घान्द्रुक फोहोर व्यवस्थापनको लागि ज्योति विकास बैंकले दियो ६६ वटा डस्टबिन
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत घान्द्रुक पर्यटन व्यवस्थापन समिति र अन्नपूर्ण गाउँपालिका वडा नं १०र११ लाई ६६ वटा डस्टबिन हस्तान्तरण गरेको छ। देशको पर्यटकीय नगरी घान्द्रुकलाई सफा र सुन्दर राख्न तथा सो क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्ने उदेश्यका साथ बैंकले उक्त सहयोग गरेको जनाएको छ । बुधबार आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङलाई उक्त डस्टबिनहरु हस्तान्तरण गरेका हुन्। सोही कार्यक्रममा बैंकले घान्द्रुक घुम्न जाने पर्यटकहरुलाई सवारी साधनको भाडा भुक्तानीमा सहजता प्रदान गर्न र नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ बैंकले जीप संचालक समितिको संयोजकत्वमा जीपहरुलाई क्युआर कोड वितरण गरेको छ । ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७४ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।
नबिल बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा ७० प्रतिशतसम्म कर्जा दिने
काठमाडौं । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झाैता अनुसार अशोक लेल्यान्ड ब्राण्डका सवारी साधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ । ग्राहकले याे सेवा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।
महालक्ष्मी विकासका ग्राहकलाई मनकामना केबुलकार सेवामा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले मनकामना दर्शनसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटार स्थित सञ्चालित केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले उक्त केबुलकार सेवामा १०५ को आकर्षक छुट प्राप्त गर्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।