नागरिकप्रति राज्यको दायित्व खोई ? किन तिर्ने हामीले कर ?

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले सारा विश्व आक्रान्त बनेको छ । विश्वका कैयौ नागरिकहरु अल्पायुमै आफ्नो जीवन उत्सर्ग गर्न विवश छन् । विश्वमा ८ लाख ४६ हजार भन्दा बढी मानिसको कोरोनाको कारण मृत्यु भैसकेको छ र संक्रमितको संख्या भने साढे २ करोड भन्दा अधिक रहेको तथ्याङ्क सार्वजनिक भएका छन् । विश्वका शक्ति राष्ट्रहरु यस रोगको भ्याक्सिन बनाउन आफ्नो प्रतिष्ठाको लडाई लडिरहेका छन् । आशा गरौ छिट्टै यस रोगको भ्यासिन बजारमा आउने छ र सामान्य जीवनतर्फ छिट्टै फर्किन पाइने छ । विश्वका विभिन्न देशहरुले आफ्ना नागरिकप्रतिको दायित्व जिम्मेवार भएर बहन गरेका छन् । आफ्ना नागरिकको समस्या समाधानको लागि विभिन्न राहत तथा सहायता घोषणा गरिरहेका छन् । विपतमा रहेको नागरिकको घाउमा महलम लगाउने कार्य गरिरहेका छन् । हावाको तेज जसरी यो देशले नागरिकप्रति यो गर्यो, ऊ देशले ऊ गर्यो भन्ने सामाचार विश्व भर फैलिरहेको छ र म पनि मेरो देश तथा राज्यबाट केही भरोसा र केही आशा मै रहेको छु । तर पनि आजसम्म नागरिकले प्रत्यक्ष लाभ पाउने खालको केही कार्यक्रम घोषणा हुन सकेको छैन । राज्यको ढुकुटी रित्तो भएर हो या सरकारले आवश्यक नठानेर बुझ्न कठिन भइरहेको छ मलाई । म त देशको जिम्मेवार नागरिक भएकोले राज्यप्रतिको दायित्व कुशलतापूर्वक नै निर्वाह गरेको छु । राज्यलाई पारिश्रमिक कर, बहाल कर, सम्पत्ति कर, मूल्य अभिवृद्धि कर, अन्त शुल्क, भन्सार शुल्क, लगायतका कैयौं शीर्षकमा वर्षमै लाखौ कर राज्य कोषमा व्यक्तिगत योगदान मार्फत भुक्तानी गरेको छु । राज्य सञ्चालन गर्ने बागडोर सम्हाल्ने व्यक्तिहरुको सेवा सुविधमा मेरो समेत केही हिस्सा अवस्य छ । राज्य रहे मात्र यो देशको नागरिक रहन पाइन्छ भन्ने कथनलाई राम्रोसँग मनन गरेर सभ्य नागरिकले राज्यप्रति वहन गर्नु पर्ने दायित्व कुशलता पूर्वक वहन गर्दै आएको छु । आज म विपदमा पर्दा मैले पनि राज्यको आवश्यकता महशुस गरेको छु । हात मुख जोर्न समस्या भएकाको व्यवस्था राज्यले गर्नु पर्दछ । कोरोना महामारीले आक्रान्त भएको समाजमा सरकार अस्पतालमा बेड छैन घरमै बस्नुस भन्दै आफ्नो लाचारीपन देखाइरहेको छ । लकडाउन र निषेधाज्ञालाई कोरोना उपचारको उत्तम कडीको रुपमा सरकारले लिएको छ । समाजमा फैलिसकेको कोरोनामुखी आगोको राँको नियन्त्रणको लागि हालसम्म न्यायोचित र देखिने खालका कार्यक्रमहरु आउन सकेको छैन । यस्ता क्रियाकलापहरुले प्रश्न चिह्न उब्जिएको छ , मप्रति राज्यको दायित्व खोई ? लेखक देशमा तीनै तहको निर्वाचन भएर जनताको सरकार छ भनेर भनिन्छ । स्थानीय