हिमालयनलाई सिभिलको ‘सिटिजन्स बैंक कार्ड’ र त्यो त्याग
२०६० को दशकमा वाणिज्य बैंक स्थापना गर्ने एक किसिमको लहर थियो । तत्कालीन समयमा सिभिल समूह जल्दोबल्दो अवस्थामा उदाएको थियो । सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङ, प्रकाश पायल, अम्बिर बोगटी (म) लगायत १४८ जनाको पहलमा सिभिल बैंक स्थापना भयो । स्थापना गर्दा बैंकको पुँजी १ अर्ब ६० करोड रुपैयाँ पुग्यो । कम्पनी रजिष्ट्रार कार्यालयमा वि.सं.२०६७ साउन १९ गते दर्ता भयो । वि.सं. २०६५ माघ ५ गतेदेखि नै तदर्थ सञ्चालक समिति गठन गरेको भएपनि वि.सं.२०६७ साउन २५ गतेदेखि कानुनी मान्यता पायो । तदर्थ सञ्चालक समिति दर्ता प्रक्रियामा सघाउनका लागि बनाइएको थियो ।नेपाल राष्ट्र बैंकले वि.सं.२०६७ मंसिर ३ गते ३० औं बैंकको रुपमा कारोबार गर्न सिभिल बैंकलाई इजाजतपत्र (लाइसेन्स) दियो । मंसिर १० गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । मंसिर २९ गते तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले बैंकको ग्राण्ड उद्घाटन गर्नुभयो । सञ्चालक समितिको अध्यक्ष इच्छाराज तामाङ बन्नुभयो । सञ्चालकहरुमा अम्बिर बोगटी (म), प्रकाश पायल, जुनी गुरुङ, त्रिमीर महर्जन थिए । बैंकको संस्थापक सीईओ किशोर महर्जन नियुक्त हुनु भयो । केन्द्रिय कार्यालयमा ९४ जना कर्मचारी कार्यरत थिए भने कुनै शाखा कार्यालय सञ्चालनमा आएका थिएनन् । २ वर्षभित्र आईपीओ जारी गरिसक्नु पर्ने थियो । २०६९ मा चुक्ता पुँजीको ४० प्रतिशत आईपीओ बिक्री गरेर २ अर्बको बैंक बन्यो । सिभिल बैंकले २०६८ असार २० गते बाह्रविशेमा पहिलो शाखा र असार २२ गते धादिङ बेशीमा दोस्रो शाखा विस्तार गर्याै । २ वटा विङ्स (शाखा) सञ्चालनमा ल्याएर विजनेश सुरु भयो । सोही वर्ष ५० वटा शाखा कार्यालय सञ्चालनमा ल्याउने लक्ष्य बैंकले राख्यो । राष्ट्र बैंकले वि.सं. २०६७ चैतमा सेञ्चुरी कमर्सियल बैंकलाई वाणिज्य बैंकको अन्तिम लाइसेन्स दियो । तर, २०६८ जेठदेखि मर्जरको अवधारणा ल्यायो । बैंक तथा वित्तीय संस्था धेरै भए । अब संख्या घटाउनु पर्याे भनेर मर्जर नीति ल्यायो । राष्ट्र बैंकले मर्जरका लागि गृहकार्य थाल्यो । केही बैंकहरुले ५ अर्ब पुँजी पुर्याएका थिए । मर्जरलाई सघाउन सिभिल बैंकले २०७१ सालमा २० करोड पुँजी भएको सिभिल मर्चेन्ट वित्तीय संस्था र ८८ करोड पुँजी भएको एक्सिस डेभलपमेन्ट बैंकलाई गाभ्यो । यी दुई बैंकलाई ७९ रुपैयाँमा गाभेको थियो । २ वटा संस्था गाभेर सिभिल बैंकको पुँजी ३ अर्ब १८ करोड मात्रै पुग्यो । मर्जर कमिटी संयोजक म आफै थिएँ । सिभिल बैंकले इन्टरनेसनल लिज फाइनान्स कर्पाेरेसन (आइएलएफसी)लाई मर्जर गर्न चाहेको थिएन । आइएलएफसी