नबिल बैंककाे ठाउँमा पुग्न अरुलाई धेरै समय लाग्छः अनिल शाहको विचार

हामी जहिले पनि नयाँ र नर्मल कुरा गर्छौं । विश्वमा कोरोना भाइरसको महामारी नभएको भए आज हामी एउटा सानो हलमा हुन्थ्यौं होला । तर, कोरोनाको कारण हामी भच्र्युअल मिटिङमा छौं । आज नबिल बैंकले ३६ वर्ष पुरा गरेको छ । सन् १९८४ मा स्थापना भएको नबिल बैंकले यो ३६ वर्षे यात्रामा धेरै प्रगति गरिसकेको छ । नबिल बैंकले गर्व गर्न लायक धेरै काम गरेको छ । हामीले यो लकडाउनको समयमा पनि धेरै गृहकार्य गर्यौं । हाम्रो अबको योजना र उद्धेश्य भनेको वित्तीय क्षेत्र र डिजिटल बैंकिङमा छलाङ मार्नु हो । डिजिटलमा हामीले छलाङ मार्यौं भने नबिल बैंकलाई कसैले छुन सक्दैन । लकडाउनकै समयमा पनि हामीले धेरै काम गर्यौं । इलेक्ट्रोनिक सिग्नेचरको प्रडक्ट पनि लिएर आयौं । टिममा गृहकार्य गरेर जेन एन एकाउन्ट पनि ल्यायौं । हामीले लकडाउनको समयमा जुनसुकै काम पनि डिजिटल प्रविधिबाट नै गर्ने प्रयास गर्यौं । अब हामीले बैंकिङको भविश्य डिजिटल होइन बर्तमान हो सोच्नु पर्छ । नबिल बैंकले १२ वर्ष अगाडि अनलाइन एकाउन्ट सुरु गरेको थियो । अब हाम्रो एउटा रणनीति लिएर डिजिटल माध्यमबाट काम गर्न अगाडि बढेका छौं । यसले हाम्रो इफिसियन्सी र प्रडक्टीभिटी बढाओस् भन्ने हो । डिजिटल प्रविधि आजको बजारकोे माग के हो । त्यस अनुसारको योजना बनाएर हामी अगाडि बढाएका छौं । नबिल बैंक विभिन्न योजना तथा कार्यक्रमहरु ल्याउनेमा जहिले अगाडि नै छ । हामीले विभिन्न डिजिटल प्रविधिसँग काम गर्ने संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढिरहेका छौं । अझै आगामी दिनहरुमा डिजिटल प्रविधिमै छलाङ मारेर अगाडि बढ्न चाहन्छौं । हामीले यही समयमा एउटा नयाँ पार्टनर पनि खोजेका छौं । संसारमा सबैभन्दा राम्रो के छ त्यसलाई नेपालमा कसरी ल्याउने भन्ने हाम्रो योजना र चाहना थियो । त्यही चाहना र आवश्यकतालाई मध्येनजर गर्दै हामीले हुवावेसँग समन्वय गर्यौं । अहिले नयाँ पुस्तालाई पनि नबिल बैंकमा संलग्न गराउन र प्रविधिमा फड्को मार्न नबिल बैंक भित्रकै एक नबिल डिजि बैंक सुभारम्भ गरेका छौं । ग्राहकको चाहनालाई कसरी पुरा गर्ने भन्ने तर्फ हाम्रो ध्यान गएको छ । आज भन्दा हाम्रो शुभ दिन अन्य कुन होला ? हामी वित्तीय क्षेत्रमा लिडरको भूमीका खेलेका छौं । हामी डिजिटल बैंकिङलाई अझ सबै नागरिकको पहुँचमा पुर्याउन चाहन्छौं । नबिल बैंकसँग धेरै अनुभवी टीम छ । परिपक्क र अनुभवी मात्र होइन नयाँ युवा पुस्ताको जोस जाँगर पनि हामीसँग छ । यी दुवै समुहको समन्वयले नबिल बैंक केही फरक र पृथक काम गर्न चाहन्छ । अरुलाई हाम्रो ठाउँमा पुग्न धेरै समय लाग्छ । अहिले नयाँ नर्मलमा चुनौती र अवसर पनि हुन्छ । यसैलाई सहकार्य र समन्वयको भूमीकाबाट डिजी बैंकलाई प्राथमिकता दिएका छौं । बैंकले १२ बर्षअघि नै अनलाइनबाट खाता खोल्ने सेवा सुरु गरेपनि त्यसलाई