बैंकहरुले कर्जा ठप्प पारेर निक्षेप बढाए, सीडी रेसियो घट्यो
काठमाडौं । बैंकहरुले कर्जा प्रवाह ठप्प पारेर निक्षेप बढाएका छन् । बैंकहरुले लगानीयोग्य रकम नभएको भन्दै कर्जा प्रवाह रोकेका थिए । जसले गर्दा बैंकहरुको निक्षेप बढेको छ । वाणिज्य बैंकहरुमा एक साताको अवधिमा ८ अर्ब रुपैयाँ निक्षेप बढेको छ । गत असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा ८ अर्ब रुपैयाँ बढेर असोज २८ गतेसम्म ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ । असोज महिना भरिमा बैंकहरुमा २८ अर्ब रुपैयाँ निक्षेप भित्रिएको छ । गत भदौ मसान्तसम्ममा बैंकहरुको निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको थियो । यस्तै, एक साताको अवधिमा बैंकहरुले १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असोज २१ गतेसम्म ४१ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले ६२ करोड बढाएर ४१ खर्ब ९३ अर्ब ६२ करोड रुपैयाँ प्रवाह गरेका छन् । असोज महिनाभरिमा भने ३ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् । यसअघि भदौ मसान्तसम्ममा बैंकहरुको कर्जा ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो । नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ८६.९६ प्रतिशत रहेको छ ।
सानिमा बैंकको थ्रि इना वान खातामा सि–आस्वा तथा मेरो सेयर सुविधा
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई सेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न थ्रि इन वान खाताको प्रणाली अपग्रेड गरेको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै थ्रि इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ्ग खाताका साथै सिआस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन् साथै, थ्रि इन वान पोर्टलको ड्यासबोर्डमा बैंकले सहज र सरल प्रकृयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरेको छ । यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । खाता भइसकेका ग्राहकले समेत यसबाट सिआस्वा तथा मेरो सेयरको सुविधा लिन सक्नेछन् । सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्नेछन् । यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटबाट थ्रि इन वानमा अकाउन्ट किल्क गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ । आइपीओ मार्फत् सेयर खरिद गरेका ग्राहकहरुले समेत केही प्रकृयाहरु पूरा गरी सानिमा थ्रि इन वान खाता मार्फत सजिलै सेयर बिक्री गर्न मिल्ने सुविधा यस खातामा रहेको छ । सानिमा बैंककोे सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।
बैंकहरुले आधारदर बढाएसँगै कर्जाको ब्याज पनि बढ्यो, कुनले कति पुर्याए ?
काठमाडौं । कात्तिकमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर बढाएका छन् । बैंकहरुले आधारदर बढाएसँगै कर्जाको ब्याज पनि स्तवः बढेको हो । असोजमा बैंकहरुको औषत आधारदर ९.५६ प्रतिशत रहेकोमा कात्तिकमा साढे १० प्रतिशतको हाराहारीमा पुर्याएका हुन् । ब्याजदर सार्वजनिक गरेका वाणिज्य बैंकहरुमा मेगा बैंक, कुमारी बैंक, सेञ्चुरी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतको आधारदर बढेको छ । मेगा बैंकको १०.१९ प्रतिशतबाट बढेर १०.४६ प्रतिशत, कुमारी बैंकको १०.४९ प्रतिशतबाट बढेर १०.८७ प्रतिशत, सेञ्चुरी बैंकको १०.४० प्रतिशतबाट बढेर १०.७५ प्रतिशत, सानिमा बैंकको ९.५७ प्रतिशतबाट बढेर १०.४१ प्रतिशत, सिद्धार्थ बैंकको ९.५ प्रतिशतबाट बढेर ९.८५ प्रतिशत, एभेरेष्ट बैंकको ८.९२ प्रतिशतबाट बढेर ९.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ७.८६ प्रतिशत बढेर ८.२० प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८.४ प्रतिशतबाट बढेर ८.४५ प्रतिशत पुगेको छ । बैंकहरुले तीन महिनामा आधार दर परिवर्तन गर्न पाउने राष्ट्र बैंकको नीतिगत व्यवस्था छ । सोही व्यवस्था अनुरुप बैंकहरुले आधार दर बढाएका हुन् । बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्ने गर्छन् । बैंकहरुको बेसरेट बढेपछि कर्जाको ब्याजदर पनि स्वतः बढ्छ । बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर पनि घट्छ । सनराइज बैंकको भने बेसरेट असार महिनाको राखेर सार्वजनिक गरेको छ । बैंकले यसअघि साउन महिनाको बेसरेट १०.४२ प्रतिशत भनेर सार्वजनिक गरेको थियो भने अहिले असार महिनाको १०.०८ प्रतिशतलाई आधारदर सार्वजनिक गरेको छ । नेपाल एसबिआई बैंक, प्राइम बैंक, एनएमबि बैंक, सिभिल बैंक, प्रभु बैंक, एनसीसी बैंक, कृषि विकास बैंक, नबिल बैंक र नेपाल बैंकले भने आधारदर यथावत राखेका छन् । नेपाल एसबिआई बैंकको १० प्रतिशत, प्राइम बैंकको ९.९९ प्रतिशत, एनएमबि बैंकको ९.९५ प्रतिशत, सिभिल बैंकको ९.५ प्रतिशत, प्रभु बैंकको ९.४२ प्रतिशत, एनसीसी बैंकको ९.३५ प्रतिशत, कृषि विकास बैंकको ८.९० प्रतिशत, नबिल बैंकको ८.७७ प्रतिशत र नेपाल बैंकको ७.९९ प्रतिशत रहेको छ । यी बैंकहरुले यसअघिको आधारदरलाई नै कायम गर्न भएका हुन् । अहिले अधिकांश वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा छ । दोहोरो अंकमा आधार दर भएका बैंकबाट ऋण लिँदा लागत बढी लाग्ने गर्छ । यी बैंकहरुमा प्रिमियम जोड्दा कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा बढी हुन आउँछ । बैंकहरुले आधारदरसँगै प्रिमियम पनि बढाएपछि अधिकांश बैंकहरुको ऋणको ब्याजदर १८ प्रतिशतको हाराहारीमा पुग्ने देखिएको छ । ११ प्रतिशत आधारदर र ७ प्रतिशसम्म प्रिमियम लिँदा बैंक्ले कर्जामा १८ प्रतिशतसम्म ब्याज लिने देखिएको हो । साढे प्रतिशतको हाराहारीमा रहेको स्प्रेडदर पनि बढेर ४ प्रतिशत पुगिसकेको छ । बैंकहरुले निक्षेपको ब्याजदरलाई भने यथावत राख्दै असोज महिनाको ब्याजदर नै लागू गर्ने भएका छन् । अहिले बैंकहरुले निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दति खातामा १५ प्रतिशतसम्म ब्याजदर तोेकेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याजदर तोकेका छन् । सम्बन्धित समाचार : कात्तिकमा कर्जाको ब्याजदर बढ्ने, बेसरेट ११ प्रतिशतसम्म पुग्ने