भारुको मूल्य र माग घटेको राष्ट्र बैंकको निष्कर्ष, नेपाललाई फाइदा कि बेफाइदा ?

काठमाडौं । अहिले एक सय भारतीय रुपैयाँ (भारु) को कति नेपाली रुपैयाँ (नेरु) हुन्छ ? सबैको जवाफ हुन्छ, १ सय ६० रुपैयाँ । हुन पनि हो, नेपाल र भारतबीचको स्थीर विनिमय दर (पेग) नै त्यही हो । तर, अहिले १ सय रुपैयाँ भारुको एक सय ६० रुपैयाँ नेपाली पाइँदैन । अहिले एक सय भारु बराबर एक सय ५५ या १५० रुपैयाँमा खुलेआम कारोबार भइरहको छ । हामीले सधैं भारतीय रुपैयाँ नेपाली रुपैयाँको तुलनामा बलियो हुँदै गएको सुनेका छौं । विनियम दर १६० भएपनि कालोबजारी मार्फत् १६५/१६८ रुपैयाँमा कारोबार भइरहेको सुनेका थियौं तर अहिले भने त्यही कालोबजारी मार्केटमा भारुको मूल्य घटेको खुलेको छ । यो विषयको निष्कर्श राष्ट्र बैंकले पनि निकालेको छ । बजारमा अनौपचारिक रुपमा कारोबार हुँदा एक सय रुपैयाँ भारुको १५० या १५५ रुपैयाँमा कारोबार भइरहेको विषय राष्ट्र बैंकले पनि स्वीकारेको छ । सीमावर्ती बजारमा भारतीय रुपैयाँका अवमुल्यन भएको बुझिएको छ । यसअघि सरकारले आयातमा कडाइ गर्दा अवैध च्यानलमार्फत् वस्तु आयात गर्नकै लागि भारतीय रुपैयाँ महँगोमा खरिद बिक्री भइरहेको थियो । तर, अहिले आयात फुकुवा तथा भारतीय मुद्राको पनि माग कम भएपछि भारुको अवमुल्यन भएको बुझिएको हो । भारतीय रुपैयाँ अनौपचारिक रुपमा कारोबार भइरहेको र मूल्य पनि सस्तिएको भन्ने गुनासोपछि राष्ट्र बैंकले विभिन्न प्रादेशिक कार्यालयहरुलाई अनुगमन गरेर प्रतिवदेन पठाउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार विभिन्न प्रादेशिक कार्यालयहरुले अनुगमनसहित प्रतिवदेन तयार पारेर केन्द्रिय कार्यालयमा पठाएका छन् । सो प्रतिवेदनमा भारतीय रुपैयाँको माग कम भएपछि मूूल्य पनि सस्तिएको निष्कर्श छ । नेपाल राष्ट्र बैंक धनगढी सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख विनोदराज लेखकले आफुहरुले अनौपचारिक रुपमा भारुको कारोबार भइरहेको र मूल्य पनि घटेको जानकारी पाएपछि अनुगमन गरेको जानकारी दिए । उनका अनुसार भारतीय रुपैयाँको माग घटेपछि मूल्य पनि घटेको हो । ‘अहिले बजारमा प्रयाप्त मात्रामा भारु पाइन थालेको छ, विभिन्न नाकामा प्रयाप्त रुपमा क्यासिनो खुलेका छन्, प्रतिबन्ध भएपनि ठूलो दरका भारतीय नोट पनि सस्तोमा पाइरहेका छन्, यति धेरै पैसा अनौपचारिक च्यानलमा कहाँबाट आयो भन्ने विषय पनि हामीले अध्ययन गरिरहेका छौं, एउटा अध्ययन प्रतिवदेन केन्द्रिय कार्यालयमा पठाइसकेका छौं,’ उनले विकासन्युजसँग भने । अहिले नेपाली बजारमा १ सय रुपैयाँभन्दा बढीको नोटको कारोबार गर्न मिल्दैन । अर्थात् भारतीय ५ सय र २ हजारका नोट चलन चल्तीमा छैनन् । नेपाल राष्ट्र बैंक सूदुरपश्चिम प्रादेशिक कार्यालयले अध्ययन गरेको प्रतिवदेनको निष्कर्श भारुको मूल्य घटेको र मागमा कमि आएको छ । ‘अहिले एक सयभन्दा माथिका नोट पनि कारोबार हुने गरेको हामीले भेटेका छौं, पहिलेको तुलनामा बैंकबाट भारतीय रुपैयाँ साट्ने तुलनात्मक रुपमा कमै छन्, यसरी सस्तोमा भारु पाइँदा नक्कली नोट पनि बढ्छन् कि भन्ने चिन्ता पनि छ, माग पनि घटेको छ, मूल्य किन घट्यो भन्ने विषयमा भने हामी अध्ययन गर्दैछौं,’ उनले भने । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल पनि नोटको सटहीमा कालोबजारी भइरहेको सूचना राष्ट्र बैंकमा आएको बताउँछन् । उनले भारतसँग जोडिएका सीमा नाकाहरूमा भारु नोटको सटही बढेको र मूल्य पनि सस्तो भएको सूचना आएको बताए । ‘राष्ट्र बैंकले पनि यस विषयमा जानकार छ, यसलाई तत्कालै रिभाइज गर्न पनि राष्ट्र बैंकले सक्दैन, यसमा सरकारले नै काम थाल्नु पर्छ, भारु सस्तैमा पाइने सम्भावना पछिसम्म कहाँ हुन्छ, यो क्षणिक हो,’ उनले भने । ‘यो क्षणिक अवसर हो’ भारतीय रुपैयाँ हालसम्म कालोबजारी मार्फत् सस्तोमा पाइएको प्राय कमै छ । नेपालीहरुले भारु साट्नका लागि जहिल्यै प्रिमियम तिर्नु पर्ने हुन्छ । १ सय रुपैयाँ भारु पाउनका लागि नेपालीले अनौपचारिक बजारमा १६५ देखि १७० रुपैयाँसम्म तिर्नु पर्थ्यो तर अहिले त्यो परिपाटी छैन । अहिले विनिमयदरभन्दा पनि मूल्य सस्तो भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार यो भारतीय रुपैयाँ ‘कलेक्ट’ गर्ने एउटा अवसर हो । ‘भारतीय मुद्रा सस्तोमा पाइनु भनेको नेपालीहरुका लागि अवसर हो, नेपाली बजारमा भारुको बढी माग भएको अवस्थामा राष्ट्र बैंकले डलर खर्च गरेर भारु खरिद गर्नु पर्ने हुन्छ, अहिले भारुको माग कम छ, यतिबेला सस्तो पाएको बेला पैसा उठाउनु नेपालीका लागि अवसर हुन सक्छ,’ स्रोतले भन्यो । राष्ट्र बैंक स्रोत भने भारतीय बैंकहरुमा ब्याजदर कम भएको र नेपाली बैंकहरुमा बढी भएको कारण नेपालको बैैंकमा पैसा राख्नकै लागि पनि कतिपयले सस्तोमै सटही गरेको हुन सक्ने धारणा राख्छ । तर, त्यो अनुसारको निक्षेप भने नेपालीमा बैंकमा भित्रिएको तथ्यांकले देखाउँदैन । अहिले भारतको बैंकहरुमा ६ प्रतिशतको हाराहारीमा ब्याजदर छ तर नेपाली बैंकहरुमा ११ प्रतिशत बढी छ, बढी ब्याज पाइने भएपछि भारी साटेर नेपाली बैंकमा आफन्त वा साथीहरुसँग मिलेर बैंकमा राख्न सक्छन्, अहिलेको सटही दर भने दीर्घकालसम्म रहँदैन, यो क्षणिक हो,’ स्रोतले भन्यो । राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री