निरन्तरता र धेरै प्राथमिकता थिएन, अब भने हाम्रो सबै ध्यान डिजी बैंकमा जानेछ । नयाँ पुस्तालाई डिजि बैंकका संलग्न गराउने उद्धेश्यले डिजी बैंकको सुभारम्भ गरेका छौं । हामीले डीजी बैंकिङलाई अगाडि बढाउन संस्थाको संरचना नै परिवर्तन गरिसकेको छौं । यसका लागि हामीले ७२ जना कर्मचारी पनि छुट्याइसकेका छाैं । यसमा अब कार्ड मात्र होइन, अनलाइन बैंकिङ, कल सेन्टर सबै अटाउँने छन् । अब हामी नयाँ टेक्नोलोजीको प्रयोग गरेर हाम्रा ग्राहकलाई सेवा प्रदान गर्नेछौं । नबिल बैंक अहिलेको अवस्थामा पुग्न ३६ बर्ष लाग्यो । अब ६ बर्षमा नै हाम्रो डीजी बैंक निक्कै ठूलो हुने हामीले आशा र अपेक्षा लिएका छौं । अहिले पनि हामी नेपाली बैकिङ क्षेत्रमा पायोनियर लिडर बैंकको रुपमा परिचित छौं । (नबिल बैंकका सीईओ शाहले बैंककाे ३६‌‌‍औं वार्षिकाेत्सव कार्यक्रममा रोखेको विचार)

नेकपाको असफलतासँग जनताको बदला हुनसक्छ 

आजभोलि सम्पूर्ण नेपालीको ध्यान नेपाल कम्युनिस्ट पार्टी भित्रको खैलिबैली र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको टीकाउप्रति छ। पार्टीका शिर्ष नेताहरू फुटको  संघारमा छ्न भने शिर्ष नेताहरूलाई मिलाएर पार्टीलाई एकढिक्का बनाउन दोस्रो तहका  स्थायी कमिटी र केन्द्रिय कमिटी सदस्यहरु लागि परेका छ्न् । तर तल्लो तहका नेताकार्यकर्ताहरु भने पार्टी बचाउन एक हुन सक्केका छैनन्। सीमित नेता बचाउ, सत्ता बचाउमा फरक-फरक तरिकाले फरक-फरक कार्यक्रम गरिरहेका छ्न्। बि.सं.२०७५ जेष्ठ २ गते नेकपा एमाले र नेकपा माबादी केन्द्रको एकता पश्चात नेकपा बनेको थियोे जसको अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छन् । नेकपाको बहुमतले केपी शर्मा ओली नेतृत्वको सरकार बन्यो। पार्टी एकताको २ बर्ष पुगिसक्दा सम्म पनि स्थानीय तह तथा तल्लो तह सम्म पार्टी र जन बर्गिए संगठनको एकता हुन सकेन भने अर्कोतर्फ सरकारले पनि ३ बर्षको अवधि सम्म कम्युनिष्टप्रति जनताको जुन आशा थियोे त्यो अनुरुप कामगर्न सकिरहेका छैन। संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा भ्रष्टाचारि, लोभी तथा स्वार्थी व्यक्तिको हालीमुहाली हुँदा जनता कम्युनिष्टहरुको सत्ता र शासनदेखि निराश र चिन्ताजनक छ्न्। कम्युनिष्टहरु सत्तामा रहेकै अवस्थमा महामारी र बिपत्तिले निम्ताएको समस्या सँग किसान, मजदुर लडि रहँदा सरकारको गतिविधि र शासन सत्तादेखि भने  जनता असन्तुष्ट र आक्रोशित नै रहे। कम्युनिष्ट सरकारले नै आफ्ना व्यक्तिको नाममा कोरोना महामारीको संकटमा आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्दा कानुनी मापदण्ड बिपरित ओम्नी समुहलाई टेन्डर दिएर, गुणस्तरहिन सामग्रीको खरिद गर्न पुग्यो। कम्युनिष्ट सरकार हुँदा भ्रष्टाचार, अपराध, अत्याचारका घटना बाहिर आउनु स्वभाविक नै हो । तर भ्रष्टाचार,अपराध, अत्याचारका घटना दिनदिनै बढदै जानु, नियन्त्रण र