरू साझा गर्न अनुसन्धान र विकासमा अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिनुपर्छ । नवीनतम् वैज्ञानिक प्रमाण र उत्कृष्ट अभ्यासहरूमा आधारित सार्वजनिक स्वास्थ्य नीतिहरू लागू गर्नुपर्छ र नियमित रूपमा अद्यावधिक गर्नुपर्छ।रोकथाम उपायहरू, सङ्क्रामक रोगहरूका लक्षणहरू र प्रारम्भिक उपचारको महत्वको बारेमा समुदायहरूलाई शिक्षित र संलग्न गराउनुपर्छ । महामारीहरूको लागि एकीकृत प्रतिक्रिया सुनिश्चित गर्न अन्तर्राष्ट्रिय साझेदारी र समन्वय संयन्त्रहरूलाई बलियो बनाउनु पर्दछ। महामारीको पूर्वतयारीका लागि विश्वव्यापी स्वास्थ्य पहलहरूमा पर्याप्त रकम र स्रोतहरू छुट्याउनु पर्दछ । सुरक्षित खोप, औषधि र निदान उपकरणको लागि नियामक मापदण्डहरूको सामञ्जस्यतामा काम गर्नुपर्छ । विश्वासिलो स्रोतहरू र तथ्य जाँच संयन्त्रहरूमार्फत गलत सूचना र अफवाहहरू हुन दिनु हुँदैन । महामारीबाट प्रभावित व्यक्तिहरू र व्यवसायहरूलाई आर्थिक सहयोगको खाँचो पर्दछ । महामारीको समयमा जोखिममा रहेका जनतालाई सामाजिक सुरक्षा योजनाहरू बलियो बनाउनु पर्दछ । महामारीको समयमा सञ्चालन र आपूर्ति श्रृङ्खला कायम राख्न व्यवसायहरूलाई निरन्तरता योजना विकास गर्न प्रोत्साहन गर्नुपर्दछ । क्वारेन्टिन र आइसोलेसन जस्ता सार्वजनिक स्वास्थ्य उपायहरूलाई समर्थन गर्ने कानूनी ढाँचाहरू स्थापना र अद्यावधिक गरी स्रोतहरूको वितरण, उपचारको प्राथमिकता र अन्य महत्वपूर्ण निर्णयहरूको लागि स्पष्ट दिशानिर्देशहरू तयार गर्नुपर्ने हुन्छ । महामारीहरूले स्वास्थ्य क्षेत्र र चिकित्सकमा ठूलो दबाब पार्ने हुँदा स्वास्थ्य सेवा प्रणालीको बलियो पक्ष र कमजोरीहरू दुवै उजागर हुन्छन्। महामारीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न पर्याप्त, प्रशिक्षित र लचिलो स्वास्थ्यकर्मीहरूको टिम सुनिश्चित गर्नु महत्वपूर्ण छ। स्वास्थ्यकर्मीहरू, चिकित्सा विद्यार्थीहरू र स्वयंसेवकहरूलाई आवश्यक पर्दा परिचालन गर्न सकिन्छ। चिकित्सक स्वास्थ्यकर्मीहरूलाई सङ्क्रमण नियन्त्रण अभ्यास, उच्च गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरणको विश्वसनीय आपूर्ति सुनिश्चित गर्नुपर्दछ र यसको सही प्रयोगमा प्रशिक्षण दिनुपर्दछ । नयाँ रोगहरूको उपचार प्रोटोकलहरूमा पनि निरन्तर प्रशिक्षण प्रदान गर्नुपर्दछ । चिकित्सक स्वास्थ्यकर्मीलाई आपत्कालीन प्रतिक्रिया प्रक्रियाहरू परिचित गराउन नियमित रूपमा महामारी अनुकरण अभ्यासहरू सञ्चालन गर्नुपर्दछ । स्वास्थ्यकर्मीहरूको तनाव, चिन्ता र मानसिक थकान व्यवस्थापन गर्न मनोवैज्ञानिक समर्थन,परामर्श सेवाहरू र प्रशिक्षण कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्दछ । स्वास्थ्य सेवा सुविधाहरूभित्र बिरामी र कर्मचारीहरूको सुरक्षा