४ महिनामा फाइनान्स कम्पनीको खुद नाफा साढे २१ करोड, ६ वटा घाटामा
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को ४ महिनामा फाइनान्स कम्पनीहरूले २१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा ११ वटा फाइनान्स कम्पनीले खुद नाफा आर्जन गर्दा ६ कम्पनी भने घाटा व्योहोरेका छन् । साउनमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने कम्पनीमा प्रोग्रेशिभ फाइनान्स रहेको छ । प्रोग्रेशिभले १५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा मन्जुश्री फाइनान्सले १५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसैगरी, आईसीएफसी फाइनान्सले ८ करोड ४६ लाख, सेन्ट्रल फाइनान्सले ५ करोड ९ लाख, गोर्खाज फाइनान्सले ३ करोड ६१ लाख र मल्टीपर्पज फाइनान्सले २ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । घाटा व्योहोर्ने कम्पनीको अग्र स्थानमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स रहेको छ । गुहेश्वरीले कार्तिकमा १४ करोड ५७ लाख घाटा व्योहोरेको छ । यसैगरी, रिलायन्स फाइनान्सलाई १० करोड ५६ लाख, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई ८ करोड १७ लाख, पोखरा फाइनान्सलाई समान ६ करोड ४३ लाख, समृद्धि फाइनान्सलाई २ करोड ६४ लाख र वेस्ट फाइनान्सलाई २ करोड ३३ लाख रुपैयाँ घाटा लागेको छ । कुन कम्पनीलाई खुद नाफा/घाटा कति ?
सिटिजन्सको नेतृत्वमा ४१ मेगावाटको संखुवाखोला जलविद्युत बन्ने, ४ बैंकको ६.१५ कर्जा अर्ब लगानी
काठमाडौं । सिटिजन्स बैंकको वित्त व्यवस्थापन नेतृत्वमा संखुवाखोला जलविद्युत परियोजना बन्ने भएको छ । संखुवाखोला जलविद्युत परियोजनामा सिटिजन्ससहित विभिन्न ४ बैंकले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युतमा सिटिजन्स बैँक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक र सानिमा बैंकले ऋण लगानी गर्ने भएका हुन् । परियोजनाको अनुमानित लागत करीब ८ अर्ब २० करोड रुपैयाँमध्ये बैंकहरूले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ६ अर्ब १५ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्ने जनाएको छ । सिटिजन्स बैंकले २ अर्ब ९० करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब २५ करोड रुपैयाँ र सानिमा बैँकले ७५ करोड रुपैयाँ लगानी गर्ने सहमति भएको छ । साथै, २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरूबाट जुटाइने छ । उक्त परियोजना आगामी ४ वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ भने निर्माण सम्पन्नपश्चात् उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको संखुवासभा स्थित सित्तलपाटी सब स्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घन्टा र बर्षायाममा १६५.८८८ गिगावाट गरी बार्षिक २४०.९२९ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । प्रवद्र्धक कम्पनी गुराँस हाईड्रो लिमिटेड रं लगानीकर्ता बैँकहरूबीच वित्तीय व्यवस्थापनका लागि मंसिर २४ गते सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजना कोशी प्रदेश, संखुवासभा जिल्ला, सिलिचोङ गाँउपालिका र भोजपुर जिल्ला, साल्पा सिलिचाछो गाँउपालिकमा निर्माण हुनेछ । सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकल लगानीका आयोजनामा लगानी गर्दै आएको बताए । साथै बैंकको अगुवाई, सहअगुवाई तथा अन्य बैंकहरूसँगको सहवित्तीयकरण कर्जामार्फत् जलविद्युत लगायत हरित उर्जा क्षेत्रमा लगानी गर्दै आएको उनको भनाइ छ । बैंकिङ्ग क्षेत्र एवं स्वतन्त्र उर्जा उत्पादकहरूको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा नीजि क्षेत्रको ठूलो योगदान रहेको उनले बताए । हालसम्म निर्माण सम्पन्न भएका १२४.५४१ मेगावाट क्षमताका १३ वटा आयोजना र निर्माणाधिन ५१६.५७४ मेगावाट क्षमताका १६ वटा आयोजनासहित कुल ६४१.११५ मेगावाट क्षमताका २९ वटा आयोजनामा सिटिजन्स बैंकको लगानी रहेको छ । बैंकले हालसम्म १५ वटा हाइड्रो पावर आयोजनामा अगुवाई बैंक, २ वटा हाइड्रोपावर आयोजनामा सहअगुवा बैंक, ९ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक र ३ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ । गुराँस हाइड्रोका अध्यक्ष शिव प्रसाद घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताए । हालसम्म नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी सकेकाले आयोजना तत्काल निर्माण कार्य अघि बढ्ने र समयमा सम्पन्न हुने उनले बताए ।
एनएमबि बैंकको बैंकिङ्ग सेवा अवरुद्ध हुने
काठमाडौं । एनएमबि बैंकको सेवा अवरुद्ध हुने भएको छ । डाटा सेन्टर सम्बन्धि कार्य गर्नुपर्ने भएकाले बैंकको सेवा अवरुद्ध हुने भएको हो । बैंकका अनुसार बैंकले प्रयोग गरिरहेको डाटा सेन्टर अपडेट सम्बन्धी कार्य गर्नका लागि मंसिर २८ गते शुक्रबार साढे १० बजेदेखि मंसिर २९ गते शनिबार बिहान साढे १० बजेसम्म सेवा अवरुद्ध हुने छन् । सो समयमा बैंकबाट जारी गरिएका कार्ड, एटीएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, आईपीएस तथा कल सेन्टर सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।