सजाय दिलाउन सरकार कमजोर देखिनु तथा भ्रष्टहरुको संजालमा सरकार रमाउँदै जानु कम्युनिष्टहरु क्रान्तिको पथमा पतन हुने संकेत हो। कम्युनिष्ट सरकार रहेकै अवस्थामा नेपालमा बलात्कृत भएर ज्यान गुमाएकी  निर्मला पन्त जस्ता बालिकाहरुले न्याय पाउन सकस हुनु, ३३ किलो सुनकाण्डको छानबिन नहुनु, वाइडबडी बिमान खरिदमा भएको अनियमितताबारे छानबिन प्रक्रिया अगाडी नबढाउनु, यति गोकर्ण रिसोर्टको बिषयमा कुनै कदम नचाल्नु, ललिता निबासको जग्गा अतिक्रमण बारे छानबिन अगाडि नबढनु, ७० करोड घुस माग्ने पुर्व सूचना तथा संञ्चार मन्त्री गोकुल बास्कोटाको विरुद्धमा छानबिन नचाल्नु,स्वास्थ्य सामग्री खरिदमा अनियमिता हुनु, क्वारेन्टिन व्यवस्थापनमा १० अर्बको बिल तयार गर्नु, जस्ता अनेकौं कदमले कम्युनिष्ट सरकार जनताको नजरमा गिरेको देखिन्छ। लेखक कोहि दलित भएर मारिए, कोहि गरिब भएर मारिए,कोहि बलात्कृत भएर मारिए, कोहि रोगले,कोहि भोगले,कोही ऋणले, कोहि शासकतहरुको दमनले पीडा खेपिरहनुपरेको छ। न्यायका आवज उठाउँदा ती आवज उठाउने व्यक्तिदेखी न्याय दिने क्षेत्र सम्म दमनकारीहरुले कब्जा गरिदिदाँ सामन्य जनताको कुनैपनि कुराको सम्मान र साथ देशभित्र देखिँदैन । सत्ता र सरकार भ्रष्टहरुको कब्जामा चल्दा न्यायका आशाहरु विलय भएका छ्न। जनताको भरोसा गुम्दा सरकार तथा प्रधानमन्त्री केपि शर्मा ओलीले जनताको निम्ति उदाहरणीय कदम चाल्नुपर्ने हो। तर  केपी शर्मा ओली नेतृत्वको सरकारले देश र जनताको निम्ति गतिलो काम गर्न नसकेको  खण्डमा राजीनामाका कुरा आउनु स्वभाविक हो।  नेकपाका शिर्ष नेताहरू प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम जस्ता नेताहरू जनताप्रति कुनै चिन्ता नभएर  प्रधानमन्त्री, मन्त्री बन्ने सत्ताप्रतिको उग्र लोभ, पार्टी भित्रको मुख्य पदिए जिम्मेवारीको दाउपेचले पार्टीभित्र बिबाद खडा गरेर सरकार ढाल्न र पार्टी फुटको संघारमा पुर्याउनु खोज्नु भने कुनै उपयुक्त ठानिदैँन। कम्युनिष्ट पार्टी भित्रको शक्ति सन्तुलनको खिचातानीले सरकार बिपत्तिमा जनता बचाउनलाई साथमा रहनुपर्ने बेला आफ्नो बचाउलाई नेताकार्यकर्ता सडकमा पठाउनुपर्ने अवस्था छ। नेकपाका शिर्षनेताहरूको गुटिए लडाइँले कार्यकर्ता देखि कम्युनिष्टलाई भोट हाल्ने जनता समेत गुटिए लडाइँको चर्काचर्किमा फसेकाछ्न। पार्टीभित्र  शक्तिसमीकरणमा केपी शर्मा ओलि पार्टी भित्र बलियो भएको अवस्थामा अर्को नेतृत्वलाई पेलेर मात्र लिने, एकतर्फी मात्र निर्णय गर्ने, अर्को नेतृत्व र नेताकार्यकर्ताको बिचार, सल्लाहसुझावलाई सम्बोधन नगर्ने, सत्ता र शक्ति समीकरणमा बलियो देखिएर मुर्खताले   केपी शर्मा ओलीको प्रधानमन्त्री पद र पार्टी अध्यक्षको पद धरापमा परेको देखिन्छ। जब प्रम ओली विरुद्धमा पार्टीमा बोल्न थालिन्छ ती नेताहरुका सपनालाई खेलाई लोभको जालमा पारी सत्तामा रमाइरहन खोज्ने प्रवृत्ति प्रधानमन्त्री केपि शर्मा