ग्लोबल आइएमई बैकले ८ वटा शाखाका स्थिर सम्पत्ति बेच्दै

काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखा कार्यालयमा रहेका स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ । ग्लोबल आइएमई बैंकले साविक बैंक अफ काठमाण्डूलाई गाभेपश्चात् कायम नरहेका शाखा कार्यालयहरुको स्थिर सम्पत्ति बिक्री गर्ने भएको हो । विभिन्न स्थानहरुमा दोहोरीएका शाखा कार्यालयहरुमध्ये एक शाखा कार्यालयलाई निरन्तरता दिईएको हुँदा नदोहारीएका ८ वटा कार्यालयहरुको सम्पत्ति बिक्री गरिने भएको हो । बैंकले उक्त शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु यथास्थितिमा बिक्री गर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि समेत उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघ संस्थाले १५ दिनभित्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ । साविक बैंक अफ काठमाण्डूका सन्धिखर्क, अत्तरिया कैलाली, बर्दघाट, काठमाडौंको बल्खु, मिर्चैया, दैलेख र सुन्दर बजारका साविक शाखा कार्यालयमा रहेका स्थिर सम्पत्ति बिक्री गरिने भएको हो । यस्तै, ग्लोबल आइएमई बैंकको काठमाडौंको कमलादी शाखा कार्यालयका स्थिर सम्पत्ति बिक्री गरिने भएको हो ।

एनएमबि बैंकले ल्यायो १५ वर्षका लागि ११.९९ प्रतिशतमा स्थिर घर कर्जा 

काठमाडौं । एनएमबि बैंकले नयाँ घर कर्जा ल्याएको छ । बैंकले १५ वर्षका लागि ११.९५ स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा ल्याएको हो । यो नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्याउने बताएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनील केसीले मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरताको महत्त्व बुझेर स्थिर कर्जा योजना ल्याएको बताए । ‘यो कर्जाले नयाँ ग्राहकहरू कुनै पनि बजार उतार(चढाव वा ब्याजदरहरूमा परिवर्तन भएता पनि उहाँहरूको मासिक भुक्तानी ऋण अवधिसम्म स्थिर रहनेछ भनी विश्वस्त हुन सक्नुहुनेछ,’ उनले भने । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

प्रभु बैंकको एटिएम नभएको शाखा कार्यालयमा पीओएस मेसिन संचालन

काठमाडौं । प्रभु बैंकले एटिएम सञ्चालन नभएका शाखा कार्यालयहरुबाट बैंकको आफ्नै पीओएस मेसिनको माध्यमबाट अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ । बैंकले पीओएस मेशिनबाट ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्यूतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने सेवा संचालनमा ल्याएको हो बैंकले विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको शुरुवात गरेको छ ।