ग्लोबल आइएमईले प्यासिफिक बैंकलाई एक्विजिसन गर्ने समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं, १ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । आषाढ १ गते बुधबार हस्ताक्षर भएको समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्यासिफिक डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष भेष बहादुर पौडेल हस्ताक्षर गरेका छन् । दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाही ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाई एक जिल्ले विकास बैंकको रुपमा विगत ७ वर्षदेखि कारोबार गर्दै आईरहेको प्यासिफिक डेभलपमेन्ट बैंकको कुल चुक्ता पूँजी ११ करोड रुपैयाँ रहेको छ । प्यासिफिक बैंकलाई ग्लोबल आइएमईले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी ६ अर्व २७ करोड, कुल निक्षेप ७१ अर्ब, कर्जा लगानी ६१ अर्ब रुपैयाँ र ९४ वटा शाखा कार्यालय पुग्ने विज्ञप्तिमा जनाइएको छ । ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाइनान्ससँग सफल मर्जर गरिसकेको बैंकले जनाएको छ ।
सिटिजन्स बैंकको थप ३ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा
काठमाडौं, १ असार । सिटिजन्स बैंकले थप ३ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । नुवाकोट जिल्ला स्थित रालुकादेवी, थापे्रक र खरानीटार गाविसमा ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको बैंकले जनाएको छ । भुकम्पबाट अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ प्रणाली मार्फत वित्तीय पहुँच पुर्याउनको लागि बैंकले उक्त स्थानमा सो सेवा उपलब्ध गराएको छ । देशका विभिन्न दुर्गम ठाउँका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ युके एडको लगानिमा संचालित सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा शाखा विस्तार गरेको हो । उक्त शाखा रहित बैंकिङ सेवाको सञ्चालन पश्चात बैंकको कुल शाखा रहित बैंकिङ्ग सेवाको संख्या ९२ पुगेको बैंकले जनाएको छ । बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैकिङ सेवा जस्तै निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु शाखारहित बैंकिङ मार्फत उपलब्ध गराई राखेको बैंकबाट जारी विज्ञेप्तिमा उल्लेख छ ।
मर्जर कमिटिद्धारा पाँच वटा संस्थाको सेयर स्वाप रेसियो पारित, एनसीसी र कुमारी बैंकको बराबर
काठमाडौं, ३२ जेठ । संयुक्त मर्जर कमिटिले एनसीसीसँग गाभिन लागेको पाँच वटा सस्थाको रेसियो पारित गरेको छ । कमिटिद्धारा एनसीसी र कुमारी बैंकको सेयर स्वाप रेसियो १ बराबर १ हुने छ । अन्य चार वटा विकास बैंकको भने केही थोरै सेयर स्वाप रेसियो हुने भएको कमिटिले जनाएको छ । मर्जरमा जान लागेका मध्ये एनसीसीको सेयरलाई आधार बनाएर सम्पत्ति तथा दायित्वको विस्तृत अध्ययन प्रतिवेदन (डिडिए रिपोर्ट) तयार गरिएको थियो । डिडिएले कुमारीलाई ९९.३१, एपेक्सलाई ४७.३९, इन्फ्रास्टक्चर डेभलपेन्ट बैंकलाई ७६.९४, इन्टरनेशनल डेभलपमेन्ट बैंकलाई ७२.७७ र सुप्रिम डेभलपमेन्ट बैंकलाई ७६.०५ कित्ता सेयर दिन सिफारिश गरेको थियो । मर्जर कमिटिले दसमलव पछि आएको अंकलाई एक कित्ता दिनेगरी निर्णय गरेको हो । यसले गर्दा कुमारी र एनसीसी बैंकको सेयर स्वाप रेसियो बराबर अर्थात सय कित्ता बराबर सय नै भएको हो । यो रेसियो अनुसार एपेक्सका लगानीकर्ताले सयको ४८, इन्फ्रास्टक्चरका लगानीकर्ताले ७७, इन्टरनेशनल डेभलपमेन्टका लागनीकर्ताले ७३ र सुप्रिमका लगानीकर्ताले ७७ कित्ताका दरले सेयर पाउँने छन् । संयुक्त मर्जर कमिटिको निर्णयमा एपेक्सको सञ्चालक समितिले भने असहमति जनाएको छ । स्वाप रेसियोमा धेरै कम सेयर प्राप्त हुने भएपछि यो बैंकको सञ्चालक समितिले असहमति जनाएको मर्जर कमिटि सम्वद्ध स्रोतले बतायो । एपेक्सले असहमति जनाएपनि स्वाप रेसियो परिवर्तन नगर्ने अडानमा मर्जर समिति छ । ‘मर्जको प्रक्रिया रोकिँदैन, स्रोतले भयो, हामी कात्तिकमा एकिकृत कारोबार गर्छौ ।’ मर्जर कमिटिले नेपाल राष्ट्र बैंकमा कात्तिकसम्मको म्यादका लागि पत्र बुझाउँदै छ । असारसम्म मर्जर सक्नुपर्ने सर्त सहितको सौद्धान्तिक सहमति यी संस्थाहरुलाई राष्ट्र बैंकले दिएको थियो । असारसम्म सबै काम नसकिने भएपछि कात्तिक सम्मको म्याद दिन राष्ट्र बैंकले आग्रह गरेको हो । यी संस्थाहरुले असार भित्रै विशेष साधारण सभा गर्ने तयारीमा छन् । डिडिए गर्दा गैरबैंकिङ सम्पती धेरै भएको एनसिसी बैंकको सम्पतिको मूल्यांकन केही घटाएर गरिएको छ । एनसिसीको नाममा आएको हरिसिद्धि ईटा उद्योगको जग्गाको मूल्य करिव एक अर्ब रुपैयाँलाई घटाएर ५० करोडको हाराहारीमा गणना गरिएको छ ।