ओलीमा देखिन्छ। जसको प्रमुख उदाहरण हो नेता बामदेव गौतमलाई माननीय बनाएर प्रधानमन्त्री बनाउने, माधवकुमार नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बनाई मौन बसाल्ने, झलनाथ खनाललाई पार्टीको वरिष्ठ नेता बनाएर शान्त पार्ने, प्रचण्डलाई कार्यकारी अध्यक्ष भन्दै सान्त्वना दिने यी सबै गतिविधिले केपी शर्मा ओली सत्ता लाेभित खेलाडी हुन भनी प्रष्ट हुन्छ भने अर्को तिर प्रचण्ड, माधव नेपाल, बामदेव गौतम , झलनाथ खनाल पनि सत्ताकै दाउपेचमै छट्पटीरहेकोे उनीहरुको गतिविधिले देखिन्छ। किनकि अहिलेसम्म नेकपा यी शिर्ष नेताले नेपाली जनताहरुको पीडा र समस्या बारे एक शब्द बोल्न सकिरहेका छैनन्। रुकुम हत्याकाण्ड , ठुला ठुला भ्रष्टाचार, अन्याय, अपराध र हिंसाका घटना बढदा कानुनी दायरामा ल्याई  सजायको भागेदारी बनाउन कुनै सहयोगि कदम चाल्न सकिरहेका छैनन्। तर प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारीको जन्म जयन्तिमा सम्बोधन गर्ने क्रममा, आफ्नो नेतृत्वको सरकारले कालापानी, लिपुलेक सहितको नेपालको नक्सा बनाएर संबिधान संशोधन गरि निशान छापमा समेत नक्सा सामाबेश गर्दा सरकार ढाल्न भारत र भारतीय एजेन्डहरु आफ्नै पार्टी भित्रबाट लागेको अभिव्यक्ती दिदाँ नेकपाका शिर्षनेताहरु चाहिँ तर्सिनुको केही रहस्य हुनसक्छ। अरु देशलाई दोषी देखाई सरकार संचालनको असफलता बाट भने  प्रधानमन्त्री केपि शर्मा ओलि पन्छिन भने पाउनु हुन्न। जून अभिव्यक्ति देखि प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम एक हुँदै पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलिलाई एकलो बनाइएको छ। अर्को तर्फ ओलि निकटका युवानेता महेश बस्नेतको अप्रत्यक्ष सहयोगमा एमाले पार्टी दर्ता गर्नलाई निर्वाचन आयोगमा निवेदन परेको घटनाले गर्दा शिर्षनेताहरुको दुरि झन बढन पुगेको छ। दोस्रो तहका नेताहरु शिर्षनेता मिलाउन कहिले बालुवाटार, कहिले खुम्लटार, कहिले कोटेश्वर, कहिले भैसेपाटी धाउन थाले भने  कार्यकर्ताहरु  आफ्ना निकट नेता ठानिने, नेता बचाउनलाई सडक र पार्टी कार्यलयमा प्रदर्शन तर्फ लागे यो गतिविधिले कार्यकर्ताहरु भाँडिएका छ्न। त्यस्तै मनपरि सामाजिक संजालमा दिने अभिव्यक्तीले पनि  नेताकार्यकर्ताको सम्बन्धमा तिक्तता देखिएको छ। सके सबै मिलेर जानुहोस हैन भने पार्टीभित्र दोस्रो तहका नेताहरुलाई पार्टी र सरकारको जिम्मेवारी दिनुपर्ने कुरा नेताकार्यकर्ताबाट उठान हुँदा पनि शीर्षनेताहरुले यो कदम नचाल्नुमा शिर्षनेताहरू सिरिफ आफ्नो स्वार्थको निम्ति लडरिहेका छन् भन्ने प्रष्ट हुन्छ। पार्टी फुटने र सरकार ढल्ने कुराबाट जनताहरु एकदमै निराशा छ्न। महिनैपिच्छे फेरबदलहुने, अनेकौं पार्टी र नेताहरुको सरकार देखि जनता हुक्कदिक्क हुँदा स्थायी सरकार र देशको समृद्धिको निम्ति एमाले र माउबादी केन्द्र मिलेर बनेको पार्टी नेकपालाई जिताउन लागे तर अहिले आएर पार्टी फुटाउने र सरकार ढाल्ने जस्ता गातिबिधिले जनतालाई निराशाबादी बनाउँदा जनतामा बदलाको भावना उतपन्न भएको छ। १२ बर्षसम्म कुकुरको पुच्छर ढुगाँमा राखेपनी बाँगाका बाँगै भनेझैं दुईतिहाइको सरकार हुँदा नि उहीँ राजनीतिक प्रवृत्ति छ।