गर्न सङ्क्रमण नियन्त्रण प्रोटोकलहरू कडाइका साथ लागू गर्नुपर्दछ । प्रशासनिक कार्यहरू सुव्यवस्थित बनाउन र कार्यभार कम गर्न इलेक्ट्रोनिक स्वास्थ्य रेकर्ड र स्वचालित प्रणालीहरूजस्ता प्रविधिको प्रयोग गर्नुपर्दछ । चिकित्सक स्वास्थ्यकर्मीलाई उचित पारिश्रमिक र सुरक्षित काम गर्ने जस्ता प्रोत्साहन हुने खालका सरकारी नीतिहरू बन्नु पर्दछ । गैरमेडिकल कार्यहरूमा स्वास्थ्य सेवा सुविधाहरूलाई सहयोग गर्न समुदाय स्वयंसेवक कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । यी तथ्यहरुका आधारमा नेपालका स्वास्थ्य सेवा प्रणालीहरूले महामारीको लागि प्रभावकारी तयारी गर्नुपर्ने देखिन्छ । स्वास्थ्य सङ्कटको समयमा स्वास्थ्य सेवा वितरणलाई प्रभावकारी बनाउन तथा स्वास्थ्यकर्मी र बिरामीको मनोबल बलियो गराउन आवश्यक हुन्छ । महामारीले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा जनस्वास्थ्यलाई गम्भीर रूपमा प्रभावित गर्छ। महामारीले जनसङ्ख्या नियन्त्रणमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्न सक्छ तर विश्वका महाशक्ति राष्ट्रहरूले जान अनजानमा महामारीलाई अस्त्रको रुपमा प्रयोग गरी सामान्यतया जनसङ्ख्या नियन्त्रण विधिहरूको रूपमा पनि प्रयोग गर्ने गरेका छन्। महामारीको समयमा, आर्थिक अनिश्चितता, तनाव र स्वास्थ्य सेवामा अवरोधहरूले जन्म दरमा कमी ल्याउन सक्छ। भविष्यको चिन्ताका कारण व्यक्तिहरूले आफ्नो परिवार सुरु गर्न वा विस्तार गर्न ढिलाइ गर्न सक्छन्।महामारीले विशेषगरी वृद्धहरू,बालबालिका वा दीर्घरोग भएकाहरूमाउच्च मृत्यु दर निम्त्याउन सक्छ । यद्यपि, मृत्युदरमा भएको यो वृद्धिलाई सामान्यतया जनसङ्ख्या नियन्त्रणको रूप मानिदैन, किनकि यो जानाजानी मानव हस्तक्षेपको सट्टा रोगको परिणाम हो। महामारीले बसाइँसराइको ढाँचामा परिवर्तन ल्याउन सक्छ किनभने मानिसहरू प्रभावित क्षेत्रहरूबाट जोगिन वा राम्रो स्वास्थ्य सेवा पूर्वाधार भएका क्षेत्रहरूमा जान खोज्छन् । यी बसाइँसराइहरुले विभिन्न क्षेत्रहरूको जनसङ्ख्या घनत्वलाई असर गर्न सक्छ । संयुक्त राज्य अमेरिकामा प्रारम्भिक २० औँ शताब्दीमा फेरि पोलियो देखा परेको थियो । सन् २००९ मा भारतमा पनि व्यापक रूपमा पोलियोका बिरामीहरू देखापरेका थिए । पोलियो महामारी नियन्त्रण गर्नलाई खोप उत्पादनमा बिल्स एण्ड मेलिण्डा फाउन्डेसनले सहयोग गरेका थियो । खोप लगाएका मानिसहरूमा व्यापक रूपमा प्यारालाइसिस देखापर्न थाल्यो र निरन्तरकोअनुसन्धानपछि एउटा तथ्य बाहिर आयो कि यो खोप विश्वको जनसङ्ख्या नियन्त्रण गर्नलाई बनाइएको हो भनेर । सन् २०१० मा बिल गेट्सलेविश्व जनसङ्ख्यालाई घटाउनखोप एउटा हतियार होभनेका थिए । उनले खोपमार्फत १० देखि १५ प्रतिशत विश्वजनसङ्ख्यालाई घटाउन सकिन्छ भनेका थिए । समयक्रमसँगै खोप अभियानको पर्दा पछाडिका डरलाग्दा र भयानक नकारात्मक तथ्यहरु बाहिर आइरहेका छन् । एक्काइसौँ शताब्दीको वैज्ञानिक एआई युगमा सबै देशहरूसँग आ–आफ्नो हैसियतअनुसारका हातहतियारहरू छन् ।