बैंक अफ काठमाण्डू लुम्बिनीले भोलिदेखि कारोबार गर्ने, वाणिज्य बैंकको संख्या २८

काठमाडौं, २९ असार । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले भोलि असार ३० गतेदेखि बैंकिङ करोबार गर्ने भएको छ । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भई बनेको यो बैंकले एकिकृत कारोबार गर्न लागेका हुन् । यो मर्जसँगै वाणिज्य बैंकहरुको संख्या २८ मा झरेको छ । मर्जपछि बनेको बैंक अफ काठमाण्डू लुम्बिनीको सेयर पुँजी ४ अर्ब ६७ करोड रुपैयाँ भएको छ । संचित कोष २ अर्ब ८४ करोड रुपैयाँ भएको छ । मर्जको क्रममा स्वाप रेसियो निर्धारण गरेपछि सेयर पुँजी र संचित कोष रकममा केही घटबढ हुनसक्छ । यस बैंकको निक्षेप करिव ६४ अर्ब रुपैयाँ हुनेछ भने कर्जा तथा लगानी पनि करिव ६४ अर्ब रुपैयाँ हुनेछ । मर्जपछि बैंकको शाखा ७४ वटा हुनेछन् । वित्तीय रुपमा दुबै बैंक स्वस्थ रहेकोले मर्जपछि यो बैंकले राम्रो सिनर्जी प्राप्त गर्ने विश्वास गरिएको छ । मर्ज प्रक्रिया पुरा भएपछि लुम्बिनी बैंकमा प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले राजीनामा दिएका छन् भने नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृत बैंक अफ काठमाण्डूका अजय श्रेष्ठ हुने भएका छन् ।

इन्टरनेशनल डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न, एनसीसी बैंकमा मर्ज हुने प्रस्ताव पास

काठमाडौं, २९ असार । इन्टरनेशनल डेभलपमेन्ट बैंकको विषेश साधारणसभा मंगलबार राजधानीमा सम्पन्न भएको छ । साधारणसभाले एनसीसी बैंकसँग मर्जमा जाने सञ्चालक समितिको विशेष प्रस्ताव सर्बसहमतिमा पारित गरेको छ । डीडीए रिपोर्टका आधारमा एनसीसी बैंकको सेयर मूल्य प्रतिकित्ता १०० हुँदा इन्टरनेशनल डेभलपमेन्ट बैंकको प्रतिकित्ता ७३ रुपैयाँ स्वाप रेसियो मानेर मर्जमा जाने प्रस्ताव साधारणसभाले अनुमोदन गरेको छ । सो आधारमा इन्टरनेशनल डेभलपमेन्ट बैंकको १०० कित्ता सेयर हुनेले मर्जपछि एनसीसी बैंकको ७३ कित्ता सेयर पाउने इन्टरनेशनल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजाराम खड्काले जानकारी दिए । एनसीसी बैंकमा इन्टरनेशनल डेभलपमेन्ट बैंक, कुमारी बैंक, इन्फ्राष्टक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम बैंक मर्ज हुने प्रक्रिया चलिरहेको छ ।

बिओकेद्धारा धुर्मुस–सुन्तली फाउण्डेसनलाई ५ लाख सहयोग

काठमाडौं, २८ असार । बैँक अफ काठमाण्डू (बिओके)ले भूकम्प पीडितहरुको आवास निर्माणमा सक्रिय रहेको धुर्मुस–सुन्तली फाउण्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकम मंगलबार बैंकको केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई हस्तान्तरण गरेका छन् । हास्य कलाकार सीताराम कट्टेल र कुन्जना घिमिरेले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची गिरान्चौरमा भूकम्प पीडितहरुकालागि एकिकृत नमूनाबस्ती पुन निर्माण अन्तर्गत ६५ वटा घर बनाउने उद्देश्यले धुर्मुस–सुन्तली फाउण्डेसनको नाममा सहयोग संकलन गर्दै आएको छ । फाउण्डेसनले यसअघि काभ्रेमा २० वटा घर निर्माण गरी भूकम्प पीडितहरुलाई उपलब्ध गराएको थियो । सहायता उपलब्ध गराउदैँ प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले बैकिङ्ग सेवाका अतिरिक्त बिओकेले अन्य उपयोगी सामाजिक काममा पनि सहयोग पुर्याउदै आएको र यसलाई भविष्यमा पनि निरन्तर्ता दिनु पर्नेमा जोड दिए । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले उदार सहयोगका लागि बैंकप्रति आभार व्यक्त गरेका छन् ।