पनि अहिलेको अनौपचारिक मार्केटमा भइरहेको सटही दर नेपालका लागि क्षणिक लाभ भएको बताउँछन् । ‘भारतीय नोट सस्तो हुनु भनेको नेपालका लागि फाइदा हो तर त्यो क्षणिक हो, भारतीय पर्यटकका लागि पनि गन्तब्य महँगो पर्न सक्छ, तर पछि आयात बढ्न सक्छ, किनकि हिजो एक सय ६० रुपैयाँ पर्ने सामानको मूल्य १५५ पर्ने भयो, त्यसले आयात बढाउन प्रोत्साहन गर्छ, क्षणिक भएपनि यो खुसी बन्नु पर्ने अवस्था हो,’ क्षेत्रीले भने । उनका अनुसार अनौपचारिक व्यापार बढेकोले भारुको माग पनि घट्दै गएको हो । भारतसँग नेपालको ब्यापार बढी भएकोले पनि पछिल्लो समय महँगी बढ्नु र उपभोग घट्नुले भारुको माग कम भएको हुन सक्ने उनको तर्क छ । नेपालीलाई कुन ठीक ? नेपाली रुपैयाँ र भारतीय रुपैयाँको विनिमय दर परिवर्तन गर्नु पर्छ भन्ने आवाज अहिलेको होइन । बेला–बखत भारतीय रुपैयाँसँगको विनिमयदर परिवर्तन गर्नु पर्ने आवाज उठ्दै आइरहेको छ । नेपाल र भारतबीच स्थिर विनिमय दर (पेग) भएका कारण पनि नेपाली उपभोक्तालाई महँगीको मार परेको पनि बताइन्छ । सन् १९९३ देखि नै नेपाल र भारतबीचको विनियमदर परिवर्तन भएको छैन । भारतीय रुपैयाँ डलरसँग कमजोर हुनेबित्तिकै नेपाली रुपैयाँ पनि स्वतः कमजोर हुने तर्क धेरैको छ । त्यसैले पनि भारतसँगको विनिमय दर परिवर्तन हुनु पर्ने आवाज उठिरहन्छ । तर, भारतीय रुपैयाँसँग नेपाली रुपैयाँलाई कति विनिमय तोक्दा ठीक हुन्छ भन्ने विषय भने खासै कसैले खुलाउँदैनन् । तर, धेरैले अहिलेको भन्दा भारतीय रुपैयाँ सस्तो हुँदा नेपाललाई फाइदा हुने धारणा राख्छन् । नेपाली उद्योगीले एक सय ६० रुपैयाँ पर्ने वस्तु भारतमा निर्यात गर्यो भने त्यसको मूल्य भारतमा एक सय रुपैयाँ पर्न जान्छ । यदि नेपाली रुपैयाँलाई सस्तो बनाएर १७० विनिमय दर तोकियो भने यहाँ उत्पादन भएको वस्तु १७० मा भारतमा निर्यात हुन्छ । र, त्यही समान भारतमा १०० रुपैयाँ पर्छ । त्यो समान भारतीय नागिरकलाई सस्तो पर्न जान्छ । त्यसको माग भारतीय बजारमा बढी हुन्छ । तर, यसले नेपालको व्यापार घाटा बढ्न सक्ने सम्भावना रहने जानकारहरु बताउँछन् । पेग परिवर्तन भए नेपाली मुद्राको अधिमूल्यन हुन सक्ने र भारतीय वस्तुको मूल्य नेपालमा सस्तो पर्ने क्षेत्रीको भनाइ छ । उनले अहिलेको विनिमयदरले नेपाललाई भन्दा बढी फाइदा भारतलाई छ ।

३ हजार ऋण नतिरे कालोसूचीमा, कृषि विकास बैंकका यी १५ ग्राहकले साँवाको दोब्बर तिर्नुपर्ने

