राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन, अब कुन खातामा कति ?
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले बैशाख ८ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले बचततर्फ न्यूनतम ४.२५ प्रतिशतदेखि अधिकतम ११.७५ प्रतिशत ब्याजदर तोकेको छ । जसमा साधारण बचत खातामा ४.२५ प्रतिशतदेखि ४.५० प्रतिशत, विशेष बचतमा ४.७५ प्रतिशत, सुपर बचतमा ४.७५ प्रतिशतदेखि ५.२५ प्रतिशत तोकिएको छ । यस्तै, एनसिसिएल समुन्नत बचच खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ५.७५ प्रतिशत, एनसिसिएल प्रिमियम बचतमा ५.२५ देखि ५.५० प्रतिशत, अनिवार्य बचतमा १० प्रतिशत र क्रमिक बचतमा ९.७५ देखि १०.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ । यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम १०.७५ प्रतिशतदेखि अधिकतम ११.७५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकका अनुसार कर्जा तर्फ विभिन्न विभिन्न शिर्षकमा १०.५० प्रतिशतदेखि १३.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ ।
एनआईसी एशिया बैंकले ७ लाख १५ हजार कित्ता बेच्दै, मूल्य ३९५ रुपैयाँ
काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ७ लाख १५ हजार ९५० कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ता समेत सो मूल्य वा सो भन्दा बढी मूल्य तोकि बोलकबोल गर्नुपर्नेछ । बैंकको उक्त सेयर खरिद गर्न बैशाख १५ गतेभित्र विवरण खुलाई आवेदन दिनुपर्नेछ । बैंकको सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
माछापुच्छ्रे बैंकले धितोमा राखिएको कार बेच्दै
काठमाडौं । माछापुच्छ्रे बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको नेपालगंज शाखा कार्यालयबाट ऋणी नेपालगंज युनाइटेड हेल्थ केयर प्रालिका सञ्चालक रजनी शाही (के.सी.)लाई कर्जा चुक्ता गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंक धनी भएको ऋणी नेपालगंज युनाइटेड हेल्थ केयर प्रालिको नाममा दर्ता कायम बाग्मती प्रदेश ०१०२५ च ४०५४ नम्बरको भिटारा ब्रेजा कम्पनीको कार बिक्रीमा राखिएको हो । साथै, ऋणी नेपालगंज युनाइटेड हेल्थ केयरको नाममा मालपोत कार्यालय नेपालगंजमा दर्ता कायम रहेको नेपालगंज १४ स्थित २०५.५० वर्गमिटरका कित्ता नम्बर ५७, ५८, ५९ र ६० को जग्गा र जग्गामा बनेका घर पनि बिक्री गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।