कम्पनीलाई २ पटक सञ्चालक समितिले मर्जरका लागि अस्वीकार गरेको थियो । तत्कालीन गभर्नर चिरञ्जिवी नेपालले २०७२ मा मौद्रिक नीतिमार्फत् बैंकहरुको पुँजी ८ अर्ब हुनुपर्ने व्यवस्था गर्नुभयो । आइएलएफसी कम्पनीको पुँजी २ अर्ब थियो । त्यहिबेला मर्जर नगर्ने भनेर राम्रा बैंकहरुलाई अस्वीकार गरिएको थियो । चुक्ता पुँजी वृद्धि गर्नका लागि आइएलएफसीलाई स्वाप रेसियो ७४ रुपैयाँमा मर्जर गर्नुपर्याे । त्यसको पनि मर्जर कमिटी संयोजक म आफै थिएँ । आइएलएफसीसँग सिभिल बैंकले २०७३ कात्तिक १ गतेदेखि एकीकृत कारोबार सुरु गर्याे । आइएलएफसीलाई गाभेपछि सिभिल बैंकको चुक्ता पुँजी ४ अर्ब ६६ करोड पुग्यो । इच्छाराज तामाङ जी सांसद भएपछि २०७४ बैशाखमा बैंकको अध्यक्षमा म नियुक्त भएँ । मेरो नेतृत्वमा हामा मर्चेन्ट र यूनिक फाइनान्सलाई प्राप्ति गर्यौं । त्यसबेला मर्जर कमिटि संयोजक प्रकाश पायल हुनुहुन्थ्यो । सबै संस्थाको पुँजी एकत्रित र बोनस सेयर वितरण गरेर २०७४ को असार मसान्तसम्म ५ अर्ब ७ करोड पुँजी पुग्यो । तर, २ वर्ष भित्र ८ अर्ब पुँजी पुर्याउनु पर्ने थियो । त्यसपछि बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्याे । कर्मचारी सञ्चय कोषलाई आग्रह गरेपछि ३० करोडको सेयर खरिद गर्याे । हकप्रद सेयर निष्काशन पश्चात् बैंकको पुँजी ८ अर्ब ५ करोड पुँजी पुग्यो । राष्ट्र बैंकले तोकेका सबै मापदण्ड पुरा गर्न सफल भयौं । सिभिल बैंकले पुँजी क्षमता भएका कम्पनीलाई प्राप्ति गर्न सफल भयो तर, विजनेश क्षमता भएका कम्पनीलाई ल्याउन सकेन । जसको मार सिभिल बैंकको विजनेशमा पर्याे । विजनेश गर्न नसकेपछि उचित लाभांश दिन सकेन । अन्य सबै बैंकले मर्जर गरेर विजनेश क्षमताका संस्थालाई प्राप्ति गरे । सिभिल बैंकले अर्गानिक विजनेश गर्छ भन्दा ग्रोथ कम हुन पुग्यो । २०७६ सालमा विग मर्जरको अवधारणा आएपछि समान वर्गका संस्था मात्रै मर्ज हुनु पर्ने व्यवस्था गर्याे । ग्लोबल आइएमई र जनता बैंकको पहिलो विग मर्जर भयो । २०७७ असारमा गभर्नर चिरञ्जिवी नेपालले अध्यक्ष र सीईओलाई बोलाएर ७ दिनभित्र जोडी खोज्नुस भनेर निर्देशन दिनु भयो । आइएलएफसी गाभेपछि सञ्चालक समितिमा प्रतापजंग पाण्डे, युगेश बहादुर मल्ल, सम्भु पन्त, प्रकाश पायल, अम्बिर बोगटी, इच्छाराज तामाङ र भिमानन्द ढुंगाना गरी ७ जना थिए । २०७६ बैशाख २९ गते मेरो अध्यक्षतामा मर्जर कमिटि गठन भयो । जसमा प्रतापजंग पाण्डे र प्रकाश पायल सदस्य हुनुहुन्थ्यो । मर्जरका विषयमा जहिल्यै पनि सिभिल बैंक राष्ट्र बैंकभन्दा एक कदम अगाडि थियो । सिभिल बैंकको पोर्टफोलियो ५० अर्ब र पुँजी ८ अर्ब मात्रै थियो । सिभिल बैंकले ८८ अर्बसम्मको मात्रै विजनेश गर्न