माछापुच्छ्रे बैंकको सीईओमा पुनः कोइराला नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सन्तोष कोइराला नियुक्त भएका छन् । पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ कोइरालालाई थप अर्को कार्यकालका लागि नियुक्त गरेको हो । यससँगै उनले थप ४ वर्ष कम्पनीको सीईओको कार्यभार सम्हाल्ने छन् । साढे २ दशकभन्दा लामो अनुभव बटुलेका सीईओ कोइराला आफ्नो करियरको छोटो समयमा नै सफल बैंकरको रुपमा चिनिएका छन् । आफ्नो पहिलो कार्यकालमा कोइरालाले माछापुच्छ्रे बैंकको वित्तीय सूचकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मारेका बैंकले जानकारी गराएको छ । साथै, उनले बैंकलाई संस्थागत सुशासनमा अब्बल सावित गराएका बैंकको दावी छ ।
ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिषा इन्टरनेशनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले हालैमात्र भिषासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ । क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि नेपालमै पहिलो रहेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।
नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच व्यवसायिक सम्झौता
काठमाडौं । नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच व्यवसायिक सम्झौता भएको छ । नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर बैंकको ग्राहकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ । यस साझेदारी अन्तर्गत, बैंकका ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागी वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्नका लागी उपाय बिजनेश सोलुशन्सको सेवा लिने छन् । उपायले व्यवसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउनेछ । नबिल बैंक, प्रमुख एसएमई, एमएफ र एसबी प्रमुख अमित श्रेष्ठ तथा उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, प्रमुख एसएमई, एमएफ र एसबी अमित श्रेष्ठले भने, ‘नबिल बैंक, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि आकर्षक ब्याजदरमा यथाशिघ्र ऋण उपलब्ध गराउनुका साथै विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेकोछ। हामीलाई आशा छ कि यो साझेदारीले साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापन पूर्णता प्रधान गर्नेछ।’ उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले भनिन्, ‘नबिल बैंकसँगको सहकार्यले उद्यमीहरूलाई निकै फलदायी हुनेछ।’ उनले थपीन्, ‘उपायले कर्जा सम्बन्धी सेवाहरूका साथै वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन सम्बन्धी व्यवसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएकोछ र यो साझेदारीले पनि थप मद्दत पुर्याउनेछ।’