कृषि विकास बैंकले रोल्पामा सम्पन्न गर्यो वित्तिय साक्षरता कार्यक्रम

काठमाडौं । कृषि विकास बैंकले रोल्पाको गंगादेव गाँउपालिकाको मनिमारेमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तिय पहुँच बढाउने उदेश्यका साथ बैंकको प्रदेश कार्यालय दाङ शाखा कार्यालय रोल्पाको आयोजनामा गंगादेव गाउँपालिका वडा नं ३ मनिमारेमा कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक, प्रदेश कार्यालयका निर्देशक राजेश कुमार श्रीवास्तवले गरेका थिए भने सञ्चालन शाखा कार्यालय रोल्पाका प्रबन्धक राज कुमार विश्वकर्माले गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक गोविन्द गुरुङले बैंकले कसरी बचत गर्ने, बचत गर्दा हुने फाईदा, बैंक खाताका प्रकारहरु, कसरी उद्यम शिलता विकास गर्ने, कृषि विकास बैंकले दिने विभिन्न सेवाहरु बारे जानकारी दिएका थिए । कार्यक्रममा वित्तिय साक्षरताको आवश्यकता एवं नेपालको आर्थिक तथा वित्तिय प्रणालीको बारेमा समेत प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिएका थिए ।

एनआईसी एशिया बैंकको सेवा दुई दिनसम्म बन्द हुने

काठमाडौं । एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबार राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो । ‘यस बैंकको कार्ड सेवा (डेबिट/क्रेडिट/प्रिपेड) को स्विच अपग्रेशन/माइग्रेशन गनुएपर्ने भएकोले शुक्रबार राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम/पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने छ,’ बैंकद्वारा जारी गरिएकाे सूचनामा भनिएको छ । कार्ड सम्बन्धी सेवा अवरुद्ध हुने समयमा मोबाइल बैंकिङ तथा अन्य माध्यमबाट प्रवाह हुने सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ ।  

नेपाल एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटल र होलिडेमा छुट

काठमाडौं । नेपाल एसबिआई बैंकले सर्लाहीको सिता प्यालेस होटल र सिता प्यालेस होलिडेसँग सम्झौता गरेको छ । यस सम्झौतासँगै बैंकका ग्राहकले सिता प्यालेस होटल र सिता प्यालेस होलिडेको विभिन्न सेवामा छुट पाउनेछन् । उक्त सम्झौता बैंकका मधेश प्रदेश प्रमूख, लेखनाथ पोख्रेल तथा सिता प्यालेस होटल तथा सिता प्यालेस होलिडे इनका प्रबन्ध निर्देशक विनोद प्रसाद मैनालीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले भुक्तानी गर्दा कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा छुट प्राप्त गर्न सक्नेछन् ।