दुई बैंकको अडिटरमाथि आइक्यानले छानविन गर्ने, शुल्कमा मनोमानी गरेको आशंका

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले दुई बैंकको लेखापरीक्षक (अडिटर) माथि छानविनको तयारी गरेको छ । आइक्यानले राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको अडिटरलाई लेखापरीक्षणको शुल्कका विषयमा सोधपुछ गरेर छानविन गर्ने भएको हो । गत वर्षको तुलनामा लेखापरीक्षण शुल्क घटाएर लिन नपाउने आइक्यानको व्यवस्था छ । तर, यी दुई बैंकका अडिटरले मनोमानी ढंगले शुल्क लिएपछि आइक्यानले स्पष्टिकरण सोध्ने तयारी थालेको हो । जस्तै, अघिल्लो आर्थिक वर्ष ४० लाख रुपैयाँ तिरेर बैंकले अडिट गराएको थियो भने दोस्रो वर्ष ३९ लाखमा गर्न मिल्दैन । यस्तो अवस्थामा स्वार्थको द्वन्द हुने आइक्यान काउन्सिल सदस्य रजिष्ट्रर अडिटर (आरए) भोलानाथ पाठक बताउँछन् । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको लेखापरीक्षकले अघिल्लो वर्षको तुलनामा गत वर्ष शुल्क घटाएर लेखापरीक्षण गराएपछि ती दुई अडिटरमाथि छानविनको तयारी थालिएको हो । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७८/७९ मा २७ प्रतिशत अडिट शुल्क घटाएर ४३ लाख ९७ हजार रुपैयाँ र नेपाल बैंकले २.१३ प्रतिशत घटाएर २३ लाख ३० हजार रुपैयाँ तिरेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय वाणिज्य बैंकले ६० लाख २५ हजार रुपैयाँ र नेपाल बैंकले २३ लाख ८१ हजार रुपैयाँमा लेखापरीक्षण गराएको थियो । कुनै अडिटरले अघिल्लो वर्षको तुलनामा शुल्क घटाएर लेखापरीक्षण गराएको छ भने आइक्यानले कारवाही गर्ने आरए पाठक बताउँछन् । के कति कारणले शुल्क घटाएर लेखापरीक्षण गरिएको हो भनेर आइक्यानले छानविन गर्ने उनको भनाइ छ । ‘ब्यालेन्ससिटको फिगर घटेको छैन तर, शुल्क घटेको छ भने आईक्यानले अनुसन्धान गर्छ, यदि कुनै अडिटरले रकम घटाएर अडिट गरेको छ भने अनुसन्धान गरिन्छ, सामान्यतया अघिल्लो वर्षको तुलनामा घटाएर अडिट गर्न मिल्दैन,’ उनले भने । ‘यस्तो अवस्थामा कहीँ न कहीँ लेनदेन गरेको हुन सक्ने उनको बुझाइ छ । ‘अनुसन्धान गर्दा घटाएको पुष्टि भयो भने कारवाही हुन्छ, यदि घटाएको पुष्टि भएन भने उन्मुक्ति पाउँछ,’ उनले भने । आइक्यानको आचारसंहिता अनुसार घटेर अडिट गर्न मिल्दैन । ब्यालेन्ससिट नै घटेको छ भने मात्रै गत वर्षको भन्दा कम शुल्क लिएर अडिट गर्न पाइने उनले बताए । तर, दुवै बैंकको वित्तीय विवरण अघिल्लो आवको तुलनामा घटेको पनि देखिँदैन । आइक्यानका अध्यक्ष लालाका अनुसार लेखापरीक्षण शुल्क घटाएमा कारवाहीको भागिदार हुनु पर्ने हुन्छ । सरकारी बैंकको लेखापरीक्षण गराउन महालेखापरीक्षक कार्यालयको सिफारिसमा बैंकहरुले नियुक्त गर्ने गरेका हुन्छन् । ‘शुल्कमा अण्डर कटिङ गरेको, भोलुम बढेको तर, शुल्क कम लिएको छ भने कारवाहीको भागिदार हुन्छ,’ उनले भने । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको वार्षिक साधारणसभाबाट सेयरधनीहरुले स्वीकृत गर्ने भएपनि महालेखापरीक्षक कार्यालयबाट सिफारीस गर्ने व्यवस्था छ । राष्ट्रिय वाणिज्य बैंकले भने सिस्टम र एचआर अडिट नगरेकोले शुल्क घटेको बताइएको छ । बैंककी नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सरस्वती अधिकारीले गत वर्ष बाह्य अडिट, सिस्टम अडिट र एचआर लगायतको अडिट नगरेकोले शुल्क घटेको बताइन् । ‘बैंकहरुको धेरै प्रकारका लेखापरीक्षण हुन्छ, लेखापरीक्षण आन्तरिक र बाह्य हुन्छन्, सबैलाई एउटै शिर्षकमा राखेको हुन्छ, सिस्टम अडिट, एचआर अडिट २/२ वर्षमा गरिन्छ, सिस्टम, एचआर अडिट नगरेको हुँदा शुल्क पनि घटेको हो,’ उनले भनिन् । सम्बन्धित सामग्री : मिलेमतोमा बैंकको बदमासी ढाकछोप गर्दै अडिटर