त्यसैले विश्वका महाशक्ति राष्ट्रहरूले महामारीलाई हतियार बनाएर विश्व आर्थिक युद्धमा होमिन अनेक प्रयास र गुरु योजनामा तल्लिन रहेका छन्। कोभिड–१९ पनि यसको एउटा ज्वलन्त उदाहरण हो । संयुक्त राज्य अमेरिका र चीनबीचको विश्व आर्थिक टकरावले गर्दा सन् २०१९ मा कोभिड–१९ महामारी ल्याइएको अनुमान गर्न सकिन्छ । विश्व आर्थिक टकरावले सन् २०३० मा फेरि नयाँ महामारी ल्याइने अनुमान गर्न सकिन्छ । चीन,रसिया र संयुक्त राज्य अमेरिकाबीचको विश्व आर्थिक टकराव र बदलिंदो विश्व भूराजनीतिक ध्रुवीकरणको कारण त्यो अवस्था नआउला भन्न सकिन्न । त्यबिेला पनि नेपाल जस्तै अन्य विकासशील देशहरू फेरि चेपुवामा पर्न सक्नेछन् । महामारीमार्फत विश्वका महाशक्ति राष्ट्रहरूले आफ्नो अर्थतन्त्रलाई बलियो र अरु महाशक्ति राष्ट्रहरूको अर्थतन्त्रलाई धराशाही बनाउने माध्यमका रूपमा लिइरहेका छन्। विश्व स्वास्थ्य सङ्गठनले जनसङ्ख्या नियन्त्रणको नीतिहरूलाई प्रोत्साहित गरेको देदिन्छ। दशकौंदेखि एशिया (बङ्गलादेश, भारत, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, थाइल्याण्ड), ल्याटिन अमेरिका (ब्राजिल, कोलम्बिया, मेक्सिको), अफ्रिका (इजिप्ट, इथियोपिया, नाइजेरिया)  र युरोप (टर्की) मा जनसङ्ख्या नियन्त्रण रणनीतिहरू लागू हुँदै आएका छन् । कोभिड–१९ महामारीविरुद्धको खोपपछि विश्वव्यापी रूपमा महिलाहरूले धेरै प्रजनन् समस्याहरू र डरलाग्दो गर्भावस्थाको परिणामहरू रिपोर्ट गरिरहेका छन् । कोरोनाविरुद्ध खोपको एउटा असर निःसन्तान पनि रहेको बताइएको छ । विशेषगरी पुरुषहरूमा व्यापक बाँझोपनको समस्या देखा परेको छ । यसले गर्दा महिलालाई आइभीएफ अर्थात् कृत्रिम गर्भधारण विधिबाट बच्चा जन्माउन बाध्य बनाइएको छ। यो कृत्रिम गर्भाधारण विधिको माध्यमबाट विदेशी जीन भित्र्याउनमा एउटा महत्वपूर्ण चलखेल भइरहेको छ । अष्ट्रेलियका वरिष्ठ प्रजनन चिकित्सक डा. ल्यूक म्याकलिन्डनले कोभिड–१९ महामारीविरुद्धको खोपको नकारात्मक पक्षको बारेमा चेतावनी दिएका थिए । उनले कोभिड–१९ विरुद्ध खोप लगाइएका ७४ प्रतिशत महिलाको स्वतः गर्भपतन, गर्भाशयभित्र शिशु मृत्यु र महिनावारीमा व्यापक गडबडी भइरहेको अनुसन्धानबाट देखिएको बताएका छन् । म्याकलिन्डनले कोभिड खोप लिन अस्वीकार गरेका थिए र कोभिड खोपको नकारात्मक असरहरुको निष्कर्ष सार्वजनिक गरेका कारण उनलाई बर्खास्त गरिएको थियो । बेलायतमाशव व्यवस्थापन केन्द्रका निर्देशक जोन ओलुनीका अनुसार अहिले पहिलेभन्दा धेरै बच्चा मरेका छन् । त्यसको कारण