पाउँथ्यो । सिभिल बैंक सबैभन्दा कान्छो र विकास बैंकको हाराहारीमा देखिन थाल्यो । तत्कालीन सीईओ गोविन्द गुरुङले हिमालयन बैंकसँग मर्जर गरौं अशोक दाइसँग कुरा गर्छु भन्नुभयो । अध्यक्ष इच्छाराज तामाङले पनि सार्वजिक रुपमा पुँजी क्षमता अब्बल र लाभांश इतिहास राम्रो भएका बैंकसँग मर्जर गर्न सकिन्छ भनेर अभिव्यक्ति दिनुभयो । जसमा हिमालयन, नबिल जुनसुकै बैंक पनि हुन सक्छ भन्नुभयो । वि.स.२०७७ साउन ३२ गते सिभिल बैंकले हिमालयन बैंकलाई औपचारिक पत्र पठायो । हिमालयन बैंकसँग मर्जर गर्न सिभिल बैंक तयार छ । हिमालयन बैंकले सिभिल बैंकलाई मर्ज गरिदेउ भनेर चिठि पठाएका थियौं । हिमालयन बैंकसँग छलफल भयो । तर, सिभिल बैंकलाई साह्रै हेप्यो । हिमालयन बैंकले तिमिहरु मर्जर गर्न आयौ, तिमिहरुको भ्यालू छैन, विजनेश पनि छैन, ३०/३५ रुपैयाँ मात्रै दिन्छौं भन्ने कुरा गर्याे । सिभिल बैंकमा हाम्रो १ सय रुपैयाँ लगानी थियो । हामीले घटाएर अन्य कम्पनीलाई मर्जर गरेका थियौं । ७५ रुपैयाँमा सिभिल बैंकमा आएका सेयरधनीहरुको २१ रुपैयाँमा झर्ने देखिन थाल्यो । अर्गानिक ग्रोथ गरेर विजनेश बढाउनु पर्छ । हेपिएर मर्जर गर्नु हुँदैन । मर्जर गरेपनि समान हैसियतमा मात्रै गर्नुपर्छ भन्ने अडान राख्यौं । तत्कालीन समयमा सिटिजन्स बैंक, कुमारी बैंक, प्रभु बैंक, एनसीसी बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंकसँग मर्जरका लागि छलफल गर्दा ६०/७० रुपैयाँ मात्रै दिन्छौं भन्न थाले । हिमालय बैंक लगायत पहिलो पुस्ताका बैंकले ती बैंकलाई ६०/७० दिन्छु भनेका थिए । उनीहरुसँग ६०/७० मा जाने भएपछि सिभिल बैंक ४९ मात्रै हुन थाल्यो । अध्यक्षमा प्रताप पाण्डे आइसकेपछि बलियो मर्जर कमिटी बन्यो । सिभिल बैंक सरहका बैंकसँग स्वाप रेसियो १ः१ अुनपात, समान हैसियत, सभ्य सहभागीता हुनुपर्ने अडान राख्यौं । पहिलो पुस्ताका बैंकसँग भने कम्प्रमाइज गर्ने रणनीति भयो । पुराना बैंकसँग मर्ज हुँदा सञ्चालक समिति छाड्ने, ब्राण्ड छाड्ने योजना बनायो । तर, स्वाप रेसियो र कर्मचारीको मुद्धालाई पहिलो प्राथमिकतामा राख्ने योजना थियो । अहिले पनि कर्मचारी र स्वाप रेसियो बाहेक अन्य कुरामा पछि हटेको हो । कोरोना महामारी सुरु भयो । सबै चुप लागेर बसे । सिभिल बैंकले आएको सबै निक्षेप जम्मा गर्न थाल्यो । एक वर्षमा ६० अर्बको निक्षेप ९० अर्ब पुर्यायो । १० वर्षमा ६० अर्ब पुगेको निक्षेप ११ वर्षमा ९० अर्ब पुग्यो । कर्जा ५३ अर्ब थियो भने एक वर्षमा ८३ अर्ब पुग्यो । बैंकले एक वर्षमा ३० अर्ब निक्षेप र ३० अर्ब कर्जा बढायो । बैंकको सीईओमा सुनिल पोखरेल नियुक्त हुनुभयो । डिजिटल बैंकिङ्गमा उहाँ एक्सपर्ट हुनुहुन्छ । उहाँले बैंकको