शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट अवार्ड जितेको हो । इण्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र नेपाल गरी ६ देशका बैंक तथा वित्तीय संस्थाहरुले अवार्डका आवेदन दिएका थिए । अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सुचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन,कुल ब्याज खर्च,शुल्कमा आधारित आम्दानी,सञ्चालन खर्च,कर पछिको खुद नाफा,प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सुचकहरुमा उत्कृष्ट भएको थियो । अवार्ड छनोटको निर्णायकमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त प्राइसवाटरहाउस कुप (पीडब्लुसी ) रहेको थियो । पीडब्लुसीको उपस्थिति विश्वका १५० देशका ७ सय स्थानमा रहेको छ । उक्त अवार्ड भारतको गोवामा शनिबार वितरण गरिएको थियो । उक्त अवार्ड शाइन रेसुंगा डेभलपमेन्ट बैंकका ब्राण्डिङ हेड प्रभास राईले ग्रहण गरेका थिए । स्थापनाकालदेखि नै इथिकल बैकिङको मूल्य मान्यतामा अगाडि बढेकाले अहिले इमर्जिङ एशिया बैकिंङ अवार्ड प्राप्त गर्न सफल भएको र यसबाट बैंकको उचाई थप माथि पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । ‘अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक,कर्मचारी, निक्षेपकर्ता, कर्जा लिएका सर्वसाधारणदेखि उद्योगी व्यवसायी सबैको योगदान र सहयोग छ’–पौडेलले भने । शाइन रेसुंगा डेभलपमेन्ट बैंक बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो ।  बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा छन् ।

प्रभु बैंकले १५ सय उद्यमी र साना किसानलाई सहुलियतपूर्ण कर्जा दिने, ७ जनाले पाए ४० लाख रुपैयाँ

काठमाडौं । प्रभु बैंकले युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ वित्तीय कर्जा दिने भएको छ । जसको लागि बैंकले हेफर इन्टरनेशनल नेपालबीच सम्झौता गरेको छ । बैंकले नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थासँग सहकार्यमा किसानहरूलाई सहुलियतपुर्ण कृषि कर्जा दिने भएको हो । नुवाकोटको बट्टारमा एक कार्यक्रम बिच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह-निर्देशक प्रकाश कटुवाल, प्रभु बैंकका ग्लोवल मार्केट्स प्रमुख सुजिन शाक्य र माईक्रो फाईनान्स विभाग प्रमुख प्रविन कुमार दहालले संयुक्त रुपमा पञ्चकन्या गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशिलतामा काम गरीरहेका उद्यमीहरुलाई प्रभु बैंकको बट्टार शाखा कार्यलयबाट ४० लाख रुपैयाँको सहुलियतपूर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरीएको छ । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तेज बहादुर तामाङले पञ्चकन्या गाउँपालिकाका किसानहरूलाई प्रभु बैंकले ठुलो गुण लगाएको र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह समेत गरेका छन् । उक्त सम्झौता अनुरुप हेफर इन्टरनेशनल नेपालका तर्फबाट प्रर्वधित सहकारीहरुले सहुलियतपूर्ण ऋण लिन ईच्छुक उद्यमीहरूको पहिचान गरि कर्जा लिन योग्य उद्यमीहरूलाई बैंकमा सिफारिस गर्नेछन् । त्यसैगरि स्थानिय सरकारले कर्जा सदुपयोगको अनुगमन गरि आवश्यक अन्य व्यवसायिक विकासका सेवाहरु प्रदान गर्न सहयोग तथा सहजिकरण गर्ने छ । हेफर ले ४४ जिल्लाका करिव ४ लाख पिछडीएका गरिव परिवारहरुलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम संचालन गर्दै आएको छ । यस संस्थाले हालसम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरु मार्फत वित्तीय पहुँच पुरÞ्याउन सहजिकरण गर्दै आएको छ । उक्त सम्झौता अनुरुप बैंकले करिब १५ सय उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने छन् : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आईरहँदा अर्थमन्त्री महतले सो आश्वासन दिएका हुन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौंले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास समेत व्यक्त गरे । अर्थमन्त्री महतले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई बैंकको ब्याजदर घटने कुराले ठूलो राहत हुने बताए । ‘यो अहिलेको जुन ब्याजदर छ, त्यो ज्याँदा छ, त्यसकारण त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु, सायद केही न केही सम्बोधन होला, त्यसले गर्दाखेरी यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ, केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ,’ डा. महतले भने । अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक वस्तुहरुको खपतमा जोड दिनु पनि आम उपभोक्तालाई आग्रह गरे । उनले कृषिबस्तुको खपत र रोजगारी सृजनाको क्षेत्रमा राम्रो काम गरेको भन्दै क्याटरिङ व्यवसायीहरुको पनि प्रशंशा गरे । अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको पनि दोहोर्याए । उनले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराए । अर्थमन्त्री महतले भने, ‘अहिले हामीले बजेट प्रस्तावमा आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने । चाँहे उद्योग व्यवसाय होस् । चाहे कृषिजन्य व्यवसाय होस् । त्यसलाई प्रोत्साहन दिने । हरेक चिज हामी आयातित वस्तुमा मात्रै निर्भर हुने जुन परिस्थिति छ । त्यसलाई अन्त्य गरेर देश भित्रका कृषकहरु, कृषि व्यवसायमा लागेकाहरुलाई प्रोत्साहन गर्ने हामीले नीति लिएका छौं । एक तहको संरक्षण दिने नीति लिएका छौं । र, अनुदान पनि हामीले उत्पादनको आधारमा दिने व्यवस्था गरेको छौं । त्यसको दूरपयोग भयो भनेर उत्पादन जसले गरेर देखाउँछ, त्यसको आधारमा अनुदान दिने नीति पनि लिएका छौं ।’ अर्थमन्त्री महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने चाहेको र सोही अनुसारको व्यवस्था बजेटमा नै उल्लेख गरिएको दावी समेत गरे ।