सबैभन्दा धेरै नाफा गर्ने बैंक बन्यो नबिल, वितरणयोग्य नाफा २.८७ अर्ब रुपैयाँ

काठमाडौं । ९ महिनाको अवधिमा बैंकिङ क्षेत्रमा नबिल बैंकले सर्वाधिक नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ८.२१ प्रतिशत बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ आर्जन गरेको हो । जुन बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै नाफा हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशत घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १२ अर्ब ५५ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २.२७ प्रतिशत बढेर २ अर्ब २७ करोड ७२ लाख रुपैयाँ, सञ्चालन मुनाफा १४.०३ प्रतिशत बढेर ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी ०.२० प्रतिशत घटेर १५ अर्ब २९ करोड ८२ लाख रुपैयाँ गरेको छ ।  यसअवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँ थियो । वितरणयोग्य प्रतिसेयर आम्दानी १२.६८ रुपैयाँ रहेको छ । २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष ८.१३ प्रतिशत बढेर ३४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ रहेको छ ।  चैतसम्म बैंकको निक्षेप संकलन ८.६६ प्रतिशत बढेर ५ खर्ब २ अर्ब १० करोड ६१ लाख रुपैयाँ र कर्जा लगानी ७.३८ प्रतिशत बढेर ४ खर्ब १ अर्ब १६ करोड २३ लाख रुपैयाँ पुगेको छ ।  बैंकको प्रतिसेयर आम्दानी १.६५ रुपैयाँ बढेर २४.८९ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.५६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२६.३६ रुपैयाँ रहेको छ । 

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ बराबरको तरलता बैंकिङ प्रणालीबाट खिच्न लागेको छ । मौद्रिक प्रणालीमा देखिएको अतिरिक्त तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै २१ दिनका लागि यो रकम संकलन गर्न लागेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार, बैंक तथा वित्तीय संस्थाहरूले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोल गर्दा घटिमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँको गुणा हुनेगरी निःशेष भाग रहने हिसाबले प्रस्ताव पेश गर्न सकिनेछ । निक्षेप संकलन उपकरण ब्याजदरमा प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीमा आधारित हुनेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ । संकलित रकमको मूलधन र ब्याजको भुक्तानी भने २८ वैशाखमा गरिने राष्ट्र बैंकले जनाएको छ । यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन् । साथै, निक्षेप संकलन उपकरण खरिद गरेपछि सो उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरूको नाफा ४१.२४ अर्ब रुपैयाँ, नेपाल बैंकको छलाङ, नबिल नम्बर वान

काठमाडौं । वाणिज्य बैंकहरूले ९ महिनामा सवा ४१ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा २० बैंकले १.३८ प्रतिशत अर्थात् ५६ करोड ३८ लाख रुपैयाँ बढाएर ४१ अर्ब २४ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत वर्षको चैतसम्म यी बैंकको खुद नाफा ४० अर्ब ६७ करोड ८९ लाख रुपैयाँ थियो ।  पछिल्लो समय अर्थतन्त्र सुस्ताएका कारण बैंकहरूले व्यवसाय विस्तार गर्न सकेका थिएनन् । जसको कारण बैंकहरूको आम्दानी घट्न गई त्यसको असर नाफामा परेको देखिन्छ । समीक्षा अवधिमा ११ वटा बैंकको नाफा बढेको छ भने ९ बैंकको नाफामा गिरावट आएको छ ।  यसअवधिमा सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा नेपाल बैंक अग्रस्थानमा देखिएको छ । यस बैंकले २ हजार ३२ प्रतिशत नाफा बढाएर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । जबकी गत वर्षको चैतमा नेपाल बैंकको नाफा १३ करोड ५ लाख रुपैयाँ मात्रै थियो ।  तर, नबिल बैंक भने सर्वाधिक नाफा गर्ने बैंक बनेको छ । नबिल बैंकले चैतसम्म ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैतमा बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको थियो ।  नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबी) बैंकको ३८.६१ प्रतिशत बढेर ४ अर्ब ५४ करोड रुपैयाँ, ग्लोबल आइएमईको ३७.१२ प्रतिशत बढेर ४ अर्ब ५३ करोड रुपैयाँ, एभरेष्ट बैंकको ३२.५५ प्रतिशत बढेर ३ अर्ब ४५ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको २८.८९ प्रतिशत बढेर १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  यस्तै, सानिमा बैंकको १४.७९ प्रतिशत बढेर १ अर्ब ६५ करोड रुपैयाँ, एनएमबि बैंकको ५.८७ प्रतिशत बढेर २ अर्ब ३७ करोड रुपैयाँ, प्रभु बैंकको ३.५० प्रतिशत बढेर १ अर्ब ८७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ३.३५ प्रतिशत बढेर १ अर्ब २० करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २.२४ प्रतिशत बढेर १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।  समीक्षा अवधिमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको नाफा घटेको छ । एनआईसी एशियाको ९१.८१ प्रतिशत घटेर १५ करोड ६७ लाख रुपैयाँमा नाफा सीमित भएको हो ।  हिमालयन बैंकको ७४.३३ प्रतिशत घटेर ५० करोड ४८ हजार रुपैयाँ, कुमारी बैंकको ७२.८५ प्रतिशत घटेर २८ करोड ५८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४९.२८ प्रतिशत घटेर १ अर्ब २० करोड रुपैयाँ, प्राइम बैंकको २२.५५ प्रतिशत घटेर २ अर्ब २२ करोड रुपैयाँमा नाफा झरेको छ । यस्तै, सिटिजन्स बैंकको २०.५९ प्रतिशत घटेर ९६ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.१७ प्रतिशत घटेर २ अर्ब १७ करोड रुपैयाँ, कृषि विकास बैंकको १०.१६ प्रतिशत घटेर १ अर्ब ८४ करोड रुपैयाँ र सिद्धार्थ बैंकको १.१९ प्रतिशत घटेर १ अर्ब ६६ करोड रुपैयाँ मात्रै नाफा गरेका छन् ।