जाँडरक्सी, मासुको बिल बनाएर स्थानीय सरकारका मान्छेहरुले बजेट निकासी गर्छन् भने बिकासका योजनामा स्थानीय सरकारले बजेट कति हिनामिना गरेका होलान ? जताततै भ्रष्टाचार नै भ्रष्टाचार छ। स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारले आफ्ना आशेपासेलाई रोजगार दिने, ठेक्कापट्टा दिने, सिफारिस दिने अनेकौं कुकदम चाल्दै बजेट सकिरहेका छ्न। तर  सर्वसाधारण जनतालाई नत जागीर छ, नत श्रम गरेबाफत दाम छ, नत श्रम र सिपको सम्मान छ, नत तिनीहरुले सरकारले दिन राहत पाउछन् । बस पाएको भनेको  केवल  पीडा नै पीडा अन्याय सहनुबाहेक केहिछैन, अन्याय हुँदा न्यायको भिख माग्न न्यालय पुगेपनि सरकार कहाँ पुगेपनी पाउने भनेकै थप अन्याय र पीडा मात्रै छ यस्तो प्रवृत्तिले भोट दिएका ती नेता संग बदलाको तयारी नगरी के गरून् त सर्वसाधारण जनता ? उता बहुमत प्राप्त कम्युनिष्टनेताहरु पद पाउनलाई लडरिहेका छन जनताको पिडाको सम्बोधन नै छैन। नेपाल र नेपाली राजनीतिमा एउटा अचम्म कुरा केछ भने पार्टीभित्रका नेताकार्यकर्ताहरुले, जनताहरुले, भोटरहरुले मिलेर जाउँ एक हौं भन्दा एक हुँदैन तर बिदेशी शक्तिले एक हौं भने एक हुने, फुट भने फुटने, सरकार चलाउ भने चलाउने, सरकार ढाल भने ढाल्न लाग्ने गर्छन्। बिगतमा नेपालको राजनीतिमा हुने बिदेशी हस्तक्षेप मात्रै भारतबाट हुन्थ्यो भने अहिले नेपालको राजनीतिक मामिलामा भारत संगै चीन पनि उतिकै सक्रिय छ।  हिजो राष्ट्रबादी भन्दै प्रचार गरि चुनाव जितेका नेताहरूले बास्तबमा नेपाली जनताहरुलाई बेकुफ नै बनाएका हुन्। ३३ किलो सुनकाण्ड, वाइडबढी काण्ड, ललिता निबास प्रकरण, स्वास्थ सामाग्री खरिदमा अनियमिता, १० अरबको बिल आदि भ्रष्टगतिविधिको छानबिन, कारबाही र सजाय भएको छ कि छैन? यहीँ नै जनताको पहिलो सवाल हुनसक्छ । आज केही परिणाम र प्रमाण पनि हाम्रा अगाडि देखिदै आइरहेकाछ्न। यतिबेला नेपाल र भारतको सिमाबिबाद, चिन र भारतको सिमाबिबादले नेपाल- भारत र चीन – भारत सम्बन्धमा चिसोपना छ। नेपालमा कम्युनिष्ट सरकार हुँदा चिनसंगको नेपालको सम्बन्ध बढदै जानू स्वभाविक हो। २०७२ सालमा नेपाल भुकम्पले महाबिपत्तिमा परेका बेला नाकाबन्दी गरेको भारतको भर नहुँदा नेपालले चिनसँग व्यपारिक सम्बन्धलाई थप बढाउन चाहानछ। यसले गर्दा भारतले नेपाल सरकार अर्थात केपी शर्मा ओलिको सरकारलाई चीन नजीक देखेको हुनसक्छ। त्यसै अनरुप भारत केपी शर्मा ओलि नेतृत्वको सरकार ढाल्न चलखेल गर्नसक्ने आशंका गर्न सकिन्छ। नेकपा भित्र विवाद बढदा पार्टी र कम्युनिष्ट सरकार बचाउनलाई चिनियाँ राजदुतको नेकपा नेताहरु संगको भेटघाटलाई नियाल्दा  