दुई वर्षको सेवा सुविधासहित सिभिल बैंकबाट सीईओ पोखरेलसहित ८ जना कर्मचारी बाहिरिए
काठमाडौं । सिभिल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेलसहित ८ जना व्यवस्थापकीय तहका कर्मचारी बाहिरिएका छन् । बैंकबाट कार्यकारी तहमा रहेका सीईओ सुनिल पोखरेल र सुमन आचार्य बाहिरिएका हुन् । यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएको सञ्चालक अम्बिर बोगटीले विकासन्युजलाई बताए । उनीहरु स्वेच्छिक अवकाश सुविधा (भीआरएस) लिएर बैंकबाट बाहिरिएका हुन् । हिमालयन बैंकले फागुन १२ गते सिभिल बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार गर्ने भएसँगै सिभिल बैंकका उच्च तहका ८ जना कर्मचारी भिआरएसमा बाहिरिएका हुन् । बाहिरिएका सीईओसहितका कर्मचारीहरुले २ वर्षको तलब र सेवा सुविधा पाउने भएका छन् । उनीहरुले प्रयोग गरिरहेको सवारी साधन पनि बैंकले प्रदान गरेको जनाएको छ । यस्तै, मर्जरपश्चात् बैंकमा हिमालयनको सञ्चालक समिति कायम रहने भएसँगै सिभिल बैंकका अध्यक्ष प्रताप जंग पाण्डे, सञ्चालक अम्बिर बोगटी, प्रकाश पायल र सम्भु प्रसाद पन्त बाहिरिएका छन् । बैंकले सीईओसहित सञ्चालकहरुको बुधबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई विदाइ गरेको छ । एकीकृत काराेबार कहिले ? शुक्रबार हिमालयन बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सिभिल बैंकसँग एकीकृत कारोबार सुरु गर्दैछ । हिमालयन बैंकले सिभिल बैंकलाई १००:८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुनेछ । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । मर्जर पश्चात् हिमालयन बैंकको सञ्चालक समिति नै यथावत रहनेछ । मर्जरपश्चात् बन्ने हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ बन्नेछन् । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । साथै, मर्जर पश्चात् बैंकको सीईओमा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सीईओ पोखरेल बाहिरिए पछि सिभिल बैंकको कर्मचारीको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा जानेछ । हिमालयन बैंकमा उनी चौथो वरियता पाउनेछन् ।
मोफसलबाट उदाएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक
काठमाडौं । पश्चिम नेपालमा बैंकिङ्ग अभ्यास गरिरहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । बैंकले पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल, रुपन्देहीमा वि.सं. २०६५ फागुन ११ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार सुरु गरेको थियो । सुरुवाती चरणमा ३ जिल्लाबाट सेवा सुरु गरेकाे बैंकले वि.सं. २०६९ चैत ४ गते स्थापना भएको गुल्मीको रेसुङ्गा विकास बैंकसँग मर्जर गरेपछि शाइन रेसुङ्गा विकास बैंकको नामबाट १० जिल्लामा आफ्नो सेवा विस्तार गरेको थियो । त्यसपछि वि.