सरकार सञ्चालनले गर्दा बढेको राज्यको व्ययभार धान्न कर दायित्वमा कैयौ गुणा वृद्धि भएको छ र निमुखा जनताले आफ्नो छाक काटेर सरकार सञ्चालनको लागि राज्य कोषमा रकम दाखिला गरेका छन् तर राज्यबाट विपद पर्दा जनता प्रति गरिने व्यवहार यही हो ? देशका स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार गरी तीन तहका सरकार छन् । सबै तहमा जनताबाट प्रत्यक्ष निर्वाचित भएर गएका जनता कै प्रतिनिधि नेतृत्व तहमा छन् तर जनताको समस्या समाधान तर्फ कुनै चासो छैन र समस्या समाधानको लागि कर्मचारीतन्त्रकै लागि भर पर्नु पर्ने अवस्था छ । यही हो जनताको शासन ? जनता रुँदा देश रुनु पर्ने र आफ्नो दिलो ज्यान दिएर जनताको समस्या समाधानतर्फ लाग्नु पर्ने आजसम्म जनताले देशको महशुस नै गर्न नपाउनु लज्जाश्पद कुरो हो । रोजगारी गुमाएका र यस विपदकोे घडीमा हात मुख जोर्न समस्या भएकाको समस्या मात्र सम्बोधन भएमा पनि पक्कै ठूलै राहत हुने थियो । मैले राज्य प्रति निर्वाह गर्नु पर्ने दायित्व कर्तव्य निष्ठ भएर निर्वाह गरेको परिपेक्षमा राज्यबाट समेत सोही किसिमको आशा गरेको छु । यद्यपी अहिले मलाई आवश्यकता परेको खण्डमा राज्यले आफ्नो उपस्थिति देखाउँदैन भने मैले राज्यलाई चै किन सहयोग गर्ने भन्ने किसिमको भावना विकास भएमा यसले आगामी दिनमा ठूलै समस्या निमत्याउने निश्चित छ । यसतर्फ राज्यको वागडोर समाल्नेहरुले बेलैमा विचार गरेको आवश्यक निर्णय लिनु नै उचित हुने देखिन्छ ।

प्रधानमन्त्री केपी ओली, मेनिया, साइकोपाथ र यसका चरित्र

राजनीतिमा विरोधीले एकअर्कालाई मानसिक रोगी भएको भनेर आरोप लगाउनु सामान्य हो । प्रधानमन्त्री केपी शर्मा ओलीको बोली र व्यवहारका आधारमा उहाँलाई मानसिक समस्या रहेको भनेर केही वर्षदेखि स्वतन्त्र विश्लेषकहरुले समेत अनुमान गर्दै आएका छन् । उहाँलाई मानसिक रोग छ या छैन भन्ने सम्बन्धित चिकित्सकले नै प्रमाणित गर्ने विषय हो । यस लेखमा चिकित्सा विज्ञानले व्याख्या गरेको मानसिक समस्यालाई राजनीतिक आयामबाट दृष्टिगोचर गर्ने प्रयास गरिएको छ । धेरै मानिसको बुझाइमा मानसिक समस्या भनेको मानसिक सन्तुलन बिग्रेको र डिप्रेसन हो । तर चिकित्सा विज्ञानका अनुसार, मनोरोग विधामा सयौं प्रकारका मानसिक रोग हुन्छन् । जसरी शारीरिक रोग वंशाणुगत, शरीरमा उत्पन्न, सर्ने, नसर्ने आदि विभिन्न हुन्छन्, मानसिक रोग पनि त्यसैगरी धेरै प्रकारका हुन्छन् । शारीरिक रोगहरु अलिअलि लाग्ने, बेसरी लाग्ने, निको हुने, निको नहुने, कुनै चिकित्सकले रोग मान्ने, अर्कोले रोग नमान्ने स्तरका हुन्छन् । मानसिक रोग पनि त्यस्तै नै हुन्छन् । धेरै मानिसहरुले सुनेको बुझेको डिप्रेसन