महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

काठमाडौं । महालक्ष्मी विकास बैंकले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आइतबार बैंकले आफ्नो आधिकारिक वेबसाइटमार्फत उक्त क्यालेन्डर प्रकाशन गरेको हो । बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्बिरहरू मार्फत् सकारात्मक सन्देश प्रदान गर्दै यस वर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहक समक्ष ल्याएको हो । उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्बिरहरूमध्येका उत्कृष्ट १२ तस्बिरहरू समावेश गरिएको छ । मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरुलाई जानकारी राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ । ग्राहकले उक्त क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेबसाइटमार्फत डाउनलोड गर्न सक्नेछन् ।

गरिमा विकास बैंकको ब्लु डायमण्ड सोसाइटीमा वित्तीय जागरण कार्यक्रम

काठमाडौं । ‘वित्तीय जागरण, आजको आवश्यकता’लाई मूल नारा बनाई गरिमा विकास बैंकले ब्लु डायमण्ड सोसाइटीका एलजीबीटीक्यू समूहलाई लक्षित वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ । बैंकको चाबहिल शाखाद्वारा आयोजित कार्यक्रममा उपस्थित सहभागीहरूलाई उत्प्रेरणा दिँदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रडबारे सचेतना, विभिन्न प्रकारका बचत, कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरूको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको हो । कार्यक्रममा उपस्थित सहभागीहरूलाई यस कार्यक्रमले वित्तीय ज्ञान प्रदान गर्ने र आत्मनिर्भ बन्न सघाउ पुर्‍याई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पार्ने बैंकले विश्वास लिएको छ । कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीको तर्फबाट अध्यक्ष शीतल पिंकी गुरुङको उपस्थिति रहेको थियो भने गरिमा विकास बैंकको तर्फबाट जोखिम व्यवस्थापन विभाग प्रमुख दीपक राज भण्डारी, लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल, चाबहिल शाखा प्रमुख ईक्षा भण्डारी र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकहरूले संकलन गरे ४ खर्ब निक्षेप, हायर पर्चेज कर्जा २०.३ प्रतिशत घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ७ महिनामा झण्डै ४ खर्ब रुपैयाँ बराबरको निक्षेप गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को माघसम्म बैंकहरूको निक्षेप ७ प्रतिशत बढेर ३ खर्ब ९७ अर्ब २० करोड संकलन गरेका हुन् । गत वर्षको सोही अवधिमा बैंकहरूले २ खर्ब ५३ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । वार्षिक बिन्दुगत आधारमा माघसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.४ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । कुल निक्षेपमा चल्ती निक्षेपको अंश ६.२ प्रतिशत, बचतको अंश २७.४ प्रतिशत र मुद्दती निक्षेपको ५९.८ प्रतिशत हिस्सा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चल्ती अंश ७.८ प्रतिशत, बचत अंश २५.८ प्रतिशत र मुद्दती निक्षेपको ६०.१ प्रतिशत रहेको थियो । साथै, कुल निक्षेपमा संस्थागत निक्षेपको अंश अघिल्लो वर्ष ३६.६ प्रतिशत रहेकोमा गत माघसम्म ३६.४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रमा कर्जा प्रवाह ४.१ प्रतिशत बढाएर १ खर्ब ९७ अर्ब २१ करोड रुपैयाँ गरेका छन् । गत वर्षको सोही अवधिमा १ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । वार्षिक बिन्दुगत आधारमा माघसम्म मा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ । निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.५ प्रतिशत र ३५.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२ प्रतिशतले, विकास बैंकहरुको ३.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.० प्रतिशतले बढेको छ । माघ मसान्तसम्म ११.६ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.६ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.२ प्रतिशत र ६७.३ प्रतिशत रहेको थियो । ७ महिनाको अवधिमा कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.० प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १४.० प्रतिशत, नगद प्रवाह कर्जा २६.० प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ११.१ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.२ प्रतिशत र मार्जिन प्रकृतिको कर्जा ११.६ प्रतिशत बढेको छ भने अधिविकर्ष कर्जा ४२.३ प्रतिशत (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा २०.३ प्रतिशत घटेको छ ।