ब्याजदर घट्न सक्छ, स्थिति सहज भएन भने पीडा त सहनै पर्छ : गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले स्थिति सहज भएमा बैंकको ब्याजदर घट्न सक्ने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘पोष्ट बजेट – अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले यस्तो बताएका हुन् । ‘बैंकदर अझै घट्छ, समयले साथ दियो भने थप घटाउन सकिन्छ,’ उनले भने- ‘तर स्थिति सहज भएन भने फेरि पीडा सहनै पर्छ ।’ बजेटको सिलिङमा हस्ताक्षर गर्ने व्यक्ति आफू पनि रहेको जानकारी गराउँदै उनले बजेटको आकार व्यापक छलफलपछि आएको बताए ।बजेटमा रिफर्मका विषय पनि आएका बताउँदै उनले त्यसमा निजी क्षेत्रको सहकार्यका विषय रहेको जानकारी गराएका छन् । ‘सहकारीमा परेको समस्या समाधानका लागि पनि केही कुरा बोलेको छ, विशिष्टिकृत नियामकको धारणा आएको छ, यसले सहकारीको प्रभावकारी नियमनमा भुमिका खेल्छ,’ उनले भने । त्यस्तै, उनले अनावश्यक संस्था खारेज तथा गाभ्ने विषय सुधारको संकेत रहेको व्यक्त गरे । आगामी वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने र सन् २०२४ मा मुल्यवृद्धि घट्ने ग्लोबल रिपोरेटले देखाएको गर्भनर अधिकारले बताए । ‘६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ, साउनभित्रै कार्यविधि आउने भनिएको छ, यसले पनि खर्च बढाउन भूमिका खेल्छ होला,’ गर्भनर अधिकारीले भने । त्यस्तै, आगामी साउन १५ गतेभित्र मौद्रिक नीति आउने बताउँदै उनले बजेट कार्यान्वयन गर्न मौद्रिक नीतिले भूमिका खेल्ने समेत बताए ।
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकले सर्वसाधारण तथा सरोकारवालाबाट राय सुझाव मागेको हो । यससँगै विभिन्न क्षेत्रका सरोकारवालाहरुले आफ्ना सुझावहरु राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ‘[email protected]’ मा पठाउन सक्नेछन् । त्यस्तै, ०१-४४१७४९७ मा फोन गरेर वा ०१–४४३३३६५ मा फ्याक्स गरेर समेत मौद्रिक नीतिका लागि सुझाव दिन सकिने बैंकले जानकारी गराएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । बैंकले नेपाल सरकारले ल्याएको बजेटका लक्ष्यहरु कायम गर्ने गरि हरेक वर्ष मौद्रिक नीति ल्याउने गरेको छ ।
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का थप १२ खेल सम्पन्न
काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फर्म्याट’मा भइरहेको स्पर्धामा ११ खेल शनिबार खेलाइएको थियो । लिगमा १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी छन् । तीन दिन चल्ने लिगको दोस्रो दिन सम्पन्न १२औं खेल प्राइम बैंकले जितेको छ । प्राइमले महालक्ष्मी विकास बैंकलाई २३ रनले हराएको हो । उक्त खेलमा प्राइमका कितार्थ शाक्य म्यान अफ द म्याच घोषित भए । प्रभु बैंकविरुद्धको १३औं खेल एनएमबी बैंकले ७ विकेटले जितेको छ । उक्त खेलमा एनएमबीका अनिल बर्तौलाले म्यान अफ द म्याचको उपाधि पाए । १४औं खेल महालक्ष्मी विकास बैंकले जितेको छ । सिटिजन्स बैंकसँगको खेल महालक्ष्मीले ४३ रनले जितेको हो । यो खेलमा महालक्ष्मीका सागर गुप्ता म्यान अफ द म्याच घोषित भए । १५औं खेलमा सनराइज बैंकले हिमालयन बैंकलाई ५ विकेटले हरायो । यो स्पर्धाको म्यान अफ द म्याचको उपाधि मनोज विष्टले पाए । १६औं खेलमा गरिमा विकास बैंकलाई ४८ रनले पछि पार्दै कामना सेवा विकास बैंक विजेता बन्यो । उक्त म्याचमा कामना सेवाका समीर क्षेत्री म्यान अफ द म्याच घोषित भए । १७औं खेलमा एनएमबी बैंकलाई १ विकेटले पछि पार्दै एनआईसी एसिया विजेता बन्यो । यस खेलमा एनआईसी एसियाका सनम धामी म्यान अफ द म्याच बने । १८औं खेल कामना सेवा विकास बैंकले कुमारी बैंकलाई ४८ रनले हरायो । यसमा कामना सेवाका रिमेश रेग्मी म्यान अफ द म्याच भए । त्यसैगरी, १९औं खेल सनराइज बैंकले ५ विकेटले जित्यो । यसमा सनराइज र माछापुच्छ्रे बैंकबीच प्रतिस्पर्धा भएको थियो । म्यान अफ द म्याचको उपाधि सनराइजका मनोज विष्टले पाए । २०औं खेलमा कुमारी बैंकलाई २ रनले हराउँदै लुम्बिनी विकास बैंक विजेता बन्यो । यसको म्यान अफ द म्याच लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान भए । २१औं खेलमा माछापुच्छ्रे बैंकले आईसीएफसी फाइनान्सलाई ५ विकेटले हरायो । यसमा माछापुच्छ्रेका श्रीजन सुवेदीले म्यान अफ द म्याचको उपाधि पाए । त्यस्तै २२औं खेल सिटिजन्स बैंकले ४ विकेटले जितेको छ । २२औं खेलका प्रतिस्पर्धी सिटिजन्स बैंक र श्री इन्भेस्टमेन्ट फाइनान्स थिए । २२औं खेलको म्यान अफ द म्याच सिटिजन्सका सुमन पोखरेल भएका थिए । २३औं खेल लुम्बिनी विकास बैंकले १८ रनले जित्यो । यसमा लुम्बिनी र गरिमा विकास बैंकबीच प्रतिस्पर्धा भएको थियो । २३औं खेलको म्यान अफ द म्याच लुम्बिनीका देव साह बने । यस प्रतियोगिताका ३१ मध्ये २३ खेल सम्पन्न भएका छन् । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरेर खेलाइएको छ । प्रत्येक समूहका उत्कृष्ट दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रतिइनिंग्समा चलिरहेको छ । प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता छ । प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डरलगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका सम्पूर्ण खेलको प्रसारण बैंकको आधिकारिक युट्युब च्यानलमार्फत भइरहेको छ ।