भएका मानिसले आफूलाई क्षति पुर्याउँछ । यसको ठीक विपरीत मेनिया भन्ने मानसिक रोग हुन्छ । यो रोग लागेको मानिसले अरुको क्षति पुर्याउँछ । डिप्रेस्ड मानिसले आफूतर्फ थोरै मात्र क्षति पुर्याउन सक्छ । तर मेनियाकले अरुतर्फ धेरै क्षति पुर्याउन सक्छ । मेनियाक व्यक्ति जुन हैसियत, शारीरिक बल र पदमा रहेको छ, त्यही अनुसार उसले समाजको क्षति पुर्याउन सक्छ । परिवारको डन, टोलको डन, क्षेत्रीय गुण्डा र राष्ट्रिय गुण्डासम्मको हैसियतमा यस्ता मानिस हुन सक्छन् । उच्च पदमा मेनियाक व्यक्ति छन् भने उनीहरुले धेरै नै क्षति पुर्याउन सक्छन् । एउटा समूहका रोगमा मानिसहरुलाई अनावश्यक डर र चिन्ता बढी हुन्छ । जे गर्दा पनि गल्ती हुने हो कि, बिग्रने हो कि, अर्कोले गाली गर्ने हो कि, लज्जित हुनुपर्ने हो कि, सजाय भोग्नुपर्ने हो कि भन्ने डर हुन्छ । त्यस विपरीत उच्च मनोबल, महत्वकांक्षा, निडरता, आँट र साहस मात्र हुने अर्को रोग हुन्छ । उनीहरु जहिले पनि खुसी, सकारात्मक सोच र आशावादी मात्र हुन्छन् । आफूले गर्न लागेको काम सबै सही छन् र त्यसमा सफलता पाउँछु भन्नेमा उनीहरु ढुक्क हुन्छन् । विफल भयो भने पनि त्यहाँ उनीहरुले अरुको दोष देख्छन् । लेखक कुनै व्यक्तिको स्वभाव कुनै मानसिक रोगको वर्गमा पर्छ या पर्दैन भन्ने मनोविश्लेषकहरुले विधिपूर्वक जाँच गरेपछि मात्र थाहा हुने कुरा हो । सर्वसाधारणको नजरबाट हेर्दा नेपालका प्रधान मन्त्रीको आत्मवल एकदमै उच्च छ । उहाँको स्वास्थ्य अवस्थालाई लिएर विगतमा चिकित्सक, सर्वसाधारण र पार्टी पङ्तीबाट विभिन्न पटक चिन्ता व्यक्त भए । एपेण्डिसाइटिसको शल्यक्रिया र दोस्रो मृगौला प्रत्यारोपणको क्रममा चिकित्सकहरुले उहाँ आत्मबलकै कारण बाँच्नु भएको हो भनेर प्रतिक्रिया दिएका थिए । आत्मबलले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने वैज्ञानिक भनाइ छ । उहाँले रेल, पानीजहाज, भान्सामा ग्यास लाइन जस्ता महत्वांकाक्षी योजना घोषणा गर्नुभयो । देशका लागि ती प्राथमिकताका क्षेत्र हुन या होइनन् भन्नेमा विज्ञहरुले जे जसो भने पनि उहाँले यसमा बजेट खर्च गरिरहनु भएको छ । ती सम्भव छन् या छैनन् भन्ने वैज्ञानिक मूल्यांकन उहाँले पर्खनु भएन । २०७६ चैत ११ मा गरिएको लक डाउनको कारण निम्न वर्गीय मानिसहरु कयौं दिनको पैदल यात्रा गरी सीमा नाका र सडकहरुमा अलपत्र पर्दा उहाँको मनमा करुणा र सहानुभूति देखिएन । पार्टीभित्र र बाहिरबाट जति विरोध भए पनि उहाँ टसको मस हुनु हुन्न । उहाँले कसैलाई कारबाही गर्न वा सजाय दिन मन लाग्यो भने त्यो न्यायसंगत होस् वा नहोस्, गराएरै छोड्नु हुन्छ । जति नै प्रमाणसहित उहाँका निकट मानिसको भ्रष्टाचार