सानिमा बैंकद्वारा मान्मस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले श्री चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यसै क्रममा सानिमा बैंकको मान्म शाखाले, खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेलगाउँस्थित न्यानो लुगा हस्तान्तरण गरेको हो । कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको हो । चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।  बैंकले भविष्यमा पनि समाजमा सकारात्मक बिकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरु गर्ने योजना जनाएको छ ।

सिटिजन्स बैंकको १९८औं शाखा काठमाडौंको पानीपोखरीमा

काठमाडौं । सटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८औं शाखा काठमाडौंको पानीपोखरीमा सञ्चालनमा ल्याएको छ । यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३९ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५५ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । पानीपोखरीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गरे । उनले नयाँ शाखाका कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्दै अनुशासित र मर्यादित ढंगबाट काम गर्दै संस्थालाई अझ नयाँ उचाईमा लैजानका लागि प्रेरित गरे । सो अवसरमा बैंक संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ ।

एनआईसी एशिया बैंकले ५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकिम मूल्य दरका ५ अर्ब रुपैयाँको एआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो । अग्राधिकार सेयर प्रस्ताव पारित गर्न बैंकको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले फागुन २२ गते बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा २७औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ, जारी तथा चुक्ता पुँजी पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुर्याइने प्रस्ताव पारित गर्नेछ । आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया क्यापिटलको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्नेछ । आर्थिक वर्ष २०८१/८२ को लागि बाहय लेखापरीक्षक पिकेएफटिआर उपाध्या एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त गरी पारिश्रमिक तोक्नेछ ।