चिनसंगको सम्बन्ध बलियो हुँदै गएको देखिन्छ। तर यतिबेला भारत पक्षदर तथा भारतले गलत विश्लेषण गर्नथालेका छ्न। अर्को तर्फ एमसीसी मार्फत नेपाली राजनीतिलाई हस्तक्षेप गर्ने अमेरिकी रणनीति हुँदा यो समयमा नेकपाका शिर्ष नेता र पार्टी पंक्ति गम्भीर हुनुपर्छ। पार्टीलाई मजबुतिका साथ लैजानुपर्छ। पार्टी बलियो भए सरकार बलियो हुनेछ। पार्टी शिर्ष नेताहरू मिल्नुको विकल्प छैन आजको समयमा जनताको अभिमत र कम्युनिष्टप्रतिको बिश्वासलाई घात गरे भोलिको दिनमा कम्युनिष्टहरुलाई राम्रोसँग जनताले बदला लिनेछन। पार्टी र जनबर्गिए संगठनको एकतामा इमानदार,बैचारिक, स्वाभिमानी नेताहरूलाई जिम्मेवारी दिदैँ  महाधिवेशन तर्फ पार्टी केन्द्रित हुनुपर्छ भने सरकारलाई सफल बनाउन नेताकार्यकर्ता परिचालित गर्नुपर्छ। सरकारले पनि मजदुर, किसान , जनताको पक्षमा इमान्दारीका साथ काम गर्नुपर्ने हुन्छ। सरकारले जनताको लागी गतिलो कामगर्न नसके, पार्टी बिभाजन भए नेपाली जनताको नजरमा कम्युनिष्टहरु स्वार्थी, लोभी, भ्रष्ट भनेर गिर्नेछ्न। यो समय कम्युनिष्टहरुको सरकार कस्तो हुन्छ भनी प्रमाणित गर्ने बेला हो। त्यसैले ३३ किलो सुनकाण्ड, वाइडबढी काण्ड, ललिता निबास प्रकरण यति गोकर्ण रिसोर्ट,स्वास्थ सामाग्री खरिदमा अनियमिता, क्वारेटिन व्यवस्थापनमा १० अर्बको बिल आदि भ्रष्टगतिविधिको छानबिन, कारबाही र सजाय भएको छ कि छैन? यो नै जनताको लागी सरकार सफल असफलताको मुल्यांकनको पहिलो आधार हुन्सक्ने हुँदा। यस्तै भ्रष्टाचार,अपराध, अत्याचारमा संलग्न जोसुकैलाई कारबाही गरि सजायको भागेदारी बनाउनुपर्ने हुन्छ। समाजबाद लक्षित बिकासका कामकार्यहरु संचालन गर्नुपर्छ तब जनताले कम्युनिष्टलाई वास्तविक क्रान्तिकारी र मजदुरबर्गका पार्टी ठान्नेछ्न।

ग्लोबल आइएमई बैंक छाेड्दा स्ट्याण्डर्ड चार्टर्ड बैंक सम्झिए परशुराम कुँवर क्षेत्रीले, यस्ताे छ कारण

स्वास्थ्यका कारणले २०७७ आषाढ १ गते ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट मैले पेश गरेको राजीनामा बैकको संचालक समितिले २०७७ साउन १ गतेबाट लागू हुने गरि स्वीकृत गरेको छ । म मेरो रोज़गार समझौता अनुसारको बाँकी सेवा अवधि २०७८ जेठ मसान्तसम्म नै काम गरेर बैकिंग क्षेत्र मात्र होइन सम्पूर्ण क्षेत्रबाट पूर्णकालिन कामबाट अवकाश लिन चाहन्थे तर मानिसहरुका सबै इच्छा र आकांक्षा पुरा हुदैनन् । म कुनै ठूलो महत्वकांक्षा राख्ने मान्छे होइन । जीन्दगी भरी मेहनत गर्ने र मेहनतको फल वापत जे पाएँ त्यसैमा चित्त बुझाएँ । तर मेरो यों आकांक्षा पुरा नभएकोमा मलाई जीन्दगी भर अलिकति पिढा हुनेछ । जिन्दगी भर मैले निरन्तर रुपमा “९९६” को मोडेलमा काम गरेँ अर्थात विहान ९ बजे देखि बेलुका ९ वजे सम्म हप्ताको ६ दिन काम गरें । ज़िन्दगीका थुप्रै दिन दिनको १४-१५ घण्टा र शनिवारका दिन काम गरेको छु । पढाइमा त अब्बल नै थिएँ तर सरकारी स्कूल र कलेजमा पढेको एक मध्यम वर्गीय किसानको छोरो थिए र सहायक तहवाट बैकिगं क्षेत्रमा प्रवेश गरेको थिएँ ।  