सं. २०७३ जेठ २९ गते प्युठानको गौमुखी विकास बैंक, २०७६ असोज २७ मा नेपालगञ्जको भार्गव विकास बैंक र मंसिर १० मा भैरहवा केन्द्रित व्यवसाय गरिरहेको पूर्णिमा विकास बैंकलाई गाभेपछि राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएको हो । हाल रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको यस बैंकले शहरी र ग्रामिण दुवै क्षेत्रमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । हालसम्म ५ वटा विकास बैंकलाई मिलेर बनेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक स्थापना कालमा ६ करोड पुँजीबाट कारोबार गरेको थियो । हाल बैंकको पुँजी ४ अर्ब २८ करोडभन्दा बढी रहेको छ । उपत्यका बाहिर पनि बैंकिङ व्यवसाय गरेर सफल हुन सकिन्छ भन्ने उदाहरणको रुपमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रमाणित गरेको नायव प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु बताउँछन् । ‘मोफसलमा रहेर पनि राम्रो पर्फमेन्स गरेर राष्ट्रिय स्तरका बैंकलाई टक्कर दिइरहेको छ, उपत्यका बाहिर पनि यो लेभलको संस्था चलाउन सकिन्छ भन्ने उदाहरण ज्वलन्त छ, उपत्यका बाहिर पनि यो लेभलको बजार छ ? बैंक सञ्चालन गर्न सकिन्छ ? भन्ने सोच अधिकांशको छ, यसको बावजुत पनि केन्द्रिय कार्यालय मोफसल बाहिर रहेर काम गर्न सक्छ भन्ने प्रमाणित गरेका छौं,’ उनले भने । यो बैंकले पनि अन्य बैंक सरह आफ्नो बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । राजधानीमा केन्द्रिय कार्यालय रहेका बैंकले जस्तो हल्लाखल्ला यस बैंकले गर्दैन । यसका बाबजुत पनि बैंकले आफूलाई सफल वित्तीय संस्थाका रुपमा उभ्याएको छ । बैंकको अध्यक्षको रुपमा थानेश्वर पौडेलले नेतृत्व गरिरहेका छन् भने प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रकाश पौडेलले काम गरिरहेका छन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको चुक्ता पूँजी ४ अर्ब २८ करोड ३८ लाख रुपैयाँ छ । बैंकको जगेडा कोष १ अर्ब ४३ करोड ८३ लाख रुपैयाँ छ । बैंकले पुस मसान्तसम्म ४९ अर्ब ४८ करोड ४५ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४० अर्ब ४५ करोड ७१ लख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा १.३१ प्रतिशत रहेको छ । अर्गानिक व्यापार गरिरहेको यस बैंकले पछिल्लो समय भने डिजिटल बैंकिङ्गलाई ग्रामीण क्षेत्रमा विस्तार गर्न खोजिरहेको छ । आफ्ना सम्पूर्ण व्यवसायलाई डिजिटलाइज गरेर ‘पेपरलेस बैंकिङ्ग’ सेवा प्रदान गर्ने लक्ष्य रहेको डीसीईओ पनेरुले बताए । ‘बैंकले आन्तरिक र बाह्य सेवालाई डिजिटलाइजेशन गरिरहेको छ, आन्तरिक कामहरु पेपरलेस भइरहेका छन्, बैंकले कर्जादेखि अन्य सेवाहरु पेपरलेस बनाएको छ,’ उनले भने । उनका अनुसार बैंकको वार्षिकोत्सवको अवसरमा क्रेडिट कार्ड पनि गरिने भएको छ । बैंकले डिजि बैंक बनाउन मोबाइल बैंकिङ्ग एपलाई आधुनिक बनाएको छ । ग्राहकलाई बैंकिङ्ग सम्बन्धी कुनै समस्या परेमा शाखा कार्यालय धाउनु नपर्ने उनले बताए । ग्राहकलाई डिजिटल बैंकिङ्ग सँगै जोखिमका बारेमा पनि सचेतना कार्यक्रम गर्दै आएको उनको भनाइ छ । ‘ग्राहकलाई बैंकसँग अन्तक्रिया गर्नु परेमा ‘डिजिटल च्याटबट’ बाट गर्न सकिन्छ, डिजिटल बैंकिङ्गमा प्रवेश गरेको हुँदा सचेतना फैलाउने काम भइरहेको छ, डिजिटल बैंकिङ्गको जोखिमका बारेमा पनि सचेतना दिन जरुरी भइसक्यो,’ उनले भने । शाखा विस्तारको रणनीति तीन जिल्लाबाट बैंकिङ्ग सेवा सुरु गरेको यस बैंकले हाल साढे ४ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । बैंकको पहुँच सातै प्रदेशमा नपुगेको भएपनि आगामी दिनमा भने आफ्नो सञ्जाल विस्तार गर्ने रणनीतिमा बैंक अघि बढेको छ । बैंकले हाल ८९ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटिएम मेशिनबाट बैंकिङ्गसेवा दिइरहेको छ । प्रदेश नम्बर १ र मधेश प्रदेश बाहेकका सबै प्रदेशमा बैंकको पहुँच पुगेको छ । लुम्बिनी प्रदेशको बुटवलमा केन्द्रिय कार्यालय रहेकाले अधिकांश शाखा सञ्जाल लुम्बिनी प्रदेशमा नै केन्द्रित छन् । बैंकले उपत्यकामा पनि आफ्नो सेवा विस्तार गरिसकेको छ । गत वर्ष मात्रै बैंकले दर्जन बढी शाखा कार्यालय काठमाडौं उपत्यकामा सञ्चालनमा ल्याएको हो । ‘बैंकले आवश्यकता हेरेर मात्रै शाखा विस्तार गर्नेछ, आगामी दिनमा आक्रामक भएर शाखा विस्तार गर्ने योजना छैन, जुन ठाउँमा आवश्यकता छ, सोही ठाउँमा मात्रै शाखा विस्तार गर्ने हो, सबै शाखा कार्यालयमा प्रविधि जोडिएका छन्, अधिकांश शाखाले अनलाइबाट सेवा दिइरहेका छन्,’ डीसीईओ पनेरुले भने । बैंकले आफ्नो सेवामा गुणस्तरीयता ल्याउन कर्मचारीको संख्या पनि बढाएको छ । बैंकका अनुसार हाल ८ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकतामा बैंकले ग्राहकलाई सबै प्रकारका बैंकिङ्ग सेवा प्रदान गर्ने गरी काम गरिरहेको उनले बताए । ग्राहकको आवश्यकतालाई पुरा गर्न बैंकले प्रयास गरिरहेको उनको भनाइ छ । ‘अझै सेवालाई सुधार गर्ने योजना छ, नयाँ प्रडक्ट लञ्च गरेर होस् या भएका प्रडक्टका बारेमा ग्राहकलाई राम्रोसँग बुझाएर होस्, ग्राहकलाई सन्तुष्टि दिन्छौं, बैंकको सेवाबाट ग्राहकहरु सन्तुष्ट हुनुहुन्छ, ग्राहकको संख्या, ग्राहकसँगको अन्तरक्र्रिया र विजनेशको भोलुमले नै ग्राहकको सन्तुष्टि देखाउन सकिन्छ,’ उनले भने । बैंकले ४ लाख ५० हजार भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । डबल डिजिटमा लाभांश बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको लाभांश इतिहास हेर्ने हो भने अहिलेसम्म डबल डबल डिजिटमा मात्रै प्रतिफल दिँदै आएको छ । तर, गित वर्षहरुको तुलनामा भने बैंकको लाभांश दर घटेको देखिन्छ । बैंकहरुको पूँजी बढ्दै गएको हुँदा लाभांश दर घटेको पनेरुले बताए । ‘सानो पुँजी हुँदा अर्निङ र इपीएस बढी हुन्छ तर पूँजी बढ्दै गएपछि बेस ठूलो हुने भएकाले अर्निङ मेन्टेन गर्न गाह्रो हुन्छ, बैंकले दिएको औषत भन्दा बढी नै बैंकले लाभांश दिएको छ,’ उनले भने, ‘भविष्यमा बैंकका सेयरधनीहरुलाई बढी प्रतिफल दिने हाम्रो लक्ष्य छ, बैंकको आन्तरिक इफिसेन्सी, लागत, विजनेश ग्रोथ, आम्दानी बढाएर प्रतिफल बढाउने हो, अहिलेसम्म सिङ्गल डिजिटमा झरेको छैन, आशा गरेका छौं भविष्यमा पनि झर्दैन ।’ ५ वर्षे बिजनेस रणनीति बैंक तथा वित्तीय संस्था सबैले आफ्नो दीर्घकालको रणनीति बनाएर काम गरिरहेका हुन्छन् । सोही अनुसार शाइन रेसुङ्गा डेपलपमेन्ट बैंकले पनि आफ्नो ५ वर्षे रणनीति बनाएको छ । ‘अझै उत्कृष्ट बैंकका रुपमा उभ्याउने उद्देश्य छ, प्रत्येक वर्ष आजभन्दा भोलि, भोलिभन्दा पर्सी बेटर बनाउँदै जाने हो, सेयरधनी, ग्राहक, निक्षेपकर्ता, कर्जा ग्राहक, समुदाय, नेपाल राष्ट्र बैंक र नेपाल सरकार लगायत सबैको नजरमा राम्रो बैंकको रुपमा उभ्याउने लक्ष्य छ’ उनले भने, ‘सबै स्टेक होल्डरको अपेक्षा पुरा गर्छाै, गुड कर्पाेरेट सिटिजन बैंक बनाउने हो ।’ मर्जरको योजना शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक विभिन्न ५ वटा संस्था मिलेर बनेको बैंक हो । पछिल्लो समय विकास बैंकहरु मर्जर हुँदै एउटा लेभलमा आइसकेका छन् । वाणिज्य बैंकहरु धमाधम मर्जर भइरहँदा विकास बैंकलाई भने मर्जरको खाँचो छैन । त्यसैले तत्काल बैंकले कुनै मर्जर तथा एक्विजीशनको योजना नलिएको उनले बताए । ‘वाणिज्य बैंकहरु मर्जर भएर ठूला भएका छन् भने संख्या कम हुँदैछन्, भोलिका दिनमा कमजोर वित्तीय अवस्था भएका ग्राहकहरु छुट्न सक्छन्, त्यस्तो ठाउँमा विकास बैंकहरुले भूमिका निर्वाह गर्छन्, विकास बैंकको भविष्य राम्रो छ,’ उनले भने, ‘विकास बैंकको बजार राम्रो छ, एउटा लेभलको ग्राहकलाई विकास बैंकहरुले राम्रो सेवा प्रदान गरिरहेका छन्, भविष्यमा वाणिज्य बैंक ठूला हुँदा कमजोर वित्तीय अवस्था भएका ग्राहकलाई सेवा दिन विकास बैंक आवश्यक छन्, विकास बैंकका लागि अहिले मर्जर आवश्यकता छैन ।’ सेवाको गुणस्तरमा नम्बर वान डीसीईओ पनेरुका अनुसार अहिले बिजनेसको भोलुमलाई मात्रै नम्बर वानका रुपमा हेर्ने चलन छ । तर, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भोलुम बेसभन्दा पनि गुणस्तरीयतामा नम्बर वान बन्ने लक्ष्य लिएको छ । बैंकको उद्देश्य ग्राहको पहिलो रोजाइको विकास बैंक बन्ने रहेको उनले सुनाए । ‘भोलुममा मात्रै नम्बर वान हुने हो की ओभरल पर्फमेन्समा बेटर बनाएर नम्बर वान हुने भन्ने हो, बैंकको सेवा उपभोग गर्दा ग्राहकमैत्री र ग्राहकको आवश्यकता पुरा गर्न तिर जोड दिन्छौं,’ उनले भने । सामाजिक कार्यमा पनि अग्रसर बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि राम्रो काम गर्दै आएको छ । बैंकका अनुसार वार्षिकोत्सवका अवसरमा सरकारी १५ वटा विद्यालयमा ई–कक्षा सञ्चालन गर्ने योजना छ । पहाडी र तराइका १५ वटा सरकारी विद्यालयमा प्रोजेक्टर, प्रिन्टर र कम्प्युटर लगायतका सामाग्री दिएर डिजिटल कक्षा बनाउने योजना रहेको उनले सुनाए । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न ठाउँमा १४ हजार बिरुवाहरु रापेको छ । अर्काे वर्ष १५ हजार विरुवा रोप्ने लक्ष्य रहेको उनले बताए । यस्तै, नयाँ उद्यमशीलता विकासका लागि यो वर्ष एउटा प्रोग्राम लञ्च गर्ने तयारी छ ।
पूर्व सचिव पुडासैनी कृषि विकास बैंकको अध्यक्षमा नियुक्त
काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा पूर्व सचिव पुडासैनी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले पूर्व राजस्व सचिव रामशरण पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो । बैंकको बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको सञ्चालक समिति सदस्य सन्जीव पौडेलले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार अर्थमन्त्रालले पुडासैनीलाई बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । पुडासैनी गत साउनमा सेवाबाट निवृत्त भएका थिए । अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर उनी गत साउन २४ गते सेवानिवृत्त भएका हुन् । नेपालको अर्थतन्त्र सुधारमा पुडासैनीको ठूलो योगदान रहेको छ । २०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरी २५ वर्ष अर्थमन्त्रालयमा कार्यरत थिए । पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ । निजामति सेवामा ३३ वर्ष विताएका पुडासैनी ५८ वर्षे उमेर हदका कारण साउन २४ गते सेवानिवृत्त भएका थिए ।