मनोकामना मनिचेञ्जरको इजाजत रद्द, भारतीय रूपैयाँ खरिद-बिक्रीमा बदमासी
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरिदिएको छ । राष्ट्र बैंकले मनोकामना मनिचेञ्जर वीरगञ्ज प्रालिको इजाजतपत्र रद्द गरिदिएको जनाएको छ । नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ चौंथो संशोधनसहितको विनियम १९ को उपविनियम ३ मा भएको व्यवस्थाबमोजिम इजाजतपत्र रद्द गर्ने निर्णय भएको नेपाल राष्ट्रले उल्लेख गरेको छ । अब उप्रान्त सो मनिचेञ्जरसँग कुनै पनि कारोवार नगर्न/नगराउन राष्ट्र बैंकले अनुरोध गरेको छ । राष्ट्र बैंकको वीरगञ्ज कार्यालयबाट भारतीय रूपैयाँ खरिद-बिक्री गर्नका लागि उक्त कम्पनीलाई इजाजतपत्र प्रदान गरेकाे जनाइएको छ ।
समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापनका लागि तिम्सिना छनौट, माघ २ गतेभित्र नियुक्ति लिनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापनका लागि राजेन्द्रप्रसाद तिम्सिनालाई छनौट गरेको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै उक्त कम्पनीको व्यवस्थापनका लागि तिम्सिनालाई छनौट गरेको हो । यस्तै, राष्ट्र बैंकले छनौट भएका तिम्सिनालाई नियुक्ति लिनका लागि माघ २ गतेभित्र राष्ट्र बैंकको वित्तिय संस्था सुपरिवेक्षण विभागमा सम्पर्क गर्न भनेको छ । यदि माघ २ गतेभित्र नियुक्ति लिनका लागि तिम्सिना उपस्थित नभएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ । तिम्सिनाका साथै राष्ट्र बैंकले अन्य २ जनाको नाम वैकल्पिकमा राखेको छ । वैकल्पिकको पहिलो नम्बरमा रामप्रताप यादव छन् भने दोस्रो नम्बरमा प्रकाश घिमिरे रहेका छन् । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापनका राष्ट्र बैंकले एक जना माग गर्दै मङ्सिर १२ गते दर्खास्त खुलाएको थियो। त्यसको लागि परेका आवेदनहरूमध्येबाट ४ जनाको आवेदन स्वीकृत भएको जनाइएको छ। प्रकाश घिमिरे, कुमार अधिकारी, राम प्रताप यादव र राजेन्द्रप्रसाद तिम्सिनाको आवेदन फारम स्वीकृत भएका मध्ये कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्तापछि राष्ट्र बैंकले फाइनान्सको व्यवस्थापन तथा सञ्चालनको लागि तिम्सिनालाई छनौट गरेको हो । राष्ट्र बैंकले तिम्सिनालाई माघ २ गतेभित्र सम्पर्क गर्न अनुरोध गरेको छ । यदि उनले माघ २ गतेभित्र नियुक्ति लिन नगएमा राष्ट्र बैंकले वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने छ। वैकल्पिक उम्मेदवारमा रामप्रताप यादव र प्रकाश घिमिरे रहेका छन् । राष्ट्र बैंकले सो पदको लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी लेखासम्बन्धी कार्यमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको वा चार्टर्ड एकाउण्टेन्सी (सीए) पास गरी ५ वर्षको कार्य अनुभव हासिल गरेको लेखा विज्ञले आवेदन दिन सक्ने जनाएको थियो । नियुक्त भएका उम्मेदवारले करसहित १ लाख ३ हजार ६ सय रुपैयाँ मासिक पारिश्रमिक प्राप्त गर्नेछन्। दशैंखर्चवापत एक महिनाको पारिश्रमिक बराबरको रकम र भैपरिआउने बिदा वार्षिक १२ दिनसम्म प्रदान गर्नेछ । छनौट भएका उम्मेदवारले नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको रामशाहपथस्थित कार्यालयमा काम गर्नु पर्ने छ।
कुमारी बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । कुमारी बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले आफ्नो २४औँ वार्षिक साधारणसभा माघ २१ गतेका लागि बोलाएको हो । सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा विहान ११ बजेदेखि हुनेछ । साधारणसभा प्रयोजनाका लागि माघ ११ गते बुक क्लोज हुनेछ । साधारणसभामा हुने छलफलका विषय यसप्रकार छन् १. सञ्चालक समितिको आव २०८०/८१ वार्षिक प्रतिवेदन पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/०८१ को वार्षिक आर्थिक विवरण २०८१ आषाढ मसान्तसम्मको वासलात, आव २०८०/०८१ को नाफानोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु पारित गर्ने । ३. यस बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेड र केबिएल सेक्यूरिटिज लिको आव २०८०/०८१ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण पारित गर्ने । ४. आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । ख. विविध ।