तिनीहरूका आमाहरूलाई भ्रममा पारेर गर्भावस्थामा खोप लगाइएको थियो । त्यस्तै मातृ र नवजात टिटानस उन्मूलन खोप अभियानको पर्दा पछाडिका डरलाग्दो र भयानक तथ्यहरू पनि छन् । प्रजनन्विरुद्ध खोपहरूको विकाससन् १९७० को दशकमा कथित अत्यधिक जनसङ्ख्याको प्रतिक्रियामा सुरु भएको थियो । प्रजनन् नियमनका लागि खोपहरूमा विश्व स्वास्थ्य सङ्गठन टास्क फोर्सका अनुसन्धानकर्ताहरूले टिटी अर्थात् धनुष्टङ्कार खोपमा बिटा–एचसीजी र म्युरामाइल डाइपेप्टाइड नियोजित तरिकाले सफलतापूर्वक संयोजित गरेका थिए । सन् १९९३ मा विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक रूपमा त्यही खोपलाई ‘परिवार योजना’को लागि ‘जन्म–नियन्त्रण’ खोप घोषणा गयो ।पहिलोपटक सन् १९९५ मा र दोस्रोपटक २०१४ मा केन्यामा मातृ र नवजात शिशु टिटानस उन्मूलन÷न्यूनीकरण गर्नलाई विश्व स्वास्थ्य सङ्गठनले त्यही खोपलाई अभियानमा चलाएको थियो। यसमा लाखौं केन्याली महिलाको ज्ञान वा सहमतिबिना गर्भधारण गर्न सक्ने क्षमता खोसिएको थियो।पछि बच्चा जन्माउने उमेरका युवतीलाई नपुङ्सक बनाइदिएको आरोप लागेको थियो । हरेक देशले महामारीविरुद्ध बनेका खोपहरूको आ–आफ्नो देशमा आवश्यक परीक्षण गरेर मात्र जनसमुदायमा खोप अभियान चलाउनुपर्दछ । यसले खोपको उद्देश्य, प्राथमिकता,जटिलता र संयोजन पत्ता लगाउन मद्दत गर्दछ। समग्रमा महामारीले व्यक्ति, समुदाय र समाजमा बहुआयामिक र दूरगामी प्रभाव पार्छ । यसले सार्वजनिक जनस्वास्थ्य आपतकालीन अवस्थाहरूलाई सम्बोधन गर्न व्यापक तयारी, लचिलोपन र विश्वव्यापी सहयोगको महत्वलाई जोड दिन्छ।जबसम्म कोरोना भेरिएन्टको नामाकरण ‘ओमेगा’ हुँदैन, तबसम्म कोरोना भाइरस विश्वबाट पूर्ण रुपमा निर्मूल नहुने अनुमान गर्न सकिन्छ । कोभिड–१९ महामारीको समयमा नेपालको स्वास्थ्य क्षेत्र र जनजीवनहरू एकदम भयावह,नाजुक र धराशाही स्थितिमा थियो । पर्याप्त सदन कक्ष,आवश्यक अक्सिजन आपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी, अत्यावश्यक चिकित्सा उपकरणहरू र औषधिहरुको चरम अभाव थियो । नेपालले त्यस समयलाई ध्यानमा राख्दै समयमै भविष्यमा देखापर्ने महामारीहरूविरुद्ध पूर्वतयारीका अभ्यासहरू (रोकथाम,नियन्त्रणका उपायहरू) पहल गरी कार्यान्वयन गरेमा आगामी दिनमा सबै क्षेत्रका जनतालाई समान रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुनसक्छ ।  यसले मृत्युदर कम गर्न पनि मद्दत गर्नेछ । नेपालले यी तथ्यहरूलाई समग्र तयारी रणनीतिमा समाहित गरी बिभिन्न देशहरू र अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूसँग समन्वय गरेर महामारीहरूको सामना गर्न आफ्नो लचिलोपन र क्षमता वृद्धि गर्नुपर्दछ, जसले स्वास्थ्य, अर्थतन्त्र र समाजमा महामारीको सम्भावित प्रभावलाई कम गर्न मद्दत गर्दछ । रासस (लेखक वीर अस्पतालमा कार्यरत छन्)

