सिटिजन्स बैंकको सञ्चालकमा पूर्व सीईओ अर्याल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले अर्याललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि.) बाट बैंकिङ्ग करियर शुरु गरेका नवनियुक्त स्वतन्त्र सञ्चालक अर्याल विगत ३२ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा संलग्न छन् । उनीसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ७ वर्षको कार्यअनुभव समेत रहेको छ । त्रिभुवन विश्व विद्यालयवाट एम.बि.ए. हासिल गरेका उनले स्वदेश तथा विदेशमा गरी दर्जनौ बैंकिङ्ग सम्बन्धी विशेष प्रशिक्षण लिएका थिए । साथै, उनीसँग लेखा परीक्षण तथा प्राध्यापनको समेत अनुभव रहेको छ । यसअघि बैंकको स्वतन्त्र संचालकमा नेपाल सरकारका पूर्व सचिवद्वय बालकृष्ण प्रसाई तथा अवनिन्द्र श्रेष्ठ एवम् प्रतिष्ठित वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतहरु सुदेश खालिङ्ग तथा अनिल ज्ञवालीले समेत योगदान गरेका थिए । नयाँ स्वतन्त्र सञ्चालक अर्यालको नियुक्तिमा बैंकलाई सुशासन तथा बैंकिङ्ग जग थप मजवुत बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल १८९ वटा शाखा, १४९वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

कम्प्युटर सुरक्षा दिवसको अवसरमा एसबिआई बैंकका कर्मचारीले गरे प्रतिज्ञा

काठमाडौं । ‘कम्प्युटर सुरक्षा दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूले कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने प्रतिज्ञा गरेका छन् । कर्मचारीहरुले बैंकको नीतिअनुरुप कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका हुन् । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराएका हुन् । सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेन्द्र कांत, र अन्य उच्च पदाअधिकारीहरूको उपस्थिति थियो । सन् १९८८ देखि विश्वभर कम्प्युटर सम्बन्धी सुरक्षा चासो जगाउने उद्देश्यले हरेक नोभेम्बर ३० तारिखका दिन ‘कम्प्युटर सुरक्षा दिवस’ मनाइँदै आएको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट

काठमाडौं । सिटिजन्स बैंकमा ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट हुने भएको छ । बैंक र नयाँ बानेश्वर स्थित इन्द्रेणी सुइट होटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले इन्द्रेणी सुइट होटलमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी फैलिएका आफ्ना १८९ वटा शाखा, १४९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।