क्षमतासँगै क्लाइन्ट, सेवामा गुणस्तरीयता कायम गर्नुभयो । कर्मचारी स्वाट्टै घटाएर १ हजार ५० जनाबाट ९२३ जनामा झार्नुभयो । बैंकले एक वर्षमा कर्मचारी घटाएर विजनेश ग्रोथ धेरै गर्न सफल भएको थियो । सीईओ सुनिल पोखरेलजीले ठूलो योगदान छ । हिमालयन बैंकसँग पहिलो मर्जर प्रयास २०७७ साउन ३२ मा भएको थियो । तर, सिभिल बैंकको मर्जरलाई अस्वीकार गरेर नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गर्याे । दुवै बैंक साँढे जस्तै भएर भाँडिन पुगे । नेपाल इन्भेष्टमेन्ट बैंकसँग भाँडिनु नै हाम्रो सौभाग्य थियो । सिभिल बैंकले दोस्रो प्रयास २०७८ पुस २५ गते गरेको थियो । सिभिल बैंकको फागुन १८ गते सिभिल बैंकको पहिलो मर्जर समितिको औपचारिक बैठक बस्यो । मर्जर कमिटिमा युगेस मल्ल पनि सदस्य हुनुहुन्थ्यो । त्यसपछि दोस्रो बैठक २०७९ जेठ ४ गते बस्यो । हिमालयन बैंकसँग मर्जरका लागि प्रि–डीडीए रिपोर्ट तयार गर्ने निर्णय गर्याै । डीडीए रिपोर्टले जे भन्छ त्यहि अनुसार हिमालयन बैंकसँग मर्जर गर्ने निर्णय भयो । सिभिल बैंकको मात्रै डीडीए गर्दा ६९/७० रुपैयाँ आएको थियो । १० प्रतिशत तलमाथि गर्न पाइने भएपछि ७७ रुपैयाँ पाउने अपेक्षा थियो । पहिला ३०/३५ रुपैयँ दिन्छु भन्ने हिमालयन बैंकसँग ७० भन्दा बढी आउने आशमा मर्जर अगाडि बढ्यो । २०७९ जेठ ५ गते हिमालयन बैंकको मर्जर कमिटी र सिभिल बैंकको मर्जर कमिटीको औपाचारिक वार्ता भयो । १००ः८१ स्वाप रेसियोमा मर्जर गर्ने प्रारम्भिक सम्झौता भयो । मर्जरको दोस्रो दिन हिमालयन बैंकसँग वार्ता भयो । हिमालयन बैंकले ८१ रुपैयाँमा बैंकलाई खरिद गरेको जस्तो व्यवहार देखाउन थाल्यो । वार्तामा सिभिल बैंकको सीईओ र कम्पनी सचिव हुनुहुन्थ्यो । मर्जर कमिटीका सदस्यलाई कोरोना लागेको हुँदा म एक्लै थिएँ । म एक्लै भएपनि पछि हटेन । हामीले बैंक तपाईंलाई बिक्री गरेको होइन । यदि बिक्री गरेको हो भने पैसा गनेर दिनुस हामी सबै छोड्छौं । तपाइहरुले सेयर नदिने भएपछि सिभिल बैंकको कर्मचारीलाई पनि खरिद गर्नुहोस् । कि सबैलाई ह्याण्डसम भीआरएस दिएर विदा गर्नुस् । होइन भने कर्मचारीको मामलामा कम्प्रमाइज हुँदैन भनेपछि तत्कालीन समयमा मर्जर प्रक्रिया ७ दिनसम्म टर्याे । त्यसपछि सिटिजन्स कार्ड पनि सुरु भयो । सिटिजन्स बैंकसँग हामीले मर्जरका लागि छलफल गर्याै । सिटिजन्स बैंकसँग १ः१ अनुपातमा ३ जना सञ्चालक दिने गरी छलफल भयो । असार २८ गते सिटिजन्ससँग अन्तिम छलफल गर्दा उहाँहरुले मर्जर चोहेको होकी एक्विजिशन भनेर प्रश्न गर्नुभयो । मैले एक्विजिशन गर्दिन मर्जर चाहेको हो भनेपछि सिटिजन्स बैंकसँग पनि वार्ता टुंगियो । हिमालयन बैंकले सबै शर्त मञ्जुर छ आउनुस् भनेर फेरी अनुरोध