म आज जहाँ छु र ज़िन्दगीमा मैले जे हासिल गरेँ त्यो सबै मेरो मेहनत कै फल हो । तर अब मेरो स्वास्थ्य र उमेरले त्यसरी नै “९९६” को मोडेलमा निरन्तर रुपमा काम गर्न साथ नदिएको जस्तो महशुस भयो । २१ लाख भन्दा बढी ग्राहकहरु, ३१०० भन्दा बढी कर्मचारी र लाखौं शेयरधनीहरु भएको ग्लोवल आईएमई बैंक जस्तो बैंकमा जागिर खाने नाममा कुर्चिमा टासियर बस्न मन लागेन । आशातित गति, अपेक्षा र भावना अनुरुप कार्यसम्पादन गर्न निरन्तर “९९६” को मोडेलमा काम गर्न ज़रूरी छ तर मेरो स्वास्थ्य र उमेरले साथ नदिएकाले सीईओको जिम्मेवारीमा निरन्तरता दिन उपयुक्त ठानिन । यदि मैले जागिर मात्र खाने सोचले कुर्चीमा टाँसिएर मात्र बसेको भए, बैकका सबै सरोकारवालाहरु (ग्राहकहरु, शेयरधनीहरु, कर्मचारीहरु, नियमनकर्ता / सरकार र समूदाय) प्रति मैले अन्याय गरेको हुने थिए । यो मेरा लागि स्वीकारयोग्य थिएन । विं.सं २०७४ असार १ गते तत्कालीन जनता बैंकमा सीईओको रुपमा कार्यभार सम्भाल्दा मेरो कार्यावधि ४ वर्ष तोकिएको थियो तर मैले त्रिवेणी विकास बैंक र सिद्धार्थ विकास बैंक मर्ज़ गरेर एकै चोटी ठूलो भएको जनता बैंकलाई “अटोपाईलट” मा लग्न २ वर्ष लाग्छ र सो समय पछि मलाई विदा दिनु पर्छ भनेर तत्कालिन संचालक समितिलाई भन्थे र व्यवस्थापनका सहकर्मी साथीहरुलाई पनि २ वर्ष पछि बैंक तपाईहरुले नै चलाउने हो, म त यहाँ २ वर्ष मात्र बस्ने हो भन्थे । त्यो हिसावले म १३ महिना बढी बैंकमा काम गरेको छु । अझ त्रिवेणी विकास बैंक र सिद्धार्थ विकास बैंकको मर्जरको सिलसिलामा मैले परामर्शदाताको रुपमा काम गरेको अवधि समेत गणना गर्ने हो भने बैंकसँग साढे ३१ वर्ष सम्बध्द हुन पुगेको छु। ग्लोवल आईएमई बैंकले राम्रो गरेको छ । राम्रो गर्दैछ र अझ राम्रो गर्ने सम्भावनाहरु विद्यमान छन् । देशको अर्थव्यवस्थामा अर्थपूर्ण योगदान दिन सक्ने बैकको क्षमता छ । बैंकको पूर्वाधार सवल छ, बैंकको व्यवसाय राम्रो छ । बैंकको छवि राम्रो छ र बैंकको उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरु मेहनती, वफादार, लगनशील, र परिणाममूखी छन्। म मेरा सम्पूर्ण सहकर्मी साथीहरुलाई मिस गर्ने छु । यस्तो गूणहरु भएको बैंकले भविष्यमा अझ राम्रो गर्दै जाने छ भनि सम्पूर्ण सरोकारवालाहरुमा आश्वस्त पार्न चाहान्छु । र, म यस घडीमा बैंकका सबै सरोकारवालाहरुमा आ-आफनो ठाउँबाट भविष्यमा पनि बैंकलाई थप साथ र सहयोग गर्न हार्दिक आव्हान गर्दछु । विगत करिव साढे ३ दशक बैंकिंग क्षेत्र र त्यस भन्दा अघि करिव साढ़े २ वर्ष अध्यापन क्षेत्रमा थुप्रै सहकर्मी साथीहरुसँग काम गरेको छु। आफूले काम गरेका बैंकका कर्मचारीहरुका साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुका साथीहरु, नेपाल राष्ट्र बैंक र अन्य नियमन संस्थाहरुका