कुमारी बैंकले नास आईटीमा आवद्ध कम्पनीलाई कर्जा दिने
काठमाडौं । कुमारी बैंक र सूचना तथा प्रविधि सम्बद्ध संस्थाहरुको छाता संघ (नास आईटी) बीच बैंकिङ्ग सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा कुमारी बैंकका वरिष्ठ उप-प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार कुमारी बैंकले आईटी क्षेत्रको विकास र प्रवर्धन गर्न स्थापित नास आईटीमा आवद्ध कम्पनीहरुलाई सरलीकृत कर्जा लगायत अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपलब्ध गराउने छ । सूचना तथा प्रवधि क्षेत्रसँग आवद्ध भएका संस्थाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि गर्न सरलीकृत बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ । सूचना तथा प्रविधि क्षेत्रको विकास तथा प्रवर्धनका लागि बैंक तथा संघबीच गरिएको उक्त सम्झौताले सूचना तथा प्रविधि क्षेत्रमा आवद्ध उद्यमी तथा संस्थाहरुमाझ थप उर्जा प्रदान गर्ने विश्वास जनाएको छ । नास आईटी नेपालको सूचना तथा प्रविधि क्षेत्रमा कार्यरत संस्थाहरुको एकीकृत विकासका लागि सक्रिय रहँदै आएको छ । कुमारी बैंकले हाल ३०२ शाखा सञ्जाल, २९६ एटीएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।
एनआईसी एशियाको डिजिटल प्रणालीमार्फत क्याम्पसको शुल्क भुक्तानी गर्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंकको डिजिटल प्रणालीमार्फत अब थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसमा सजिलै भुक्तानी गर्न सकिने भएको छ । बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग डिजिटाइजेसन गर्ने विषयमा छुट्टाछुट्टै समझदारी गरेको हो । सम्झौता अनुसार यी क्याम्पसका विद्यार्थीहरूले भर्ना शुल्क, सेमेस्टर शुल्क, परीक्षा तथा मासिक शुल्क, आइडी कार्ड शुल्क, प्राइओरिटी शुल्क, सर्टिफिकेट शुल्क, प्राक्टिकल शुल्क, फिल्ड रिपोर्ट शुल्क, टिचिङ प्राक्टिस शुल्क, रेकम्मेन्डेसन शुल्क वा अन्य कुनै पनि शुल्क बैंकको क्युआर कोड, मोबाइल बैंकिङ्ग एप, बैंकको वेबसाइटमा रहेको ई–सर्भिस र क्वीक पे प्लेटफर्महरू मार्फत सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार बैंकको मोबाइल बैंकिङ्ग एपबाट शुल्क भुक्तानी गर्नु परेमा एपभित्र रहेको ई–सर्भिसमा गएर क्याम्पसको नाम छनौट गर्नुपर्ने हुन्छ । त्यस्तै बैंकको वेबसाइटमा रहेको ई–सर्भिसमा ट्याब गरी क्याम्पस छनौट गरेर समेत भौतिक रुपमा क्याम्पसमा उपस्थित नभई आवश्यक शुल्क भुक्तानी गर्न सकिनेछ । साथै, क्याम्पसमा रहेको क्युआर कोड स्क्यान गरेर वा क्याम्पसले उपलब्ध गराएको क्वीक पे लिंकमार्फत पनि भुक्तानी गर्न सकिनेछ । हालसम्म यी क्याम्पसमा अध्यनरत विद्यार्थीहरूले आफ्नो शुल्क भुक्तानी गर्दा बैंक शाखामा उपस्थित भई कागजी भौचर भर्नुपर्ने, काउन्टरमा लामो लाइन लाग्नुपर्ने र बैंकले भुक्तानी जम्मा लिएको भौचर क्याम्पस प्रशासनमा बुझाउनुपर्ने बाध्यता रहेको थियो । यस सम्झौतासँगै विद्यार्थीहरूले गर्नुपर्ने कागजी काम तथा नगद बोक्नुपर्ने बाध्यता हट्दै समय र लागत कम भएको छ भने क्याम्पस प्रशासनले आफ्नो डाटा, जानकारी, आर्थिक व्यवस्थापन, अडिट तथा रिपोर्टिङ जस्ता कार्य रियल टाइममा गर्न सकिने भएको बैंकले जनाएको छ ।
सिटिजन्स बैंकको नयाँ शाखा अब काँडाघारीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा १८३ औं शाखा काठमाडौंको काँडाघारीमा संचालनमा ल्याएको छ । बुधबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोबारको सुरुवात गरिएको छ । यस संगै काठमाडौं उपत्यका भित्र बैंकको ३६ शाखा संचालनमा आएका छन् । सुबिधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पुर्याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने बैंकले जनाएको छ ।