होस्टल : सुविधा सम्पन्न एक सुरक्षित घर

एसईईको नतिजा प्रकाशन भएसँगै गाउँ छोडेर विद्यार्थी सहर पस्न थालेका छन् । आ-आफ्नो योजना अनुसार विषय छनोट गर्दै पढ्न सहर पसेका विद्यार्थी कोही कोठा भाडामा लिएर बस्छन् भने धेरै जसो छात्रावास (होस्टल)मा पनि बस्ने गर्छन् । विद्यार्थीहरूकै लागि विभिन्न ठाउँमा छात्र अथवा छात्रावासहरू सञ्चालनमा आएका छन् । घर छोडेर बाहिर बस्दा अझ होस्टेलमा बस्दा विद्यार्थी र अभिभावकहरूले धेरै कुरामा ध्यान दिनुपर्छ । विद्यार्थीका लागि होस्टल राम्रो र सुरक्षित ठाउँ हो । तर, यति हुँदा हुँदैपनि कहिलेकाहीँ नराम्रा दुर्घटना भएका समाचारहरू पनि सुन्नमा आउँछन् । होस्टलमा बस्दा विद्यार्थीलाई सजिलो भएपनि धेरै कुरामा ध्यान आवश्यक हुन्छ । यहाँ रहँदा विद्यार्थीले नियम कानुनमा बस्नुपर्छ । होस्टल र विद्यार्थीले तिर्ने शुल्क हेरर विद्यार्थीले पाउने सेवा सुविधा छुट्टाछुट्टै हुन्छन् । होस्टलमा बसेका विद्यार्थीले खाना पकाउन पर्दैन, लुगा पनि धुन पर्दैन । यो भनेको उनीहरूका लागि पढ्न प्रयाप्त समय हुनु हो । होस्टलमा बस्ने, खाने, लुगा धुने सबै सुविधा एउटै छतमा पाउँछन् । सुरक्षा पनि पाउँछन् । कोठामा एक्लै बस्नु भन्दा साथीहरूसँग होस्टेलमा बस्दा सुरक्षित पनि भइन्छ । विद्यार्थीले के कुरामा ध्यान दिने ? हामी जोकोही पनि अनुशासनमा बस्नुपर्छ । अझ विद्यार्थीको लागि अनुशासन महत्वपूर्ण हुन्छ । कुनै संघ संस्थामा जोडिँदा व्यक्ति त्यहाँको नियम कानुन अनुसार रहनुपर्छ । होस्टलको हकमा पूर्प-पश्चिम, उत्तर-दक्षिणका विद्यार्थीहरू मिलेर एउटै कोठामा बस्नुपर्छ । त्यसका लागि व्यक्ति मिलनसार हुनुपर्छ । होस्टलको आचारसंहिता अनुसार यहाँ बस्ने विद्यार्थीले साथीहरू ल्याउन र होहल्ला गर्न मिल्दैन । होस्टलमा अरुको कोठामा जान समेत पाइँदैन । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म बाहिर जाने काम परे जानकारी गराइ निस्कन मिल्ने भएपनि राति भने निस्कन मिल्दैन । यस्तो नियम सबै होस्टलमा हुन्छ । तर, अहिलेका विद्यार्थीलाई नियममा बस्न मन पर्दैन । उनीहरू स्वतन्त्र हुन मनपर्छ । आफूले मन लागेका ठाउँ जाने, काम गर्ने गरिरहेका विद्यार्थीलाई होस्टलमा बस्न गाह्रो हुन्छ । यस्तै विद्यार्थीले धुम्रपान, मध्यपान गर्न मिल्दैन । तर, आजभोलिका बालबालिका विद्यालयमै हुँदा चुरोट, ई-सिगरेटको लतमा फसेका हुन्छन् । यस्ता विद्यार्थीहरू एउटा नियममा बाँधेर राख्न होस्टललाई पनि चुनौती हुन्छ । होस्टलमा बस्न विद्यार्थीले यस्ता कुरामा सुधार गर्नुपर्छ । पारिवारिक वातावरण हुनुपर्छ विद्यार्थी बस्ने होस्टलमा पारिवारिक वातावरण हुनुपर्छ । जहाँ बस्दा विद्यार्थीलाई घरमै बसे जस्तो