सरहरु / म्याडमहरुसंग र मेरा ग्राहकहरुसंग थुप्रै अन्तरकृयाहरु र बैठकहरु गरेको छु। यस दौरानमा मलाई थाहा छ मैले केही साथीहरु र विद्यार्थीहरुलाई चोट पुर्यायको छु। यसको लागि म यहाँहरुसंग माफ़ी माग्न चाहान्छु । मैले जानी जानी यहाँहरुको चित्त दुखाउने काम नगरेकोले व्यक्तिगत रुपमा नलियर व्यावसायिक रुपमा लियर मलाई माफ गर्नु हुनेछ भन्ने आशा गरेको छु। यो अवकाशसँगै म अब कुनै पनि क्षेत्रमा रणनीतिक भूमिकाको बाहेक दैनिक रूटिङ प्रकृतिको पूर्णकालिक काम गर्ने संभावना न्यून छ। मेरो बाँकीको जीवन अध्ययन, अनुसन्धान, अध्यात्म र बैकिगं क्षेत्रका कर्मचारीलाई तालिम प्रदान गर्नमा बिताउने छु । तालिम दिने काम मेरो जिविकाको कुरो मात्र नभएर यो मेरो शौखको चीज रहदै आएको छ। मैले बैकिगं क्षेत्रबाट सिकेको ज्ञान सोही क्षेत्रका कर्मचारीमा मेरो जीवनको अन्तिम घड़ीसम्म बाढ्न चाहान्छु। मैले सधैं भन्दै आएको छु र आज म यहाँ फेरी दोहर्याउन चाहन्छु कि मेरो मृत्यु भारतका भूपू राष्ट्रपति अव्दुल कलामको जस्तो कक्षामा पढाउदा पढाउदै होस् । आशा छ भगवानले मेरो यो एक आकांक्षा पुरा गर्ने छन् । मेरो साढ़े ३ दशकको पूर्णकालिक व्यवसायिक जीवनमा उच्च नैतिकताका साथ ईमान्दारीतापूर्वक संस्थागत सुशासन क़ायम गर्दै काम गरेको छु । मैले सधै मच्जाकाे निद्रा राेजे, मिठाे खाना कहिल्यै रोजिन। यसले मलाई  त्रास मुक्त बनायो। कतिपय अवस्थामा यो मेरो शक्ति पनि बन्याे, कमजाेरी पनि । यसै कारण कसैले मेरो नैतिकता र ईमान्दारीतामा औंला ठड्याउन सकेनन् । जीन्दगीमा मैले कमाएको सबै भन्दा ठूलो पूँजी हो यो । मेरो यस्तो चरित्र निर्माणका लागि जन्मका हिसावले मलाई जन्म दिएर हुर्काउने मेरा स्वर्गीय माता पिता तथा हजुरआमा (मावली) र मेरो बैकिगंको महाविद्यालय ग्रिन्ड्लेज / स्टैण्डर्ड चार्टड बैंकलाई स्रेय जान्छ । म वहाँहरुलाई सधै सम्झने छु । बैकमा काम गरिरहेको अवस्था र बैकिगं क्षेत्र भन्दा बाहिर रहेको अवस्थामा पनि मिडियाले मलाई सधैं साथ र सहयोग दियो । वित्तीय सुधार कार्यक्रम अन्तर्गत साढे तीन वर्ष वर्ष नेपाल बैकमा काम गर्दा ( जुलाई २००३ -डिसेम्वर २००६) देखि नै मेरो वहाँहरुसंग संगत रह्यो। वहाँहरुको रचनात्मक सहयोगको लागि म हार्दिक धन्यवाद दिन चाहान्छु । कार्य व्यस्तता आदिका कारणले कुनै दिन फोन उठाइन होला, भेट्न सकिन होला वा ठाड्-ठाडो रुपमा प्रस्तुत भएको हुँला, यसको लागि म वहाँहरु संग क्षमा याचना गर्दछु। अन्तमा, बैंकिगं क्षेत्रमा जे जति गर्न सकें यसको पछाडि मेरो परिवारको ठूलो हात छ । यसका लागि परिवारका सबै सदस्यहरुलाई धन्यवाद दिन्छु । पूर्णकालिन व्यवसायिक जीवनमा मैले जति समय परिवारलाई दिनुपर्थ्यो त्यति दिन सकिन, यसका लागि म दुखी र क्षमाप्रार्थी छु । धन्यवाद (ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएपछि क्षेत्रीले सामाजिक सञ्जालमा राखेकाे भनाइ)