प्रभु बैंकले ४१ वटा कार र घरजग्गा बेच्दै

काठमाडौं । प्रभु बैंक (साविको सेञ्चुरी कमर्सियल बैंक)ले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि ४१ वटा सवारी साधन र जग्गा बिक्री गरेर ऋण असुल गर्ने भएको हो । शाखा कार्यालय धनगढीबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । ऋणी दक्षीणकाली मोटोकर्प प्रालिका सञ्चालक तथा जमानीकर्ता नविन जोशी र जयलक्ष्मी जोशीले लिएको कर्जा वापत धितोमा राखेका विभिन्न कम्पनीका ४० वटा बोलेरो र स्कोरपियो बिक्री गर्ने भएको हो । साथै नबिन जोशीको नाममा रहेको साविक हसुलिया ६ स्थित कित्ता नम्बर ३१७, १४०, १४९, १५१, ३१३, १५६ र ३१९ को क्रमशः १८२२, १९४५, १८८५, ८३६०, १६४५, २१९० र ८४.६५ वर्गमिटर क्षेत्रफल भएको जग्गा, साविक फूलवारी ३ स्थित कित्ता नम्बर ४९७ को ६५६४ वर्गमिटर भएको जग्गा र जग्गाले चर्चेको घर पनि बिक्रीमा राखेको हो । यस्तै, डि.के. व्रिक इण्डष्ट्रिज प्रालिका सञ्चालक तथा जमानीकर्ता जित बहादुर चौधरी र नबिन जोशी, मुनाल मल्ल, ओम प्रकाश ड.चौधरी र मिना चौधरीको पनि धितो लिलाम गर्ने बैंकले जनाएको छ । बैंकले मिना चौधरीको नाममा दर्ता भएको साविक हसुलिया ६ स्थित कित्ता नम्बर ३१८ को १३५४५.३५ वर्गमिटर, जित बहादुर चौधरीको हसुलिया २ स्थित कित्ता नम्बर २७७, ५९१ र ७१० को क्रमशः ४९६, ८४.६५ र ४८६९.६१ वर्गमिटर, मुनाल मल्लको नाममा रहेको हसुलिया ३ स्थित कित्ता नम्बर ११०२ को ३३८.६३ वर्गमिटर भएको जग्गा र जग्गामा बनेका घर बिक्री गर्नेछ । त्यस्तै, डि.के. व्रिक इण्डष्ट्रिजको स्वामित्वमा रहेको प्र ३०१००३ क ४५०८ नम्बरको लोडर बिक्री गर्ने भएको हो ।

कुमारी बैंकले धितोमा रहेको स्कोरपियो बेच्दै

काठमाडौं । कुमारी बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको शाखा कार्यालय कुपण्डोल ललितपुरबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । ऋणी मकवानपुरको हाडीखोला ४ का बुद्धराम बलले कर्जा लिएवापत राखिएको धितो लिलाम गर्ने भएको हो । बैंक (साविक एनसीसी बैंक)धनी भई नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय विरगंजमा दर्ता कायम रहेको ना ७ ख ४३२ नम्बरको टाटा मोटर्स एमसीभि एयर बस बिक्री गर्ने भएको हो । यस्तै, बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय ललितपुरमा दर्ता कायम रहेको बा १६ च ६०३९ नम्बरको महिन्द्रा स्कोरपियो एसटू टूडब्लूडिको सवारी बिक्री गर्ने भएको हो । साथै बैंकले जमानीकर्ता रहरसिंह बलको नाममा मालपोत कार्यालय मकवानपुरमा दर्ता कायम रहेको हाडीखोला ५ स्थित कित्ता नम्बर १२२२ र १२२३ को ०-११-८-० र ०-१०-३.५ रोपनी जग्गा बिक्री गर्ने भएको हो ।