महसुस गरोस् । यसका लागि होस्टलले विद्यार्थीका कुरा सुन्ने, समस्या पर्दा सहयोग गर्नेदेखि विभिन्न चाडपर्वमा रमाइलो गर्ने वातावरण बनाउनुपर्छ धेरैजसो होस्टलमा यो गरिन्छ पनि । यस्तो गर्दा बच्चाहरूलाई घरबाट टाढा भएको महसुस हुँदैन । यहाँ पूर्वपश्मिका, फरक जातजाती, धर्म र संस्कृतिका विद्यार्थी एउटै कोठामा बस्नुपर्छ । त्यसो हुँदा एक जातीले अर्को जातीको धर्म संस्कृति पनि जान्ने र बुझ्ने मौका हुन्छ । यसले पनि विद्यार्थीको सिकाइमा धेरै ठूलो प्रभाव पार्छ । होस्टल सञ्चालकहरूले पनि सबै विद्यार्थीहरूलाई एकनासको व्यवहार गर्नुपर्छ । यस्तो व्यवहार वातावरण भए विद्यार्थीलाई पनि सहज हुन्छ भने सञ्चालकहरूलाई पनि सजिलो हुन्छ । समयको बचत होस्टलमा बस्दा विद्यार्थीको समयको बचत हुन्छ । पढाइको लागि घर छोडेर बाहिर आएका विद्यार्थीलाई एकातिर पढाइको चिन्ता अर्कोतिर कतिबेला खाना पकाउने, लुगा धुने र सरसफाइ गर्ने भन्ने पीर हुन्छ । होस्टलमा बस्दा यस्ता कुराको चिन्ता लिनु पर्दैन । पढाइको लागि धेरै समय पाउन सक्छ । घर छोडेर आइसकेपछि सबै काम विद्यार्थी आफैले गर्नुपर्ने हुन्छ । कतिपय विद्यार्थीलाई यति गर्न गाह्रो हुन्छ । सीमित स्रोत साधनमा सबै कुरा राम्रा छन् । होस्टलमा बस्दा नियममा बाँधिनु पर्छ घरमा बस्दा जस्तो स्वतन्त्र हुँदैन । यो एउटा विद्यार्थीका लागि आवश्यक पनि हो । होस्टलमा बस्न विभिन्न ठाउँबाट विद्यार्थी आउँछन् । एउटै कोठामा धेरै जनाले मिलेर बस्नुपर्छ । विभिन्न परिवेशबाट आएका विद्यार्थी एउटै ठाउँमा बस्दा रुम सेयरिङ गर्न पनि सिक्छन् । यो पनि एउटा सिकाइ हो । यहाँ विद्यार्थीले सेयरिङ, केयरिङ सबै कुरा सिक्छन् । विद्यार्थी होस्टलमा बस्दा धैर्य गर्न, सहकार्य गर्न सिक्छन् भने अर्कोलाई सम्मान गर्न, एउटा अनुशासित भएर बस्न सिक्छन् । कतिपय विद्यार्थीहरू अलग परिवेशबाट आएर पनि होस्टलमा बस्दा निकट भइसकेका हुन्छन् । यतिसम्म पनि हुन्छ कि होस्टल बाहिर गएपनि पनि उनीहरूको सम्बन्ध सधैं निकट हुन्छ, यो पनि विद्यार्थीको लागि राम्रो सिकाइ हो । आजभोलि प्रायः परिवारमा आमाबुवा छोराछोरी मात्र हुन्छन् । अझ कतिपय दम्पतीको एक्लो बच्चा हुन्छ । यस्तो परिवारमा बसेको बच्चा होस्टेलमा बस्दा उसलाई समुदायसँग घुलमिल हुन पनि सजिलो हुन्छ । एक अर्काको सम्मान गर्न सिकाइ हुन्छ । घरमा आमाबुवाले सिकाउन नसक्ने कुरा पनि होस्टलमा बस्दा विद्यार्थीले सिकेका हुन्छन् । यसले विद्यार्थीको व्यक्तिगत रुपमा पनि परिर्वतन ल्याउँछ । कक्षामा गएर विद्यार्थीले पाठ्य पुस्तकमा लेखेका कुरा पढ्छन् भने होस्टलमा बस्ने धेरै विद्यार्थीले व्यवहारिक कुरा पनि सिक्छन् । होस्टलमा बस्दा केटाकेटी बिग्रन्छन् ? होस्टलमा बस्दा विद्यार्थीको सिकाइ बढ्छ भने कतिपय