नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बिच बैंकिङ सेवा र तालिमको लागि सम्झौता
काठमाडौं । नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानवसंशाधनको वृद्धिविकासका लागि समझदारी भएको छ । एक कार्यक्रमका बिच दुई निकायका अधिकारीले यसबारे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वाञ्चल विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गरेका छन् । यस समझदारी अन्तर्गत बैंकले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीहरूलाई बैंकिङ सेवा उपलब्ध गराउने छ र विश्वविद्यालयले मानवसंशाधनको वृत्ति विकासका लागि तालिम विकासमा सहयोग गर्ने छ । यो समझदारी दुवै संस्थाका लागि लाभदायक भएको नबिल बैंकका सिइओ ढुंगानाले बताए । ‘पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यले बैंकका कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्छ र विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पनि सहुलियतदरमा स्तरीय आधुनिक बैंकिङ सेवा पाउने भएकोले समझदारी दुबैको हितमा रहेको छ,’ ढुंगानाले भने ।
विकास बैंकहरुको नाफा एक वाणिज्य बैंक सरह पनि पुगेन, कुनको कति ?
काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा अधिकांश विकास बैंकहरुको नाफा घटेको छ । चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये ९ विकास बैंकको नाफा घटेको छ । समीक्षा अवधिमा विकास बैंकको १ अर्ब ३८ करोड अर्थात् २७.०९ प्रतिशत घटेर ३ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ मात्रै आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा विकास बैंकहरुको खुद नाफा ५ अर्ब १० करोड रुपैयाँ गरेका थिए । विकास बैंकले ९ महिनामा कमाएको कूल नाफा एक वाणिज्य बैंकको जति पनि होइन । हालसम्म १२ वटा विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये सिन्धु विकास बैंकले नोक्सानी ब्यहोर्नु परेको छ । गत वर्ष ४ करोड ३३ लाख रुपैयाँ नाफा गरेको बैंकले चालू आवको चैतमा १ करोड ४८ लाख ७५ हजार रुपैयाँ नोक्सानी ब्यहोर्नु परेको हो । यस्तै, ज्योति विकास बैंकको नाफा ६०.९० प्रतिशत घटेर २० करोड १६ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५१ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस्तै, महालक्ष्मी विकास बैंकको ४६.९४ प्रतिशत घटेर ३७ करोड ८९ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ३९.४१ प्रतिशत घटेर ३० करोड ५६ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ३८.५६ प्रतिशत घटेर २४ करोड ६१ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको २१ प्रतिशत घटेर ८० करोड ६२ लाख रुपैयाँ, गरिमा विकास बैंकको १६.९२ प्रतिशत घटेर ६५ करोड १८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ८.३१ प्रतिशत घटेर ४६ करोड ८१ लाख रुपैयाँ र मितेरी डेभलपमेन्ट बैंकको ७.५० प्रतिशत घटेर ९ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेका छन् । समीक्षा अवधिमा अधिकांश बैंकको नाफा घटेपनि ३ वटा विकास बैंकको नाफा भने बढेको छ । कर्पाेरेट डभलपमेन्ट बैंकको ७३.२९ प्रतिशत बढेर १ करोड ३० लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १४.३८ प्रतिशत बढेर ५५ करोड ४५ लाख रुपैयाँ र ग्रीन डेभलपमेन्ट बैंकको ८.५१ प्रतिशत बढेर १ करोड ३ लाख रुपैयाँ नाफा कमाएका छन् ।
लाभांश पारित गर्न कामना सेवाले बोलायो साधारण सभा
काठमाडौं । कामना सेवा विकास बैंकले १६ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सोमबार बसेको संचालक समिति बैठकले बैशाख ३१ गते साधारण सभा बोलाउने भएको हो । बैंकले साधारण सभामार्फत सेयरधनीलाई लाभांश पारित गर्नेछ । बैंकले गा वर्षको नाफाबाट सेयरधनीलाई ४.६४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस्तै, सभाले २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदनमार्फत छलफल गरी पारित गर्नेछ ।