सार्वजनिक भए पनि उहाँले सजिलै खण्डन गरिदिनु हुन्छ । उहाँलाई कानुन, पार्टी, कार्यकर्ता, जनता, नियमन राज्य संयन्त्र केहीको पनि डर नभएको जस्तो देखिन्छ । कसैलाई नराम्रो काम गर्नबाट रोक्न कानुन, विधि र कारबाही गर्ने संगठनहरु निर्माण गरिन्छ । इमान्दार र नैतिकवान मानिसले कुनै कानुन र सजायको व्यवस्था नभए पनि खराब काम गर्दैन । सामान्य मानिसले केही गरी लुकाउन सकिएन भने बेइज्जत हुन्छ र सजाय पाइन्छ भन्ने डरको कारण नराम्रो काम गर्दैन । तर मेनियाकहरुमा त्यो डर हुँदैन । सामान्य मानिसमा यसरी जोगिन सकिन्छ तर यसरी फस्न पनि सकिन्छ भन्ने सकारात्मक र नकारात्मक दुवै सोच आउँछ । मेनियाकमा भने सकारात्मक मात्र सोच आउँछ । डिप्रेस्ड मानिसले आफूतर्फ थोरै मात्र क्षति पुर्याउन सक्छ । तर मेनियाकले अरुतर्फ धेरै क्षति पुर्याउन सक्छ । मेनियाक व्यक्ति जुन हैसियत, शारीरिक बल र पदमा रहेको छ, त्यही अनुसार उसले समाजको क्षति पुर्याउन सक्छ । परिवारको डन, टोलको डन, क्षेत्रीय गुण्डा र राष्ट्रिय गुण्डासम्मको हैसियतमा यस्ता मानिस हुन सक्छन् । उच्च पदमा मेनियाक व्यक्ति छन् भने उनीहरुले धेरै नै क्षति पुर्याउन सक्छन् । मानसिक रोगहरुमा साइकोपाथ भन्ने अर्को समस्या हुन्छ । यो रोग लागेका मानिसहरु जस्तो सुकै जोखिम उठाउन पनि तयार हुन्छन् । आफ्नो इच्छा, चाहना पूरा गर्न उनीहरु जे गर्न पनि निडर हुन्छन् । पैसा, मनोरञ्जन र आत्मसन्तुष्टिका लागि उनीहरु अपराध पनि सहजै गर्छन् । यस्ता व्यक्तिले अपराध गर्ने भएकाले उपचार केन्द्र, सुधार गृह, जेल वा उनीहरुका गतिविधिलाई नियन्त्रित गर्ने र निगरानी गर्ने प्रणालीहरु विकास भएका हुन् । प्रहरीले पक्राउ गरे पनि आफूले गरेका घटनामा पश्चाताप हुँदैन । उनीहरुमा पीडितप्रति दया, माया र सहानुभूति हुँदैन । झुट बोलेको जाँच गर्ने पोलिग्राफ मेसिनलाई साइकोपाथ मानिसले सहजै छल्न सक्छन् । सामान्य मानिस झुट बोल्दा केही न केही डराउँछ र मेसिनले पत्ता लगाउँछ । तर साइकोपाथहरुलाई डर भन्ने हुँदै हुँदैन । सजाय पाए पनि साइकोपाथले केही चिन्ता मान्दैनन् । उनीहरु जेलबाट छिटै मुक्त हुन सकिन्छ र चाहेको कुरा पुनः गर्न सकिन्छ भन्नेमा आशावादी मात्र हुन्छन् । मानिसको मनको बारेमा सिगमण्ड फ्रायडले प्रतिपादन गरेको सिद्धान्तलाई मूल आधार मानेर अहिलेसम्म विश्वमा रिसर्च र उपचारहरु हुने गरेका छन् । उनले मनलाई चेतन र अवचेतनमा विभाजन गरेका छन् । दुई मन बीचको अवस्थालाई अर्ध चेतन मन भनेका छन् । अवचेतन मनमा एउटा राक्षसी मन र अर्को दैवी मन लुकेर बसेको हुन्छ । हरेक घटनामा दुवै मनले आफूलाई हावी गराउन खोज्छन् । चेतन मनले सन्तुलन कायम