ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्तिको खोजी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ओछ्यानमा पैसाको नोटमाथि सुत्नेको खोजी भइरहेको बताएका छन् । गभर्नर अधिकारीले ओछ्यानमा नाटक गरी पैसाको नोटमाथि सुत्ने मान्छेको खोजतलासी भइरहेको जानकारी दिएका हुन् । पछिल्लो समय बैंकमा तरलता अभाव हुँदा केही व्यक्तिहरूले सामाजिक सञ्जालमा पैसाको नोट बिछ्याएर सुतेको फोटो सार्वजनिक गरेका थिए । सोही विषयमा राष्ट्र बैंकले अनुसन्धान गरिरहेको गभर्नर अधिकारीले बताए । ‘बजारमा पैसा कहाँ गयो ? कसले लुकायो भन्छन्, कसैले ओछ्यानमा नाटक गरी पैसाको नोटमा सुतेको फोटो देखिन्छ, त्यसरी ओछ्यानमा पैसाको नोटमाथि सुत्नेलाई राष्ट्र बैंकले अध्ययन गर्दैछ,’ उनले भने । गभर्नर अधिकारीले ‘ट्रेस’ गरेर ओछ्यानमा पैसामाथि सुत्ने व्यक्तिको खोजी गरिरहेको बताए । त्यसरी पैसा माथि सत्नु गलत भएको उनको भनाइ छ । ‘त्यो विषयमा हामीले ‘ट्रेस’ गर्दैछौँ, पत्ता लगाइ रहेका छौँ, त्यसरी पैसा माथि सुत्नु गलत हो, ती व्यक्तिको खोजी गरेर छानबिन गर्ने काम भइरहेको छ,’ उनले भने । साथै पछिल्लो समय बजारमा नोटको सर्कुलेसन घटेको उनको भनाइ छ । डिजिटल भुक्तानी बढेका कारण एक खर्ब रुपैयाँ बराबरको नोट सर्कुलेसन घटेको उनले बताए । ‘पहिलाको भन्दा उल्लेख्य रुपमा सर्कुलेसन घटेको छ, डिजिटल पेमेन्टको असर धेरै राम्रो परेको छ, असार मसान्तमा सरकारको खर्च धेरै हुँदा र दशैँ तिहारमा नोटको सर्कुलेसन बढी हुन्छ तर, विगत २ वर्षदेखि नोटको सर्कुलेसन बढाउनु परेको छैन,’ उनले भने, ‘२०७८ असोजमा सबैभन्दा धेरै ७२८ अर्ब रूपैयाँ बराबरको सर्कुलेसन भएको थियो, पछिल्लो तथ्याङ्क हेर्दा ६२७ अर्ब रूपैयाँमा झरेको छ ।’
पोखरा एयरपोर्ट परिसरमा ५ वटा एटिएम मेसिन जडान गरिने
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थ परिसरमा एटिएम मेसिन जडान गरिने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय परिसरमा ५ वटा एटिएम मेसिन जडान गरिने भएको हो । आइतबार एक सूचना प्रकाशन गरी एटिएम मेसिन जडानका लागि वाणिज्य बैंकहरुलाई बोलपत्र पेश गर्न आग्रह गरेको छ । विमानस्थलको टर्मिनल भवनको आन्तरिक तर्फको बाहिर पट्टिको स्थानमा ५ वटा बैंकको एटिएमबाट सेवा दिइने भएको हो । प्रति एटिएम ५ वर्षको लागि २ लाख ८८ हजार रुपैयाँमा राख्न मिल्ने जनाएको छ । इच्छुक बैंकले सो भन्दा बढी कवोल गरी १५ दिन भित्र बोलपत्र पेश गर्न सक्नेछन् ।
अर्थमन्त्रीले सेयर बजार र घरजग्गाको विषयमा मुख खोले
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले घट्दै गएको सेयर बजारको विषयमा चिन्ता व्यक्त गरेका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री महतले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या र यसले सेयर बजार र घरजग्गा कारोबारमा सुस्तता आएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले आफुले अब अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सबै निकायहरुसँग समन्वय गरेर काम गर्ने उनको भनाइ छ । उनले वर्तमान चुनौति समाधानका लागि जस्तोसुकै निर्णय गरेर पनि अगाडि बढ्ने बताए । ‘एक्लैले केही गर्न सकिँदैन, सबैसँग सहकार्य गरेर अगाडि बढ्छु, वर्तमान समस्या समाधानका लागि मलाई सबैको सहयोग आवश्यक छ, ‘लगानीको वातावरण सुधार गर्न राष्ट्र बैंकको मूख्य भुमिका छ, राष्ट्र बैंकको पनि मलाई सहयोग चाहिन्छ, हामीले मिलेर काम गर्नु पर्छ,’ उनले भने ।