राष्ट्र बैंकले ५८ करोड मुद्दती निक्षेपमा लगानी गर्ने, बैंक तथा वित्तीय संस्थालाई आवेदन खुला
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान र पेन्सन कोषको ५८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । सोमबार सूचना जारी गर्दै राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई आवेदन दिन आह्वान गरेको हो । केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ४६ करोड ४० लाख, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ८ करोड ७० लाख, र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा २ करोड ९० लाख रुपैयाँ लगानी गरिनेछ । ३ सय ६६ दिन अवधिको मुद्दती निक्षेप आगामी १६ वैशाख २०८२ देखि लागू हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले ११ वैशाख बिहान १० बजेदेखि दिउँसो १:३० भित्र आवेदन दिनुपर्नेछ । राष्ट्र बैंकले केही सर्तहरू पनि तोकेको छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाले कम्तीमा दुई वर्ष सञ्चालनमा आइसकेको, कुल पूँजीकोष, कर्जा र निक्षेप अनुपात, तरल सम्पत्ति, निष्क्रिय कर्जा जस्ता सूचकांकहरू राष्ट्र बैंकको मापदण्डभित्र रहनुपर्नेछ । साथै, समस्याग्रस्त सूचीबाट मुक्त भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने र सर्वसाधारणका लागि सेयर जारी गरिसकेको हुनुपर्ने सर्त राखिएको छ ।
६ बैंकको वितरणयोग्य नाफा साढे १६ अर्ब ऋणात्मक, १० बैंकको लाभांश क्षमता दोहोरो अंकमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा आधा दर्जन वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्याङ्क अनुसार चैत मसान्तसम्म ६ बैंकको वितरणयोग्य नाफा १६ अर्ब ५९ करोड ८३ लाख रुपैयाँ ऋणात्मक छ । यस अवधिमा हिमालयन बैंकको सबैभन्दा धेरै हिमालयन बैंकको ७ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । एनआईसी एशिया बैंकको ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ, प्रभु बैंकको ३ अर्ब ४० करोड २० लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ । यस्तै, कुमारी बैंकको १ अर्ब १३ करोड २९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) १ अर्ब १० करोड ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब २ करोड २ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । राष्ट्रिय वाणिज्य र प्रभु बैंकको वितरणयोग्य नाफा गत वर्षको चैतमा धनात्मक थियो भने हिमालयन, एनआईसी एशिया, कुमारी र एनआईएमबिको गत वर्ष पनि ऋणात्मक थियो । यी बैंक धनात्मक बने माछापुच्छ«े बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा धनात्मक रहेको छ । गत वर्षको चैतमा यी बैंकको वितरणयोग्य नाफा ऋणात्मक थियो । ग्लोबल आइएमईको ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ, एनएमबिको १ अर्ब ३१ करोड १९ लाख रुपैयाँ, लक्ष्मी सनराइजको ७७ करोड २७ लाख रुपैयाँ, नेपाल बैंकको ३० करोड ६२ लाख रुपैयाँ, सिद्धार्थको १८ करोड ८४ लाख रुपैयाँ र माछापुच्छ«ेको ७ करोड ७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा सबैभन्दा वितरणयोग्य नाफा एभरेष्ट बैंकको रहेको छ । एभरेष्टको ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ वितरण गर्ने नाफा रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको १ अर्ब ५ करोड १५ लाख रुपैयाँ, सानिमा बैंकको २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ, सिटिजन्स बैंकको १६ करोड २६ लाख रुपैयाँ वितरणयोग्य नाफा छ । यस्तै, कृषि विकास बैंकको १ अर्ब ९१ करोड १० लाख रुपैयाँ, प्राइम बैंकको १ अर्ब ७३ करोड २३ लाख रुपैयाँ र नबिल बैंकको २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ वितरणयोग्य नाफा छ । कुन बैंकको कति लाभांश क्षमता ? समीक्षा अवधिमा वितरणयोग्य नाफाका आधारमा एभरेष्टको लाभांश क्षमता प्रतिसेयर ३४.०९ रुपैयाँ रहेको देखिन्छ । जुन बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै हो । यस्तै, स्ट्याण्डर्ड चार्टर्डको १९.३५ रुपैयाँ, सानिमाको १८.९२ रुपैयाँ, नबिलको १२.६८ रुपैयाँ, कृषि विकासको १२.२५ रुपैयाँ, ग्लोबल आइएमईको १२.०४ रुपैयाँ, नेपाल एसबीआईको ११.१० रुपैयाँ, प्राइम बैंकको १०.५७ रुपैयाँ लाभांश क्षमता छ । यस्तै, एनएमबिको ६.६५रुपैयाँ, लक्ष्मी सनराइजको ३.१७ रुपैयाँ, नेपाल बैंकको २.७८ रुपैयाँ, सिद्धार्थको १.७५ रुपैयाँ, सिटिजन्सको १.६९ रुपैयाँ र माछापुच्छ्रेको ०.३६ रुपैयाँ लाभांश क्षमता राखेका छन् ।
१४.८० प्रतिशत बढ्यो सानिमा बैंकको नाफा, लाभांश क्षमता प्रतिसेयर १८.९२ रुपैयाँ
काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासमा खुद नाफा १४.८० प्रतिशत बढेर १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्म बैंकको खुद ब्याज आम्दानी ६.५२ प्रतिशत घटेर ४ अर्ब २८ करोड २८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५८ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ९ प्रतिशत बढेर २ अर्ब २५ करोड १३ लाख रुपैयाँ छ । यसअवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता प्रतिसेयर १८.९२ रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको यस्तो नाफा ७५ करोड ६८ लाख रुपैयाँ थियो । बैंकको रिटर्न अन इक्विटी (आरओई) १०.३५ प्रतिशत छ । चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोष ३.९८ प्रतिशत बढेर ६ अर्ब १२ करोड ९६ लाख रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८.४१ प्रतिशत बढेर २ खर्ब १३ अर्ब ७७ करोड ८९ लाख रुपैयाँ र कर्जा लगानी ८.५८ प्रतिशत बढेर १ खर्ब ७३ अर्ब ९ करोड ६६ लाख रुपैयाँ गरेको छ । बैंकको खराब कर्जा भने १.८९ प्रतिशतबाट बढेर ३.४२ प्रतिशत पुगेको छ ।