राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब बढी, खराब कर्जा घट्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ९ महिनाको अवधिमा ४ अर्ब रुपैयाँ नाफागरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४ अर्ब बढी खुद नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकले फागुनससम्म ३ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । चालू आर्थिक वर्षको ९ महिनामा बैंकको कूल निक्षेपमा समेत वृद्धि भएर ३ खर्ब रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २२ प्रतिशत बढेर २ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको बैंक स्रोतले जनाएको छ । गत आर्तिक वर्षको सोही अवधिमा बैंकसँग २ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप थियो । यस्तै, बैंकले गत वर्षको तुलनामा १६.८२ प्रतिशतले कर्जा वृद्धि गरेको छ । गत वर्ष २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा बढेर २ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ । साथै, बैंकले गत वर्षको भन्दा यस वर्ष खराब कर्जा दर पनि घटाउन सफल भएको छ । चैतसम्म खराब कर्जा २.५ प्रतिशतको हाराहारीमा रहेको बैंकले बताएको छ । अघिल्लो वर्षको चैत मसान्तसमा ३.०७ प्रतिशत खराब कर्जा थियो । चालू आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा २.७९ प्रतिशत थियो । दोस्रो त्रैमासमा यो बैंक नाफामा नम्बर वान बनेको थियो ।

तेस्रो त्रैमासमा कृषि विकास बैंकको नाफा २ अर्ब, एनपीएल १ प्रतिशतमा झार्ने लक्ष्य

काठमाडौं । कृषि विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्बभन्दा बढी खुद नाफा गरेको छ । दोस्रो त्रैमासमा ऋणात्मक रहेको बैंक तेस्रो त्रैमासमा भने नाफालाई धनात्मक गर्न सफल भएको हो । बैंकले भोलि (बिहीबार ७ गते) तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दैछ । बैंक स्रोतका अनुसार ९ महिनाको अवधिमा २ अर्ब बढी नाफा आर्जन गरेको छ । गत वर्षको चैत मसान्तसम्म बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालू आर्थिक वर्षको ९ महिनामा बैंकको निक्षेप १३ प्रतिशत वृद्धि भएको छ । चैत मान्तसम्म बैंकको निक्षेप १ खर्ब ८१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको निक्षेप १ खर्ब ६० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तै, बैंकको कर्जा २ प्रतिशत बढेको छ । चैत मसान्तसम्म बैंकले १ खर्ब ८० अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ खर्ब ७७ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकका अनुसार कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज अवस्थामा रहेको छ । चैत मसान्तसम्म बैंकको सीडी रेसियो ८५ प्रतिशतमा झारेको बैंकले जनाएको छ । बैंकको आधार दर १० प्रतिशतको हाराहारीमा छ । बैंकले गत वर्षकोभन्दा यस वर्ष खराब कर्जा दर पनि घटाउन सफल भएको छ । चैतसम्म खराब कर्जा ४ प्रतिशतमा झरेको बैंकले बताएको छ । यसअघि दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ४.५२ प्रतिशत थियो । यद्यपी गत वर्षको चैत मसान्तसम्म २.३२ प्रतिशतखराब कर्जा थियो । बैंक स्रोतका अनुसार आर्थिक वर्षको असार मसान्तमा १ प्रतिशतमा खराब कर्जा झार्ने लक्ष्य राखेको छ ।

गभर्नर अधिकारीको राजीनामा माग

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष विजय घिमिरेले गर्भनर अधिकारीको राजीनामा माग गरेका हुन् । गभर्नर अधिकारीले अर्थतन्त्र सुधारका लागि कुनै काम नगरेको भन्दै राजीनामा दिन आग्रह गरेका हुन् । उनले अर्थतन्त्र जटिल अवस्थामा गएको बताउँदै यसको सुधारका लागि सहासिलो सुधार कार्यक्रम लागू गर्ने आँट आवश्यक भएको र त्यो आँट नभएमा राजीनामा दिन आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत् उनको राजीनामा माग गरेका हुन् । ‘उनले भनेका छन्, ‘बैंक तथा वित्तीय संस्थामा संकट गहिरिएको छ, बैंकले ग्राहकलाई ऋण दिँदा लिमिटेड दायित्व होइन, अनलिमिटेड दायित्वका लागि वाध्य पारिरहेका छन्, त्यही भएर जग्गाको मूल्य वढेको छ, अर्थतन्त्रमा समस्या जटिल बन्दै छ, अहिलेको आर्थिक संकट जड नै यही हो, यो अवस्था सुधारका लागि साहसिलो सुधार कार्यक्रम लागू गर्ने आँट देखाउनु होस्, होइन भने राजीनामा गर्दा हुन्छ,’ घिमिरेले भनेका छन् । उनले अगाडि लेखेका छन्, ‘यो अवस्थबाट निस्कन साहसिक आर्थिक सुधार कार्यक्रम नै चाहिन्छ, तपाईले अहिलेसम्म गभर्नरका रुपमा जे गरिरहनुभएको छ, त्यसले केही पनि हुने वाला छैन, तपाईले खाली पदावधि थामिरहनुभएको छ, यो सरकारले तपाईलाई नियुक्त गरेको पनि होइन, पद ओगटेर समस्या समाधान हुने वाला छैन, सरकारलाई आर्थिक सुधार कार्यक्रम ल्याउन चुनौती दिएर राजिनामा दिनुहोस् ।’ सेजनका पूर्व अध्यक्ष घिमिरे अहिले अमेरिकामा छन् ।