केटाकेटी होस्टेलमै बसेर बिग्रेको अथवा नराम्रा दुर्घटना भएको कुरा पनि सुन्नमा आउँछ । यसको मतलब यस्ता घटना हुँदैन भन्ने होइन । कहिँलेकाहीँ यस्ता घटना पनि हुन्छन् । तर, यस्ता घटना हुन नदिन कसले के गर्नुपर्छ भन्ने कुरा पनि ध्यान दिनुपर्छ । यस्ता घटना हुनुमा विद्यार्थी, सञ्चालक सबैको दोष हुन्छ । होस्टल केटा र केटीका लागि छुटछुट्टै हुन्छन् । एउटा होस्टेलमा ४०/५० जना विद्यार्थी हुन्छन् । यसमा सबै विद्यार्थी राम्रा हुन्छन् भन्ने पनि हुँदैन, सबै नराम्रा हुन्छन् भन्ने पनि मिल्दैन । कहिलेकाँही एक दुई जना विद्यार्थीले गरेको गल्तिले पनि होस्टेललाई हेर्ने नजर नराम्रो भइदिन्छ । अनेक थरिका विद्यार्थी आएर कहिलेकाहीँ घटनाहरु पनि हुन्छन् । यसमा सबैले सहकार्य गरेर लाग्नुपर्छ । कतिपय विद्यालयल सञ्चालनमा ल्याएका होस्टलमा स-साना बालबालिकालाई पनि राख्ने गरिन्छ । सानैदेखि होस्टलमा राख्नु राम्रो होइन एसईईपछि होस्टलमा बस्दा राम्रै भएपनि सानै उमेरदेखि बालबालिकालाई अभिभावकबाट टाढा राख्नु भने त्यति राम्रो होइन । बालबालिकालाई समय दिन नसक्ने कतिपय व्यस्त दम्पति सानै उमेरमा छोराछोरीलाई होस्टलमा राख्ने गर्छन् । यसरी राखिएका बालबालिकामा कहिलेकाँही नराम्रो घटना भएको पनि सुन्ने गरिन्छ । केही समय अगाडि चितवनमा एउटी छात्राले आत्हत्या गरेको घटना बाहिर आएको थियो । यसमा सम्बन्धित अभिभावक र सञ्चालकसँगै राज्यले पनि ध्यान दिनुपर्छ । तर, एसईई दिइसकेका विद्यार्थी वा प्लसटु सकेका विद्यार्थीका लागि भने होस्टल उपयुक्त मानिन्छ । कुनै होस्टलमा यस्ता घटना हुन नदिन यस सँग सम्बन्धित संघ संस्थाले कडा एक्सन लिनुपर्छ । कतिपय होस्टलमा बस्ने विद्यार्थीलाई मानसिक समस्या देखिन्छ । यही समस्याका कारण पनि कहिलेकाहीँ नराम्रा घटना भएको सुन्नमा आउँछ । कहिलेकाहीँ चोरी भएका घटनाहरू पनि आउँछन् । यस्ता घटनाहरु भइरहँदा कहिँलेकाहीँ सञ्चालकलाई घटना बारे थाहा नै हुँदैन । कहिलेकाहीँ सबैभन्दा इमान्दार र राम्रो भनिएको विद्यार्थीले पनि होस्टलमा बसेर आत्महत्या गरिरहेका हुन्छन् । यस्ता विषयमा ध्यान दिनुपर्छ । मानसिक स्वास्थ्य समस्याका विषयलाई पनि होस्टल सञ्चालकले ध्यान दिनुपर्छ । जाडो महिनामा हुने ग्यास गिजर पड्किने घटना पनि कहिलेकाँही होस्टेलमा हुन्छन् । होस्टलले के गर्ने ? केटाकेटी जहिले पनि आफू स्वतन्त्र हुन चाहन्छन् । कसैलाई रोकतोक मन पर्दैन । तर, पनि होस्टल सञ्चालकहरूले पनि यस्तो बेला आफ्नो विद्यार्थीको अवस्था के छ उनीहरू के गरिरहेका छन् भन्ने कुरामा ध्यान दिनुपर्छ । होस्टलमा रहेका सबै विद्यार्थीलाई एउटै व्यवहार गर्नुपर्छ । कसैलाई समस्या छ भने सोध्नुपर्छ । कहिलेकाँही परिवारलाई सेयर गर्न नसक्ने कुराहरू पनि विद्यार्थीले