काठमाडौं । कृषि विकास बैंकले आफ्ना ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । बैंकको सिलगढी कार्यालयबाट कर्जा लिएका ऋणीहरुलाई ३५ दिनभित्र सावाँ, ब्याज लगायतको रकम दाखिला गर्न आग्रह गरेको हो । यदि ३५ दिनभित्र कर्जा लिएर हालसम्म चुक्ता नगरे कालोसूचीमा राख्ने बताएको छ । बैंकले बारम्बार मौखिक, लिखित तथा कर्जा बुझाउन ताकेता गरेको र यसपटक पनि आलटाल गरे कालोसूचीमा राख्ने भएको हो । मष्टा कृषि तथा पशुपक्षी फर्मले लिएको १० लाख रुपैयाँ कर्जाको ब्याजसहित ११ लाख ४७ हजार ६३५ रुपैयाँ चुक्ता गर्न चम्फा देवी जोशी र नरेन्द्र राज जोशीलाई आग्रह गरेको हो । यस्तै, ललिता वाखपालन फर्मका प्रोपराइटर तथा धितो मन्जुरीनामा दिने प्रकाश बहादुर विष्ट र जितबहादुर विष्टको ७ लाख रुपैयाँ साँवाको ९ लाख २९ हजार ६९ रुपैयाँ रकम दाखिला गर्न बैंकले आग्रह गरेको छ । यस्तै, व्यक्तिगत कर्जा लिने ऋणीहरु शेर बहादुर भुलको ४४ हजार १० रुपैयाँ साँवाको ८९ हजार ५५ रुपैयाँ, दिपेन्द्र बहादुर कठायतको १७ हजार ५५० रुपैयाँ साँवाको ३० हजार ५५० रुपैयाँ, नरुली देवी के.सीेको २५ हजार ७०३ रुपैयाँ साँवाको ३९ हजार ८३ रुपैयाँ, अनिता दमाईको ३४ हजार ३३ रुपैयाँ साँवाको ६६ हजार ६९८ रुपैयाँ र बल बहादुर दमाईको ३९ हजार ७८९ रुपैयाँ साँवाको ९० हजार ५५ रुपैयाँ चुक्ता गर्नुपर्नेछ । यस्तै, विर बहादुर खड्काको ४९ हजार ९७३ रुपैयाँ साँवाको १ लाख २२ हजार ९२१ रुपैयाँ, सुशिला दासको ४४ हजार ९६८ रुपैयाँ साँवाको १ लाख ५ हजार २५७ रुपैयाँ, शिवराज गहतराजको ३६ हजार ३७३ रुपैयाँ साँवाको ६२ हजार ३६६ रुपैयाँ, कैलाश दमाईको १९ हजार ७४३ रुपैयाँ साँवाको २९ हजार ४४७ रुपैयाँ र लक्ष्मी कुमारी कठायतको ३ हजार २८३ रुपैयाँ साँवाको ५ हजार ७०९ रुपैयाँ रकम चुक्ता गर्नुपर्ने बैंकले जनाएको छ । यस्तै, पदम बहादुर विष्टको ४९ हजार ९६६ रुपैयाँ साँवाको १ लाख २४ हजार २८७ रुपैयाँ, नरबहादुर विष्टको ४९ हजार ९६६ रुपैयाँ साँवाको १ लाख २४ हजार २८७ रुपैयाँ, दानी दमाईको ४९ हजार ९४८ रुपैयाँको १ लाख १६ हजार ८६२ रुपैयाँ, भोटु दमाईको १२ हजार २३१ रुपैयाँ साँवाको २१ हजार २०२ रुपैयाँ र बिर बहादुर विष्टको २९ हजार ६६९ रुपैयाँ साँवाको ६२ हजार २२३ रुपैयाँ चुक्ता गर्नुपर्नेछ । यी १५ जनाले युवा स्वरोजगारका लागि व्यक्तिगत कर्जा लिएका हुन् । माथि उल्लेखित कूल रकम माघ मसान्तसम्मको ब्याज जोडिएको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई ओपिअम रेस्टुरेन्ट एण्ड बारमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित ओपिअम रेस्टुरेन्टबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ओपिअम रेस्टुरेन्टमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २६ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।