राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता, टिभिसि प्रसारण गर्ने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच २०८० सालको लागि व्यवसाय प्रवद्र्धनका लागि टिभिसि प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले हस्ताक्षर गरेका छन् । सम्झौता पछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टिभिसि नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बीचमा प्रसारण गर्नेछ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात दुबै संस्थाको व्यवसाय वृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पूग्ने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरता लगायतको कार्यक्रमलाई टेलिभिजन मार्फत नागरिकमा पु¥याउन सहयोग पूग्ने बताए । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले दुबै सरकारी संस्थाको धेरै अवस्था मिल्ने बताउँदै राष्ट्र र जनताप्रतिको दायित्व पूरा गर्न सहयोग पुग्ने बताए । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख अच्युत गौतम, कम्पनी सचिव हेमराज खरेल, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापा लगायत दुबै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
अब भारत जाँदा नेपालीले नोट साट्नुपर्ने बाध्यता हट्नेछ : गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्टमा भएको सम्झौताले दुई देशबीचको भुक्तानीमा थप सहज हुने बताएका छन् ।आईतबार आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा भएको क्रसबोर्डर डिजिटल पेमेन्टलाई सहज गर्ने गरी नेपाल क्लियरिङ हाउस (एसिएचएल) र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया (एनपिसिआई) बीच सम्झौताले नेपाल र भारत डिजिटल कारोबारमा सहजता ल्याउने बताए । ‘नेपाल र भारतबीच भएको क्रसबोर्डर डिजिटल पेमेन्ट सम्झौताले मुख्यगरी भारतबाट नेपाल आउने पर्यटकलाई रहेको पेमेन्टको समस्या हल गर्नेछ, नेपालबाट भारत जाने विद्यार्थी, उपचार गर्न जाने बिरामी, पर्यटक र तीर्थयात्रीहरु सबैलाई नोट साट्नुपर्ने बाध्यता हट्नेछ,’ उनले भने । गभर्नर अधिकारीले राष्ट्र बैंकले दुई देशबीच हुने डिजिटल भुक्तानीलाई व्यवस्थित बनाउने विषयमा होमवर्क गरिरहेको बताए । यस्तै, गभर्नर अधिकारीले राष्ट्र बैंकबाट दिनुपर्ने सहमति स्वीकृतिका लागि सहजिकरण गर्न राष्ट्र बैंकमा छुटै ट्रान्सफोर्सले काम गरिरहेको पनि बताए । उनले भारतमा भारत पे लोकप्रिय रहेको भन्दै नेपालमा पनि नेपाल पे ल्याउने तयारी रहेको जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच गत बिहीबार क्रसबोर्डर डिजिटल पेमेन्टका लागि समझदारी भएसँगै दुवै देशबीच हुने डिजिटल भुक्तानी कारोबारले मान्यता पाउने भएको हो । सम्झौतामा नेपालको तर्फबाट नेपाल क्लियरिङ हाउस लिमिटेड ९एसिएचएल०का प्रमुख कार्यकारी अधिकृत निलेश प्रधान र भारतको तर्फबाट नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया ९एनपिसिआई०का तर्फबाट रितेस शुक्लाले हस्ताक्षर गरेका थिए । एनपिसिआई भारतीय केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डियाद्वारा स्थापित संस्थान हो । नेपाल क्लियरिङ हाउस लिमिटेड ९एसिएचएल० पनि राष्ट्र बैंकको पहलमा स्थापना भएको संस्था हो ।
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ को १० खेल सम्पन्न
काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको खेल ‘लिग कम नक आउट फर्म्याट’मा खेलाइएको हो । तीन दिन चल्ने लिगको पहिलो दिनको पहिलो खेलमा महालक्ष्मी विकास बैंकले श्री इन्भेस्टमेन्ट फाइनान्सलाई ६९ रनले पराजित गरेको छ । उक्त खेलमा महालक्ष्मी विकास बैंकका सागर गुप्ता म्यान अफ द म्यान घोषित भए । दोस्रो खेलमा प्राइम कमर्सियल बैंकले सिटिजन्स बैंकलाई १४ रनले हराएको छ । उक्त खेलमा प्राइम कमर्सियल बैंकका कृतार्थ शाक्यलाई म्यान अफ द म्यानको उपाधि दिइएको छ । तेस्रो खेल राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकबीच भएको थियो । उक्त खेलमा राष्ट्रिय वाणिज्य बैंकले एनएमबीलाई ६ विकेटले हरायो । यस खेलमा राष्ट्रिय वाणिज्य बैंकका विवेक श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका थिए । चौथो खेल सनराइज बैंकले आइसिएफसी फाइनान्सलाई ४ विकेटले हराएको छ । उक्त खेलमा सनराइज बैंकका सुमन न्यौपानेलाई म्यान अफ द म्याच घोषणा गरिएको छ । पाँचौं खेलमा प्राइम बैंकले श्री इन्भेस्टमेन्ट फाइनान्सलाई १०३ रनले हराएको छ । यस खेलमा प्राइमका विवेक दली म्यान अफ द म्यान घोषित भए । त्यसैगरी, छैटौं खेलमा एनआईसी एसिया बैंकले प्रभु बैंकलाई ३८ रनले हराएको छ । उक्त खेलमा एनआइसी एसियाका दिपन कार्कीलाई म्यान अफ द म्याच घोषित गरिएको छ । सातौं खेलमा हिमालयन बैंकलाई ३६ रनले हराउँदै आइसिएफसी फाइनान्स विजेता बन्यो । यस खेलमा म्यान अफ द म्याचको उपाधि सुरज तिमिल्सिनाले पाए । आठौं खेल एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकबीच भएकोमा राष्ट्रिय वाणिज्य बैंकले एनआइसी एसियालाई १८ रनले पराजित गरेको छ । यो खेलमा राष्ट्रिय वाणिज्य बैंकका सुशील देवकोटालाई म्यान अफ द म्याच घोषित गरिएको थियो । नवौं खेल लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंकबीच भएको थियो । यो खेल कामना सेवाले ३८ रनले जितेको छ । यसमा कामना सेवाका छेतेन दोर्जी सेर्पा म्यान अफ द म्याच घोषित भए । गरिमा विकास बैंक र कुमारी बैंकबीचको १०औं खेलमा कुमारीले गरिमालाई ३ विकेटले हराएको थियो । यस खेलमा कुमारीका प्रतिज कर्माचार्यलाई म्यान अफ द म्याचको उपाधि दिइएको थियो । यो प्रतियोगितामा कुल ३१ खेल खेलिनेछ । सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरेर खेलाइएको छ । प्रत्येक समूहका उत्कृष्ट दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रतिइनिंग्समा चलिरहेको छ । प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता छ । प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डरलगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक युट्युब च्यानलमार्फत भइरहेको छ ।