कृषि विकास बैंकका सीईओ गुरुङले कार्यभार सम्हाले
काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । उनले सोमबार कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन् । गत शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको थियो । सीईओ छनोट समितिले शनिबार तीन जनाको नाम बोर्डमा सिफारिस गरेको थियो । तीन जनामध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको थियो । सीईओ गुरुङसँग बैंकिङ्ग क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए । उनीसँग विदेशी बैंकको सीईओ भएर काम गरेको अनुभव पनि छ ।
सडकमा फोहोर फाल्दा एनआईसी एशिया बैंकलाई ११ हजार जरिवाना
काठमाडौं । वीरगंज महानगरपालिकाले एनआईसी एशिया बैंकलाई जरिवाना तिराएको छ । महानगरपालिकाले पटक–पटक सडकमा फोहोर फ्याल्ने एनआईसी एशिया बैंकको वीरगंज शाखालाई ११ हजार जरिवाना तिराएको हो । महानगरपालिकाले यसअघि पनि बैंकको उक्त शाखा कार्यालयलाई कारवाही गरेको थियो । यसअघि महानगरपालिकाले पहिलो पटक फोहोर नफाल्न चेतावनी दिएको थियो भने दोस्रो पटक ५ हजार रुपैयाँ जरिवाना तिराएको थियो । महानगरपालिकाको सरसफाइको गाडीमा फोहोर नदिएर सडकमा फोहोर फ्याकेको भेटिएपछि पुनः तेस्रो पटक ११ हजार रुपैयाँ जरिवाना तिराएको महानगरपालिका सरसफाई अधिकृत सर्फुदिन मियाँले बताए । सरसफाइ पार्किङ संयोजक प्रकाश खेतानका अनुसार पटकपटक फोहोर गरेर कानुन र मर्यादाको विपरीत भएको छ । आगामी दिनमा पुनः बाटोमा फोहोर फालेको भेटिएमा २५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गरिने उनले बताए ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले माघ २६ गतेदेखि निष्काशन गरेको २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आज फागुन ८ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले वार्षिक १०.३० प्रतिशत ब्याजदर भएको ‘१०.३० स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ऋणपत्र’ बिक्री गरेको हो । बैंकको उक्त ऋणपत्रको अवधि ५ वर्ष हुनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका २४ लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १४ लाख ४० हजार किता ब्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २ लाख ६० हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई निष्काशन गरिएको छ । सर्वसाधारणलाई निष्काशन गरेकोबाट ५ प्रतिशत अर्था् ४८ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकले ऋणपत्र निष्काशन तथा ब्रिकी प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।