ज्योति विकास बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरताका विभिन्न कार्यक्रम

काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनी वीक २०२४ अभियान अन्तर्गत वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकले चैत्र ०५ गते देखि ११ गते सम्म मनाइएको ग्लोबल मनी विक अभियान अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । ग्लोबल मनी विक २०२४ को मुख्य नारा ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फीयुचर’ भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा एक सप्ताहसम्म बैंकले विभिन्न शाखाहरु मार्फत देशका विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो । सो कार्यक्रम अन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयहरु अन्तर्गत रहेका विभिन्न शाखा कार्यालयहरु मार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यहरु, वित्तीय अनुशासन, आवश्यकता तथा चाहनाहरु, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवाहरू, नगद रहित कारोबार, धितोपत्र बजार, विद्युतीय ठगी, सम्बन्धी ज्ञान लगायतका विषयहरूलाई समावेश गरी १० वटा भन्दा बढी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । साथै, बैंकले ग्लोबल मनी विक अवधि भर बैंकका सामाजिक सञ्जालहरुमा प्रकाशित गर्ने तथा प्रभात फेरी कार्यक्रमहरु आयोजना गरि विभिन्न वित्तीय सूचनाहरु पनि प्रवाह गरेको छ । फलस्वरूप बैंकका यस्ता कार्यक्रमहरुले वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने तथा सानै उमेरदेखि बालबालिका र युवाहरूमा वित्तीय साक्षरता प्रवद्र्धन गर्ने, उनीहरूलाई वित्तीय निर्णयहरू लिन र भविष्यमा सक्षम नागरिक बन्न आवश्यक ज्ञान, सीप र व्यवहारले सशक्त बनाउने उद्देश्यमा स्पष्ट योगदान पुर्याउने बैंकको विश्वास रहेको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ । ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ए.टि.एम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनि सप्ताह २०२४

काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनी वीक २०२४ माछापुच्छ्रे बैंकले भव्य रुपमा मनाएको छ । ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्यूचर’ भन्ने मुल नाराका साथ मार्च १८ तारिख देखि २४ तारिखसम्म परेको ग्लोबल मनी वीक २०२४ अन्तर्गत  माछापुच्छ्रे बैंकले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो । बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल, कलेज, क्लवहरुसंग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरी ग्लोबल मनी वीक २०२४ भव्य रुपमा मनाएको हो । सो अवधिमा बैंकले बैंकिङ्ग सम्बन्धि आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकहरुले प्रदान गरिरहेका डिजिटल सेवाहरु, डिजिटल सेवाहरुको प्रयोग गर्दा अपनाउनुपर्ने सचेतना, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा, रेमिट्यान्स, गैरकानुनी रुपमा गरिने हुण्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको थियो । ग्लोबल मनी सप्ताह सन् २०१२ देखि प्रत्येक बर्षको मार्च महिनामा यूवा तथा बालबालिकाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ । सोही अनुरुप युवा अवस्थादेखि पैसाको व्यवस्थापन गर्न सिक्न, भविष्यका लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पुर्याउने मद्दत गर्ने विश्वासका साथ बैंकले हरेक वर्ष ग्लोबल मनी सप्ताह मनाउदै आएको छ । बैंकले आम ग्राहक वर्गलाई लक्षित गर्दे यस अघि पनि विभिन्न समयमा विभिन्न माध्यमहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आईरहेकोछ ।

महालक्ष्मी विकास बैंकको ग्लोबल मनि विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले ग्लोबल मनि विक २०२४ को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उदेश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जाल मार्फत विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरु प्रसारण गरेको छ । बैंकले देशका विभिन्न जिल्लाका स्थानिय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरुमा विद्यार्र्थीहरु, स्थानीय युवाहरुका साथै रोजगार व्यक्तिहरु, किसान, लघु, साना तथा मझौला उद्यमीहरु, दैनिक ज्यालादारीहरु, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, महिलाहरु तथा विप्रेषण प्रापकहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमहरुबाट करिब हजार मानिसहरुलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतिय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ । त्यस्तै बैंकले ग्लोबल मनि विक २०२४ को अवसरमा विभिन स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकको लुम्बिनी र मधेस प्रदेशद्वारा सञ्चालित उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो । त्यस्तै बैंकले विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरु जस्तैः विद्युतीय भुक्तानी, वित्तीय ठगी, सर्वजनिक वाईफाई प्रयोग गर्दा हुनसक्ने जोखिम सम्बन्धित निर्माण गरी सामाजिक सञ्जाल मार्फत प्रसारण गरी ग्लोबल मनि विक २०२४ को सप्ताह सफलतापूर्वक सम्पन्न गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारीरुपमा निरन्तरता दिने कुरा जनाएको छ ।