कामना सेवा विकास बैंकका सीइओसहित चार जना पक्राउ
काठमाडौं । कामना सेवा विकास बैंकको चार जना पक्राउ परेका छन् । बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई पक्राउ गरेको हो । ३२ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा सीइओ बस्नेतसहित कर्मचारी, भ्यालुएटर र ऋणीलाई गत साता झापाको दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो । ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र पठाएपछि झापास्थित इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका विभिन्न व्यक्तिलाई पक्राउ पूर्जी जारी गरेको थियो ।
नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डको सामान खरिद गर्दा ब्याज नलाग्ने
काठमाडौं । नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल बैंक र साओमी नेपाल बीच शून्य इएमआई सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमी नेपाल, नेपाल प्रमुख अमित कुमार पन्डा, रमेश कर्पोरेशनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नबिल बैंक ग्राहकले शाओमी ब्राण्डका मोबाइल फोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा इएमआईमा ब्याज लाग्ने छैन । यस्तो सुविधा ३ महिना र ६ महिनाको लागि उपलब्ध गराइएको नबिल बैंकले जनाएको छ । शाओमी ब्राण्डको मोबाइल खरिद गर्दा सुन्य प्रतिशत, ३० प्रतिशत, अथवा ५० प्रतिशत डाउनपेमेन्ट गरी शाओमी ब्रान्डको मोबाइल, टेलिभिजन अथवा ल्यापटप खरिद गर्न सक्ने छन् । त्यस्तै मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउनपेमेन्ट गरेमा ब्याज नलागेपनि न्युनतम सेवा शुल्क भने लाग्ने उल्लेख गरिएको छ । सुविधा लिन भने नबिल बैंक क्रेडिट कार्ड होल्डर हुनु पर्ने बैंकले जनाएको छ ।
महालक्ष्मी विकास बैंकद्वारा आश्रमलाई भवन बनाउन आर्थिक सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकको हेटौडा शाखाले मानव सेवा आश्रमलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । साहारा विहिन, अशक्त, असाहाय, शारिकि तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमलाई भवन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । त्यस्तैगरि, बैंकको सुकेधारा शाखाले मैजुहिटी वडा नं ७ काठमाडौंमा अवस्थित टोखा जेष्ठ नागरिक समाजलाई टेबुल हस्तान्तरण गरेको छ । नगरपलिकाका वडा नं १ देखि ११ सम्मका जेष्ठ नागरिकलाई पर्नसक्ने कठिन कार्यमा सहयोग पु¥याउनका लागि स्थापित यस समाजमा कार्यालय प्रयोजनार्थ बैंकले टेबुल प्रदान गरेको हो । यसका साथै, बैंकको चन्द्रौटा शाखाले शिवराज नगरपालिका वडा नं ५ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयका १८६ जना विद्यार्थीहरुलाई स्वीटर हस्तान्तरण गरेको छ । विद्यालय अवस्थित क्षेत्रमा अत्याधिक चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्य र अध्ययनमा पर्नसक्ने प्रभावलाई ध्यानमा राखेर बैंकले स्वीटर प्रदान गरेको जनाएको छ ।