कुमारी बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी शपमा विशेष छुट
काठमाडौं । कुमारी बैंकका ग्राहकले सीजी डिजिटल एण्ड एलजी शपबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले आधिकारिक सीजी डिजिटल र एलजी शपमार्फत उत्पादनहरू खरिद गर्दा २० प्रतिशतसम्म आकर्षक छुट पाउने भएका हुन्। बैंकको अनुसार यो योजना फागुन १५ गतेसम्म लागु हुनेछ । कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।
सर्यो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार मिति
काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार मिति सरेको छ । माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी थालेको दुवै बैंकको कारोबार मिति सरेको हो । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिन ढिलाइ गरेका कारण दुवै बैंकको एकीकृत कारोबारको मिति सरेको सिभिल बैंकका सञ्चालक अम्बिर बोगटीले बताए । उनको अनुसार अब फागुन १० गतेभित्र एकीकृत कारोबार गर्ने दुवै बैंकको तयारी छ । राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि पुस २८ गते वार्षिक साधारण सभा सम्पन्न भएको दिन नै पत्र पठाए पनि स्वीकृति नपाएर ढिला भएको सञ्चालक बोगटीले बताए । ‘राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि निवेदन पेश गरेका छौं तर, स्वीकृति पाएका छैनौं, राष्ट्र बैंकको पत्र आएको १ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्छ, ढिलोमा फागुनको १० गतेभित्र र छिटोमा माघ मसान्तभित्र एकीकृत कारोबार गर्ने तयारी छ,’ उनले भने । सिभिल बैंकलाई गाभ्न हिमालयन बैंक अन्तिम चरणमा छ । पुस मसान्तभित्र एकीकृत कारोबार हुन नसक्दा दुवै बैंकको कारोबार सर्दै गएको हो । दुवै बैंकले २८ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरिसकेको छ । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रारम्भिक सम्झौता हुँदा मर्जरपश्चात् पनि हिमालयन बैंकको सञ्चालक समिति कायम रहने सहमति भएको छ । साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सिभिल बैंकका सीईओ सुनिल पोख्रेल मर्जरपश्चात् बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । सम्झौता अनुसार हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुने भएको छ ।
लघुवित्तको प्रिमियम दर तोक्ने तयारीमा राष्ट्र बैंक, सही आधार दर सार्वजनिक गर्नुपर्ने शर्त
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको प्रिमियम दर तोक्ने गृहकार्य थालेको छ । राष्ट्र बैंकले लघुवित्तहरुलाई मासिक रुपमा आधार दर सार्वजनिक गर्नु पर्ने व्यवस्था गरेपछि प्रिमियम दर निर्धारण गर्ने गरी गृहकार्य थालेको हो । लघुवित्त वित्तीय संस्थाहरुले मासिक स्पष्ट रुपमा आधार दर प्रकाशन गर्न सक्षम भएपछि नेपाल राष्ट्र बैंकले प्रिमियम दर पनि तोक्ने बताएको छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोख्रेल लघुवित्तलाई डाइनामिक बनाउन राष्ट्र बैंकले आधारदर प्रकाशन गर्न लगाएको बताउँछन् । स्पष्ट रुपमा आधार दर प्रकाशन गर्न सकेपछि राष्ट्र बैंकले प्रिमियम दर तोक्न सक्ने उनको भनाइ छ । बैंकहरुले तोकिएको सीमाभन्दा बढी लिन नपाउने व्यवस्था जस्तै लघुवित्तको कर्जाको ब्याजदर तय गर्न सकिने उनले बताए । ‘प्रिमियम दर तत्काल तोक्ने सुरसार छैन, हाल १५ प्रतिशतभन्दा बढी कर्जाको ब्याजदर नबढ्ने गरी सीमा निर्धारण गरिएको छ, लघुवित्तले पनि त्रुटिरहित आधार दर प्रकाशन गर्न जानेपछि प्रिमियम यतिले नबढ्ने गरी कर्जाको रेट तय गर्न सकिन्छ,’ उनले भने । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समीक्षामा लघुवित्तले मासिक रुपमा आधार दर सार्वजनिक गर्नुपर्ने नीतिगत व्यवस्था गरेको थियो । राष्ट्र बैंकले आधार दर तयार गरी महिना समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकमा पेश गर्न र लघुवित्तको वेभसाइटमा सार्वजनिक गर्न निर्देशन दिएको छ । सोही बमोजिम लघुवित्तले २०७९ माघदेखि लघुवित्त संस्थाहरुले मासिक आधार दर प्रकाशन गर्नुपर्थ्याे । हालसम्म कुनै पनि लघुवित्त वित्तीय संस्थाहरुले हालसम्म आधार दर प्रकाशन गरेका छैनन् । माघको वित्तीय क्याल्कुलेसन गरेर फागुनदेखि आधार दर मासिक सार्वजनिक गर्ने लघुवित्तका सीईओहरु बताउँछन् । त्रैमासिक वित्तीय विवरणमा आधार दर सार्वजनिक गर्ने गरेका भएपनि मासिक रुपमा भने पहिलो पटक सार्वजनिक गर्न लागेका हुन् । सबैको लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव कुमार पौडेल दोस्रो त्रैमासको वित्तीय विवरण तयार पार्नु पर्ने भएकाले ढिला भएको बताउँछन् । लघुवित्तको आधार दरमा धेरै फकर आउने भएकाले स्पष्ट तथ्याङ्क प्रकाशन गर्न गाह्रो हुने गरेको उनको भनाइ छ । ‘प्रकाशन गर्न कुनै समस्या छैन तर पुसको रिपोर्ट सकिएको छैन, दोस्रो त्रैमासको वित्तीय विवरण तयार पार्नु पर्नेछ, पुसको आधार दर राष्ट्र बैंक पठाउँदा धेरै मिलेको छैन भनेर फिर्ता पठाएको छ, सबैको तथ्याङ्क नै धेरै फरक छ,’ उनले भने । सिभिल लघुवित्तका सीईओ विनोद आचार्य आन्तरिक रुपमा राष्ट्र बैंकमा प्रत्येक महिना आधार दर पेश गर्ने गरेको भएपनि पहिलो पटक सार्वजनिक गर्न लागिएको बताउँछन् । उनका अनुसार लघुवित्त संस्थाहरुले फागुनदेखि मात्रै आधार दर प्रकाशन गर्नेछन् । उनले आधार दर सार्वजनिक गर्न कुनै समस्या नरहेको समेत बताए । ‘आधार दर प्रतेक महिना राष्ट्र बैंकमा पेश गर्छाै तर, यसपटक माघदेखि आधार दर सार्वजनिक फागुनबाट प्रकाशन प्रकाशन गर्छाैं, लघुवित्तलाई आधार दर प्रकाशन गर्न कुनै सकस छैन, लघुवित्त संस्थाहरु विभिन्न प्रकृतिको भएको हुँदा आधार दर क्याल्कुलेशनमा विज्ञता चाहिन्छ, त्यसैले लघुवित्तलाई अलिकति थप समय दिएको हो,’ उनले भने । उनका अनुसार लघुवित्तको आधार दर बैंकको भन्दा बढी हुने गरेको छ । यदि लघुवित्तको पनि सार्वजनिक गर्न थालनि भयो भने खर्चिलो व्यवसाय भएर लागत धेरै हुँदो रहेछ भनेर सर्वसाधारणलाई बुझाउन सजिलो हुने उनको भनाइ छ । सहप्रवक्ता पोख्रेल लघुवित्तलाई आधार दरमा अभ्यस्त बनाउन खोजिएको बताउँछन् । बैंकहरुले सार्वजनिक गरेजस्तै लघुवित्तहरुलाई पनि विस्तारै अभ्यस्त बनाउँदै लैजाने उनले बताए । ‘अब लघुवित्तहरुले पनि विस्तारै आधार दर कायम गर्दै जानु पर्छ, एउटा अभ्यासको सुरुवाती गर्न खोजिएको हो, विस्तार विस्तारै लघुवित्तहरुलाई पनि बैंकहरुको जस्तै आधार दरभन्दा कति ब्याजदर निर्धारण गर्न सकिन्छ भनेर मिलाउन सकिन्छ, यदि लघुवित्तहरुले आधार दर प्रकाशन गरेनन् भने राष्ट्र बैंकले अर्काे सर्कुलर जारी गर्छ,’ उनले भने । यो सुरुवाती चरण भएको यदि लघुवित्तहरुले आधार दर प्रकाशन गरेनन् भने तत्काल कारवाही वा सजाय गर्ने मुडमा राष्ट्र बैंक नरहेको उनको भनाइ छ । भोलिका दिनमा त्रुटिरहित आधार दर प्रकाशन गर्न सक्षम भए भने राष्ट्र बैंकलाई अन्य सर्कुलर जारी गर्न सहज हुने उनले बताए । ‘लघुवित्तले कतिपय कुराहरु नजानेका पनि हुन्छन्, उनीहरुलाई सिकाउँदै जानु पर्छ, अभ्यस्त बनाउँदै लैजानु पर्छ, अहिले कुनै गलत नगरी आधार दर प्रकाशन गरे भने भोलिका दिनमा राष्ट्र बैंकले त्यसैमा टेकेर परिपत्र जारी गर्न सकिन्छ, मिति नै तोकेर अघि बढ्नु पर्ने जरुरी छैन,’ उनले भने, ‘यो टेक्निकल काम हो, लघुवित्त टेक्निकल काम धेरै नगरेको संस्था हुन्, भोलि उनीहरुले प्रकाशन गरे भने त्रुटि गरे भने अर्थ रहँदैन ।’