गराउने प्रयास गर्छ । राक्षसी मनले जित्यो भने मानिसले राक्षसी स्वभाव प्रदर्शन गर्छ । त्यस्तो मानिसले अपराध, कुकर्म गर्छ, अरुलाई हेप्छ, आफूलाई सर्वेसर्वा ठान्छ । दैवी मनले जित्यो भने मानिस एकदमै नैतिकवान र इमान्दार हुन्छ । उसलाई सबैले हेप्छन् र शोषण गर्छन् । यो ठ्याक्कै सन्तुलित अवस्थामा रहयो भने मानिसको स्वभाव सामान्य स्तरको हुन्छ । अधिकांश मानिसको हकमा यो न पूर्ण सन्तुलित हुन्छ, न पूर्ण रुपले कतैतिर ढल्केको हुन्छ । मानिसहरुमध्ये कोही तुलनात्मक बढी इमान्दार सोझो देखिनु र कोही धूर्त फटाहा देखिनुको कारण यही हो । ठूलो पदमा बसेको कुनै मानिस मेनियाक हुँदैमा समाजलाई क्षति पुग्छ नै भन्ने हुँदैन । उसँग आवश्यक कुराको ज्ञान र जानकारी छ भने उसमा भएको तीव्र इच्छाशक्ति, आत्मबल र साहसले देशलाई फाइदा नै हुन्छ । उसमा आवश्यक ज्ञान र जानकारीको अभाव छ भने हानीकारक हुन सक्छ । मेनियाक व्यक्तिमा साइकोपाथ समेत छ र ऊ ठूलो पदमा आसिन छ भने त्यसको क्षति अकल्पनीय हुन्छ । दुवै समस्या भएका मानिस संसारमा करोडौं आए र गए होलान् । त्यसबाट समाजलाई ठूलो क्षति भएन । केही भने राज्यको प्रमुख पदमा पुगेर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै नरसंहार र वितण्डा मच्चाएर गएका इतिहास छन् । दोस्रो पक्षलाई क्षति पुर्याउने अरु विभिन्न प्रकारका पर्सनालिटी डिसअर्डर रोगहरु पनि हुन्छन् । मानसिक रोगीलाई सम्झाएर, गाली गरेर वा डर देखाएर निको हुँदैन । कतिपय रोग सम्बन्धित विज्ञहरुबाट औषधी, परामर्श र थेरापीमार्फत समाधान हुन्छन् भने कतिपय समाधान हुँदैनन् । समाधान नहुनेको लागि सम्भावित क्षति कम गर्ने टेक्निकहरु मात्र अवलम्वन गरिन्छ । रोगीको काम जिम्मेवारी परिवर्तन गरेर पनि क्षति कम गर्न सकिने हुन्छ । सामान्यतयाः स्वभावजन्य रोगलाई निर्मूल नभई व्यवस्थापन मात्र गर्न सकिने विज्ञहरु बताउँछन् । (लेखक फ्रिलेन्स हुन्) [email protected]

बैंकहरुको नाफा सन्तुलित आयो, त्रासबाट फुत्कन सहकार्य गरौं- गभर्नर

कोरोना महामारीले विश्व नै त्रसित छ । आईएमएफले विश्व अर्थतन्त्र ४.९ प्रतिशतले संकुचन हुने बताएको छ । विश्वमा केही देशको अर्थतन्त्र २० प्रतिशतले संकुचन हुने देखिएको छ । विकसित अर्थतन्त्र ठूलो मारमा छन् । विश्वका अरु देशको अर्थतन्त्रको तुलनामा नेपालको अर्थतन्त्र कम प्रभावित भएको छ । अझै नेपालको आर्थिक वृद्धिदर सकारात्मक छ, ऋणात्मक भएको छैन । हामी धेरै हतोत्साहित भएका छैन । जतिबेला म गभर्नरको रुपमा राष्ट्र बैंक छिरेको थिए, त्यतिबेला हामी कोभिडको बीचमा थियौं, लकडाउनको बीचमा थियौं, आर्थिक अवस्थालाई व्यवस्थापन गर्ने, पुर्नउत्थान