सनराईज बैंकको कार्यकारी प्रमुखमा रत्नराज नियुक्त
१ जेठ । सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । जेठ १ गते नियुक्त भएका बज्राचार्य सोही दिनदेखि उनले बैंकको जिम्मेवारी समालेका छन् । ग्लोवल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको चार वर्षे कार्यकाल बैशाख ३१ गते सकिए लगत्तै बज्राचार्यले नयाँ बैंकमा जिम्मेवारी समालेका छन् । ग्लोवल आईएमई बैंकमा कार्यकारी प्रमुख हुनुपूर्व उनी एनसीसी बैंकमा चार वर्ष कार्यकारी प्रमुख थिए । त्यसअघि उनले नेपाल बैंकमा वित्तीय विदेशी व्यवस्थापन टोलीमा रहेर काम गरेका थिए । चार्टर एकाउण्टेन्ट बज्राचार्यले लामो समय चार्टर एकाउण्टेन्ट र कन्सल्टेटको काम गरेका थिए । उता सनराईज बैंकमा विगत ८ महिनादेखि प्रमुख कार्यकारी अधिकृत पद खाली थियो । सुरेन्द्र प्रधानको कार्यकाल सकिएपछि बैंकले लामो समय नयाँ कार्यकारी प्रमुख नियुक्त गर्न सकेको थिएन ।
राष्ट्र बैंकले बनायो १४ दिनको साता
२८ बैशाख । सामान्यता ७ दिनलाई एक साता मान्ने गरिए पनि नेपाल राष्ट्र बैंकले भने १४ दिनलाई एक साता बनाएको छ । विनासकारी भूकम्पको कारण सवै क्षेत्रमा नकारात्मक प्रभाव परेपछि बैंक तथा वित्तीय संस्थालाई राहत दिन राष्ट्र बैंकले १४ दिनको साता बनाएको हो । राष्ट्र बैंकले सवै बैंक तथा वित्तीय संस्थाहरुलाई निश्चित प्रतिशत रकम अनिवार्य रुपमा नगदै राख्नुपर्ने ब्यवस्था गरेको छ । चालु आर्थिक बर्षको मौद्रिक नीति अनुसार बाणिज्य बैंकहरुले ६ प्रतिशत, विकास बैंकहरुले ५ प्रतिशत र फाइनान्स कम्पनीहरुले ४ प्रतिशत रकम अनिवार्य नगद मौज्दात राख्नु पर्छ । यस्तो रकमको गणना साप्ताहिक रुपमा हुने गर्छ । तर १२ बैशाखमा आएको विनासकारी भूकम्पको कारण सवै क्षेत्र प्रभावित भएकोले यस्तो गणनाको अवधि १४ दिनको भनाइएको हो । राष्ट्र बैंकले २७ बैशाखमा परिपत्र गर्दै १३ बैशाखदेखि २६ बैशाखसम्मलाई एक साता मान्ने ब्यवस्था गरिएको जानकारी दिएको छ । ‘भूकम्पका कारणले गर्दा अनिवार्य मौज्दात गणना गर्ने प्रयोजनका लागि मिति २०७२ बैशाख १३ गते देखि २०७२ बैशाख २६ गतेसम्मको अवधिलाई हप्ता कायम गरिएको छ,’ राष्ट्र बैंकको परिपत्रमा उल्लेख गरिएको छ ।
आइएमई र ग्लोबल आइएमईले प्रधानमन्त्रीलाई बुझाए दुई करोड ५० लाख
२५ वैशाख । आइएमई र ग्लोबल आइएमई बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि दुई करोड ५० लाख प्रदान गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालालाई आइएमई लिमिटेड तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री निवास बालुवाटारमा सो रकमको चेक हस्तान्तरण गरेका हुन् । यही वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट भएको क्षतिको उद्धारका साथै पीडितलाई सहायता उपलब्ध गराउन र पुनःनिर्माणका लागि सो रकम उपलब्ध गराइएको आइएमईले जनाएको छ । भूकम्पपीडितका लागि आइएमई लि र ग्लोबल आइएमई बैंकले यसअघि पनि सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रामेछाप, रसुवा, ललितपुर, काठमाडौँ र मकवानपुरमा खाद्यान्नलगायत राहत सामग्री पनि वितरण गरिसकेका छन् । रासस