नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा.महावीर पुन नियुक्त
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको सम्झौता अवधि पुनः १ वर्ष अवधि थप गरिएको छ । मंगलबार नेपाल बैक प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र डा. महाविर पुनका बिच उक्त ब्राण्ड एम्बास्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिङ्ग क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे । उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल बैंकको वृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडर को रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए । साथै डा. पुनले नेपाल बैंकले छनौट गरेकोमा उनीप्रति हार्दिक आभार समेत व्यक्त गरे । नेपालभर २२८ शाखाहरु, २०३ एटिएम साथै, ५२ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको छ । यो बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
सटिजन्स बैंकका ग्राहकलाई क्याट क्याफेमा छुट हुने
काठमाडौं । सिटिजन्स बैंक र क्याट क्याफेबीच समझदारी भएको छ । बैंक र क्याफेबीच ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको हो । बैंक इन्टरनेसनल र ललितपुर स्थित क्याट क्याफबीच बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले क्याट क्याफमा ५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंकले आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
कुमारी बैंकको ४ तल्ले पक्की भवन भत्काइने
काठमाडौं । कुमारी बैंकको नक्सालस्थित भवन भत्काइने भएको छ । बैंकको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका–१ नक्सालमा अवस्थित करिव ९ हजार वर्ग फिट क्षेत्रफल भएको ४ तल्ले पक्की भवन भत्काइने बैंकले जनाएको छ । बैंकको भवन पाताल गर्दा निस्कने भग्नावशेषहरु सो ठाउँबाट हटाएर जग्गा पूर्ण रुपमा सफा गर्नु पर्ने भएकाले ईच्छुक फर्म, कम्पनी, संस्था तथा व्यक्तिहरुले १५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको हो । भवन भत्काए पश्चात् निस्कने इंटा, फलामे छड, झ्याल, ढोका, इलेक्ट्रिकल फिटिङस्, बाथरूम फिटिडस् लगायत सम्पूर्ण सामाग्री भत्काउने फर्म, कम्पनी, संस्था तथा व्यक्तिले लिन पाउने बैंकले जनाएको छ । सो कार्य के कसरी सम्पन्न गर्ने हो र सो बापत बैंकलाई के कति रकम भुक्तानी गर्ने हो सम्पूर्ण व्यहोरा खुलाउनु पर्ने बैंकले बताएको छ । साथै कार्य सम्पादन गर्न लाग्ने समय समेत आवेदनमा उल्लेख गर्नु पर्नेछ । उक्त भवन भत्काउँदा आवश्यक पर्ने जनशक्ति, विद्युत व्यवस्था एवं उपकरणहरु सम्पूर्ण रुपमा सम्बन्धित आवेदक स्वयंले व्यवस्था गर्नु पर्नेछ ।