गर्ने ठूलो चूनौति थियो । एकातिर बैकिङ, वित्तीय क्षेत्रलाई सुचारु गर्ने जिम्मेवारी एकातिर, अर्कोतिर लकडाउन । समग्रमा व्यवसायिक गतिविधि ठप्प भएको, व्यवसायीहरुको मनोबल गिरेको अवस्थामा हामी काम गर्दै थियौं । अर्कोतिर म प्रति मानिसहरुको अपेक्षा बेसी छ, खासगरी मलाई चिनेकाबाट । यस पृष्ठभूमिकाे हामीले सबै क्षेत्रबाट सुझाव संकलन गर्यौं । निजी क्षेत्रका प्रतिनिधि मुलक संस्थाहरुबाट सुझावहरु लियौं । पत्रकारहरुले हामीलाई सोधेका प्रश्नहरुलाई पनि हामीले मनन् गर्यौं । नेपाल सरकारको बजेटलाई आधार मान्दै हामीले मौद्रिक नीति ल्यायौं । धेरैले मौद्रिक नीति मन पराउनुभयो । कतिपय समयमा राम्रो काम गर्दा पनि जस पाइदैन तर यस पटकको मौद्रिक नीति सबैले राम्रो भन्नुभएको छ । यसपछिको कार्यदिशमा हामी सबैको जिम्मेवारी छ । नीति राम्रो भएपछि त्यसको कार्यान्वयनमा जोड दिनुपर्छ । कार्यान्वयन भएन भने कसका कारणले भएन, कुन कुर्सीमा बसेको व्यक्तिले काम गरेन, कसले धर्म निभाएन भनेर मिडियाका साथीहरुले पनि हेर्नुपर्छ । निजी क्षेत्रले पनि हेर्नुपर्छ । नीतिबाट लाभ पाउने पक्षले पनि हेर्नुपर्छ । विषय विज्ञहरुले पनि हेर्नुपर्छ । मौद्रिक नीतिले अहिलेको अवस्थालाई मात्र सम्बोधन गरेको छैन । कोभिड–१९को असर धेरै वर्षसम्म रहने हामीले देखेका छौं । तसर्थ हामीले २०औं वर्षपछिलाई हेरेर केही बुँदाहरु, केही विषयहरु मौद्रिक नीतिमा राखेका छौं । जलविद्युत क्षेत्रलाई प्रवद्र्धन गर्ने विषयहरु, निर्यात प्रवद्र्धनसँग सम्बन्धित विषयहरु समग्र अर्थतन्त्रको दीर्घकालिन हित हेरेर ल्याइएको विषय हुन् । यसको कार्यान्वयनमा को बाधक छ ? त्यसभित्र कसको इन्ट्रेन्ट के हो ? कसले व्यक्तिगत स्वार्थ हेरेर काम गरेको छ, कसले देशको स्वार्थमामा काम गरेको छ ? यसमा पत्रकार साथीहरुले हेर्नुपर्छ, चिर्नुपर्छ । निजी क्षेत्र पनि त्यत्तिकै सक्रिय रुपमा लाग्नुपर्छ । हामी नियामक पनि लागीराख्नुपर्छ । भखर्रै नेपाल धितोपत्र बोर्डले बैंक तथा बित्तीय संस्थाले मर्जरमा गएका संस्थाले ढेड महिनाभित्र सेयर कारोबार शुरु हुनु पर्ने व्यवस्था गरेको छ । सबै नियामक मिलेर काम गर्यौ भने त्यसले पक्का पनि राम्रो नतिजा ल्याउने छ । हामीले अर्थतन्त्रलाई गति दिन, पुर्नउत्थान गर्न मौद्रिक नीतिबाट सक्दो प्रयास गर्यौं । पहिलाको लकडाउन अनलक भए पनि फेरि अर्को खालको लकडाउन भएको हो कि भन्ने त्रास व्यवसायिक क्षेत्रमा गएको छ । यस्तो त्रासलाई कसरी हटाउने भनेर हामीले सोचिरहेका छौं । यस्तो त्रासबाट फुत्कनको लागि थप सामान्जय, सहकार्य गरेर थप कार्य गर्नुपर्ने हुनसक्छ । हामीले गाह्रो मान्नु हुन्न । मैले पहिल्यै देखि भन्दै आएको छु–हामी सबै बाच्नुपर्छ । ग्राहक बाँचे भने बैंक रहन्छन् । मौद्रिक नीतिभन्दा अगाडि ‘फाइनान्सियल स्टाविलिटी र इन्डस्ट्रीप्रतिको फ्यासिलिटेशनबीचको ट्रेडअफ’ ठूलो चुनौतिको विषय थियो । हामीले धेरै मिहेनत गरेर एउटा सन्तुलनमा ल्याएका छौं । कतिपय ठाउँमा हामीले ऋणिलाई सहजीगरण गरेको छौं भने कतिपय ठाउँमा बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गरिदिएका छौं । २७ वटै बैंकले असार मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन् । कुनै पनि बैंक घाटामा छैनन् । थोरै नाफा गर्नेले ४६ करोड रुपैयाँ नाफा गरेका छन् भने धेरै गर्नेले ४ अर्ब ४६ करोड पनि नाफा गरेका छन् । त्यसभित्रको प्रर्फमेन्स त व्यवसायको आकार, व्यालेन्सिटको साइज, कर्जाको अवस्था लगायतमा भरपर्छ । २ वटा बैंक बाहेक सबैले स्प्रेडरेट सीमाभित्र राखेका छन् । यो सितिमिति कुरो छैन । कुनै बैंकको रेट जाला कि भन्ने हामीलाई डर थियो । त्यो सबै कुरा म्यानेज भएको छ । शुरुमै विकासन्युजका प्रधान सम्पादक रामकृष्णजीले भन्नुभयो कि बैंक तथा वित्तीय संस्थाको नाफा, बीमा कम्पनीको नाफाप्रति धेरैले डाहा गर्छन । कमाईप्रति रिस गर्ने, डाहा गर्ने सोच, प्रवृतिको विकास हुनु राम्रो होइन । उहाँको भनाई प्रति म सहमत छु । अरुको कमाईप्रति नकारात्मक दृष्टि राख्नु हुन्न । हाम्रो माइण्डसेट नै सुधार गर्नुपर्छ । तर यतिबेला अत्याधिक नाफा देखिएको भए त्यसप्रति मानिसमा राम्रो सन्देश नजान सक्थ्यो । अहिले बैंकहरुको नाफा सन्तुलित छ, लेवल भित्र छ । कही कतै नमिलेको भए त्यसलाई मिलाउँदै जानुपर्छ । आजसम्म बैंकहरुको वित्तीय सूचकाङ्क राम्रो छ । हामीले निक्षेपको सुरक्षासँगै निक्षेपकर्ताले पाउने व्याज पनि उचित हुनुपर्छ भन्ने नीति लिएका छौं । त्यसैमा हामीले ध्यान दिएर नाफा वितरण सम्बन्धमा सन्तुलित नीति लिएका छौं । बैंकहरुको क्यापिटल एडेक्वसी, सम्पत्तिको गुणस्तर  सबै राम्रो छ । दक्षिण एशियामा नै नेपालका बैंकहरुको एनपीए सबैभन्दा कम छ । यो हाम्रो सवलपक्ष हो । अन्त्यमा, विकासन्युज ६ वर्ष पुरा गरी ७ औं वर्षमा प्रवेश गरेको अवसरमा विकासन्युजका प्रमुख रामकृष्ण पौडेल र विकासन्युजमा आवद्ध सबै सञ्चारकर्मी साथीहरुलाई हार्दिक बधाई दिन चाहान्छु । विकासन्युजले आयोजना गरेको स्वतन्त्र लेखन प्रतियोगितामा सहभागी सबै लेखकहरुलाई धन्यवाद दिन चाहान्छन् । प्रतिस्पर्धामा विजयी लेखकहरुलाई हार्दिक बधाई दिन चाहान्छु । धन्यवाद । (विकासन्युजले वार्षिकउत्सवकाे अवसरमा आयोजना गरेको भच्र्यूअल अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यक्त गर्नुभएको विचार)