गर्याे । उहाँहरुले कार्यकारी तहमा अलिकति लचकता हुनुपर्ने भन्नु भयो । हामीले पनि स्वीकार गरेर हुन्छ भन्यौं । कार्यकारी तह बाहेक अन्य कर्मचारीको खाइपाइ आएको सेवा सुविधा, पद घटुवा हुँदैन भनेर सम्झौता भयो सिभिल र हिमालयन बैंकको मर्जरमा सबै काम सम्पन्न भएका छन् । सिभिल बैंकका कर्मचारी, सेयरधनीहरुले चित्त दुखाउने ठाउँ छैन । हामी सञ्चालकहरुको बहिर्गमन हुँदा सबै खुशी हुनुहुन्थ्यो । हामीले हाम्रो फाइदा राखेको भए अरुको चित्त दुख्थ्यो । तर, हामी उदार भयौं । सिभिल बैंकले अध्यक्ष, सञ्चालक र सीईओ पद छाडेपछि सफल भयो । एकीकृत कारोबारका दिनसम्म २१ वटा ज्वाइन्ट एक्विजिशन कमिटि (ज्याक) बैठक बसेका छन् । बिहीबार बसेको ज्याकको बैठकमा सौहार्दपूर्ण छलफल भयो । यसमा २ वटा बैंकको जस्तो कमिटी थिएन । एउटै बैंकको जस्तो बैठक बसेर विदा भयौं । हिमालयन र सिभिल बैंकको मर्जरमा कुनै समस्या देखिने छैन । यो समयले देखाउँछ । अन्य कर्मचारी सबै आआफ्नो कारणले विदा हुनु भएको हो । सिभिल बैंक स्थापना गर्दा इच्छाराज तामाङजीले १० वर्षमा टप टेन बैंक हुने भन्नु भएको थियो । हामीले १० वर्षमा टप टेन बैंक बनाउने लक्ष्य पनि राखेको हो । तर, हामी टप टेन बैंक बन्न सकेनौं । कहिलेकाँही लक्ष्यमा पुग्नका लागि क्रमभङ्ग गर्नुपर्ने भएकाले छैठौं बैंक बनेको छ । १० वर्षमा टपटेन बैंक बन्न नसकेपनि १२ वर्ष पछि छैठौं बैंकको सेयरधनी बन्यौं । हिमालयन बैंक प्रचण्ड बहादुर श्रेष्ठ र अशोक राणाको मात्रै नभएर हाम्रो पनि बैंक हो । आफ्नै नामबाट टपटेन बैंक बन्न नसकेपछि फ्युजन भएर छैठौं बैंक बनेका छौं । क्रमभङ्गता गरेर लक्ष्यमा पुग्न सफल भयौं । ३५ अर्ब बढीको ग्लोबल आइएमई बैंक आइसकेपछि ९ अर्बको सिभिल बैंकले केही गर्न सक्दैनथ्यो । विकास बैंकले टप्न थालेको थियो । सिभिल बैंकसँगको मर्जरले नेपालमा नेपाली मुद्रा सञ्चालन गर्ने पूर्व गभर्नर स्वर्गीय हिमालयन राणाको ब्राण्ड जोगिएको छ । सिभिल बैंकले सबै कुरा त्याग गरेको छ ।
भाखा नाँघेको ३० दिनभित्र साँवा, ब्याज तिरेमा पेनाल ब्याज लिन नपाइने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले ऋणको भाखा नाँघेको तीस दिनभित्र साँवा र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेकोे एकीकृत निर्देशन, २०७९’ संशोधन गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । ‘ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा र ब्याजको दायित्व भाखा नाँघेको ३० दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन पाइने छैन । यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा र ब्याजमा मात्र लागू