गर्न सक्छन् । यस्ता कुरा सञ्चालकहरूले अभिभावकको भूमिका निर्वाह गर्ने गरि सुनिदिनुपर्छ । सञ्चालकले कहिलेकाहीँ अभिभावक र विद्यार्थीको समन्वय गर्ने भूमिका पनि निर्वाह गर्नुपर्ने हुन्छ । विद्यार्थीले के गर्ने ? होस्टलमा बस्ने विद्यार्थीले होस्टलको नियममा बस्नुपर्छ । राति महत्वपूर्ण काम नपरी बाहिर निस्कनु हुँदैन । जानै परे नियमअनुसार फर्म भरेर जानुपर्छ । बाहिर निस्कन परे जानकारी गराउने गर्नुपर्छ । कुनै पनि होस्टलको आफ्नै नियम हुन्छ । त्यही परिधिभित्र रहेर विद्यार्थीले बस्नुपर्छ । नियम अलि कडा गर्दा बच्चाहरूलाई मन पर्दैन । कहिलेकाँही तलमाथि केही भयो भने सञ्चालकहरूमाथि नै प्रश्न उठ्छ । बच्चाहरूलाई अनुशासनमा राख्न सक्नु ठूलो कुरा हो । यो धेरै गाह्रो हुन्छ । तर, पनि राख्नुपर्छ । दिउँसो बाहिर जाने छुट हुन्छ । बिहान ७ बजेदेखि साँझ ७ सम्म आउन जान जान दिन्छ । तर, रातिको हकमा आवतजावत गर्न मिल्दैन । होस्टलमा बस्ने विद्यार्थीले यस्तो मानसिकता चाहिँ राख्नुपर्छ । अनुगमन हुनुपर्छ कतिपय बनाएका नियम कानुन सबै होस्टलमा लागु नभएको पनि हुन सक्छ । यसका लागि सम्बन्धित निकायले बेलावखत अनुगमन गर्न आवश्यक छ । धेरै होस्टल दर्ता बिनै सञ्चालनमा आएका हुन्छन् । त्यस्ता होस्टलले विद्यार्थीलाई सेवा दिन भन्दा पनि व्यापारिक प्रयोजनाका लागि सञ्चालन गरिरहेका हुन्छन् । काठमाडौं उपल्यकामा पनि दर्ताबिना धेरै होस्टल सञ्चालनमा आएको कुरा सुनिन्छ । यस्तो बेला विद्यार्थी अभिावकले ध्यान दिनुपर्छ । कुनैपनि अभिभावले आफ्ना बच्चाहरूलाई होस्टलमा राख्नुअघि र विद्यार्थी आफूले आउनु अघि होस्टल दर्ता भएको हो वा होइन भन्ने कुरा पत्ता लगाउन आवश्यक छ । यदि यो कुरामा ध्यान दिइएन भने पनि जोखिमपूर्ण घटनाहरू पनि हुन सक्छन् । उपत्यका लगायत विभिन्न सहरमा सञ्चालनमा आएका होस्टल सबै विद्यार्थीका लागि मात्र छैनन् । कतिपय होस्टल पर्यटकका लागि कतिपय विद्यार्थीका लागि गरेर विभिन्न खालका होस्टलहरू सञ्चालनमा छन् । अभिभावकको भूमिका घरपरिवारमा बस्दा आफ्नो बच्चाको हेरबिचार कति गरिन्छ, त्यस्तै आवश्यक हेरविचार आफ्नो बच्चा होस्टलमा छ भनेपनि अभिभावकले गर्नुपर्छ । समयमा खाना खाए नखाएको, समयमै होस्टल आए नआएको, उसको पढाइ लगायतका सबै विषयमा टाढा भएपनि अभिभावकले फोन, फेसबुकजस्ता सामाजिक सञ्जालबाट नियमित सम्पर्कमा रहनुपर्छ । बिरामी हुँदादेखि खानपानसम्मको केयर अभिभावकले राख्नुपर्छ । होस्टल एउटा विद्यार्थीका लागि राम्रो ठाउँ हो । जसले बस्न खान सही वातावरण दिन्छ । यसलाई सबैले सकारात्मक रुपमा लिनुपर्छ । समाजले हेर्ने नजर पनि राम्रो बनाउनुपर्छ । (होस्टल एसोशिएसन नेपालकी अध्यक्ष सुनिता लाकौलसँग इन्द्रसरा खड्काले गरेकाे कुराकानीमा आधारित)