नारायणी डेभलपमेन्ट बैंक अब नयाँ स्थान र भवनबाट सञ्चालनमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड अब नयाँ स्थान र भवनबाट सञ्चालनमा आएको छ । बैंकले बैंकिङ प्रणालीमा प्रयोग हुने सुविधाहरुको प्रयोग गर्दै आफ्नो कारोबारलाई चुस्त, दुरुस्त र अझ सर्बसुलभ बनाउने अभिप्रायले बैंकको २२ औं साधारण सभाले केन्द्रिय कार्यालय चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं १० मा स्थानान्तरण गर्ने निर्णय गरको हो । चितवनको व्यापारिक केन्द्रको रुपमा विकसित भरतपुर महानगरपालिका वडा नं १० वाइपास रोड, स्थित जिल्ला सहकारी सघं लिमिटेडको आधुनिक नवनिर्मित भवनमा आइतबारबाट स्थानान्तरण भै हाकिमचोकस्थित शाखा कार्यालय समेत एकैसाथ सेवा शुभारम्भ गराएको छ ।

‘महालक्ष्मी कल सेन्टर’ को सुरुवात, गुनासा तथा जिज्ञासा सम्बोधन गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम ‘महालक्ष्मी कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । बैंकिङ सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागतरूपमा उपलब्ध सेवामा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको हो । बैंकले सञ्चालनमा ल्याएको ‘महालक्ष्मी कल सेन्टर’ बाट ग्राहक सहायता सम्बन्धी जानकारी प्रदान गर्ने, ग्राहकहरूको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवाहरू सम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङसम्बन्धी आइपर्ने प्राविधिक समस्याहरुको सम्बोधन गर्ने, ग्राहकहरुबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणको लागि प्रक्रिया अगाडि बढाउने लगायतका काम गर्नेछ । बैंकले कलसेन्टरमार्फत आएका गुनासा/जिज्ञासा/उजुरीहरूको सम्बोधन गर्ने जनाएको छ । यसबाट ग्राहकहरूको समस्याहरूको व्यवस्थापन र समाधान गर्न सहज हुने तथा ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

बैंकिङ क्षेत्रविरूद्ध भ्रम छर्नेलाई कानुनी दायरामा ल्याउन मुद्रा विप्रेषक संघको माग

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू विरूद्ध भइरहेको अराजक गतिविधिप्रति नेपाल मुद्रा विप्रेषक संघ आपत्ति जनाएको छ । साथै बैंक तथा वित्तीय संस्थाहरू विरूद्ध भइरहेको अराजक गतिविधि रोक्न संघले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बैंक तथा वित्तीय क्षेत्र खलबलाउन भइरहेको अराजक गतिविधीहरू र सामाजिक संजालमार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध सर्वसाधारणलाई भ्रमित पार्ने कार्य र गलत अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको संघले जनाएको छ । साथै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्था तथा निर्देशनको परिपालना गर्दै आएका संस्था विरूद्ध गलत तथा भ्रामक टिप्पणीमा कुनै ध्यान नदिनु र सम्बन्धित सरोकार निकायले सम्प्रेषण गरेको सूचना तथा समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिन संघको आग्रह छ । साथै, आम सर्वसाधारणलाई भ्रमित पार्ने, गलत सूचना र आपत्तीजनक अभिव्यक्ति दिने र सर्वसाधारणलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने मौलिक अधिकारबाट वञ्चित गराउन उत्प्रेरणा दिनेलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत संघले ध्यानाकर्षण गराएको छ । नेपाल मुद्रा विप्रेषक संघ नेपाल राष्ट्र बैंकद्वारा स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनी र वित्तीय संस्थाहरूको प्रतिनिधित्व गर्ने छाता संगठन हो । २०६१ सालमा स्थापित यस संघले रेमिट्यान्स उद्योगको लागि एकीकृत आवाजको रूपमा काम गर्दछ ।