हुनेछ’, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ तर कुनै ऋणीले छुट पाउने अवधिभित्र साँवा र ब्याज भुक्तानी नगरेमा बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण भाखा नाँघेको अवधिको पेनाल ब्याज ऋणीसँग लिन सक्नेछन् । राष्ट्र बैंकले कर्जाको पुनःसंरचना र पुनःतालिकीकरणसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको दुई करोड रुपैयाँसम्मको कर्जालाई विभिन्न शर्त राखेर पुनःसंरचना र पुनःतालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । ‘रू दुई करोडसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग, व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी एक पटकका लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असुल उपर गरी कर्जाको पुनःसंरचना तथा पुनःतालिकीकरण गर्न सकिनेछ’, राष्ट्र बैंकले भनेको छ । यो सुविधा पाउन यस्तो पुनःतालिकीकरण र पुनःसंरचना २०८० असार मसान्तभित्र गरिसक्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ । त्यस्तै यसरी पुनःतालिकीकरण वा पुनःसंरचना गर्दा २०७९ पुस मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्नेछ । पुनःतालिकीकरण वा पुनःसंरचना गरिएका कर्जालाई असल वर्गमा वर्गीकरण गरी एक दशमलव तीन प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । रासस
एनआईसी एशिया बैंकको फोनलोन सेवा, मोबाइलबाटै २ लाखसम्म ऋण पाइने
काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया फोन लोन सेवा सुरु गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी ‘एन आईसी एशिया होम लोन’ सुरु गरेको हो । बैंकको मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम २ लाख रुपैयाँसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ । बैंकले ल्याएको उक्त नयाँ सेवाबाट ग्राहकले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् । बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा कर्जा सेवा उपभोग गर्न सक्नेछन् । उक्त मापदण्डहरुबारे एपले नै स्वचालित रुपमा ग्राहकको कर्जा प्राप्त गर्ने योग्यता मापन गरी सम्बन्धित ग्राहकले कर्जा प्राप्त गर्ने वा नगर्ने अवस्थाको निक्र्यौल गर्नेछ र कर्जा लिन योग्य ग्राहकले एपमा कर्जा आवेदन दिने विकल्प देखिने व्यवस्था बैंकले गरेको छ । आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिटेन्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसी/एनसेल टपअप, युटिलीटी बिल भुक्तानी, शेयर आवेदन आदि जस्ता थुप्रै आकर्षक सुविधाहरू सहज रुपले लिन सक्ने बैंकले जनाएको छ । बैंकले हाल ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएकाे छ ।