सिद्धार्थ बैंकले डेढ लाख कित्ता सेयर बेच्दै
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी मदनलाल केडियाको नाममा रहेको १ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । सेयर खरिद गर्न इच्छुकले बैंकका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
असार २९ देखि एकीकृत कारोबार गर्दै लक्ष्मी सनराइज बैंक, २ दिन बैंक बन्द
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति असार २९ गतेका लागि तय भएको छ । दुई बैंकबीच असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुने जनाएको छ । यसअघि मर्जरपछि बन्ने बैंकको कारोबार असार २४ गतेका लागि तोकिएको थियो । उक्त अवधिमा कर तिर्नका लागि बैंक बन्द नगर्नु पर्ने भएकाले असार २८ गतेदेखि एकीकृत कारोबार गर्ने भनेका थिए । पुनः सो समय पनि परिवर्तन गरेर असार २९ गतेका लागि समय निर्धारण गरिएको बैंकले जनाएको छ । एकीकृत कारोबार प्रयोजनका लागि दुवै बैंकको डाटा माइग्रेसनको काम गर्नु पर्ने भएकाले असार २७ गते र २८ गते दुई दिन दुवै बैंकको सम्पूर्ण सेवा बन्द रहनेछन् । राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेसँगै एकीकृत कारोबारका लागि बाटो खुला भएको हो । लक्ष्मी बैंकका सीईओ अजयबहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा। मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । तर, सञ्चालक दिनेश पौड्याल भने बाहिरिने छन् । मर्जरपश्चात् बस्ने पहिलो बैठकले बैंकको अध्यक्षमा रमण नेपाललाई चयन गर्नेछ । यस्तै, सनराइज बैंकबाट इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । सनराइज बैंकबाट हालका अध्यक्ष मोतिलाल दुगडलाई सञ्चालक पदका लागि सिफारिस भएपनि उनी सञ्चालक बन्न पाउने छैनन् । तर, मर्जरपछि बस्ने पहिलो बैठकमा भने दुगड उपस्थित हुनेछन् । त्यसपछि उनको सट्टा अन्य ब्यक्तिलाई सञ्चालक पदमा पठाउने कि रिक्त राख्ने भन्ने बैठकले निर्णय गर्नेछ । यदि अन्य ब्क्तिलाई सञ्चालक बनाएमा इन्जिनियर शैलेन्द्र गुरागाईं, शारदा शर्मा र दिपक नेपालमध्ये एक जना सञ्चालक बन्ने छन् । दुबै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिसकेका छन् । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
लुम्बिनी विकास बैंकको १६औं बार्षिकोत्सव सम्पन्न
काठमाडौं । लुम्बिनी विकास बैंकले १६ औं बार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, टोखा नगरपालिका वडा नं. ७ बसुन्धरा, धापासीमा अवस्थित ‘पवित्र समाज सेवा नेपाल’मा आश्रित कलेज तथा विद्यालयमा अध्ययनरत असहाय बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । साथै, यस विकास बैंकले बार्षिकोत्सवकै उपलक्ष्यमा संस्थामा २० वर्ष भन्दा बढि विभिन्न तह र जिम्मेवारीमा रहि सेवा प्रदान गरेका १२ जना कर्मचारीहरुलाई सम्मान गरेको छ । सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु र व्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले संयुक्त रुपमा कर्मचारीलाई दिर्घसेवा पदक र मायाको चिनो प्रदान गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उपस्थित सम्पूर्णमा शुभकामना सहित स्वागत मन्तब्य राखेका थिए । अध्यक्ष चिन्तामणी भट्टराईले सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीहरुलाई शुभकामना तथा बधाई दिए । हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ८९ वटा शाखाहरु तथा १ वटा एक्सटेन्सन काउन्टर मार्फत कारोबार गर्दै आएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।