गुडविल फाइनान्सको नाफा ९ करोडले बढ्यो

काठमाडौं, ११ साउन । गुडविल फाइनान्स लिमिटेडले आपर्थक वर्ष २०७२/७३ मा १३ करोड १४ लाख नाफा कमाएको छ । यो नाफा गुडविलले अघिल्लो आर्थिक वर्षमा कमाएको नाफा भन्दा ९ करोड ९ लाखले बढि हो । फाइनान्सले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा जम्मा ४ करोड ५ लाख मात्रै नाफा कमाउन सफल भएको थियो । ३६ करोड चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा १८ करोड रुपैंयाँ रहेको छ । गुडविललले ४१ करोड व्याज आम्दानी गरेर २३ करोड व्याज खर्च गरेको छ । २ दशमलब शुन्य ५ प्रतिशत खराब कर्जा रहेको कम्पनीले १ करोड राइटब्याकबाट आम्दानी गरेको देखिन्छ । गुडविलको प्रति सेयर आम्दानी ३६ रुपैंयाँ २२ पैसा छ भने प्रति सेयर नेटवर्थ १५२ रुपैंयाँ १५ पैसा रहेको छ ।

प्रभु बैंकको नयाँ शाखा रसुवाको स्याफ्रुबेसीमा

काठमाडौं, ११ साउन । प्रभु बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा स्थापना गरेको छ । नेपाल र चिनबिचको नयाँ व्यापारिक नाकाका रुपमा अघि सारिएको रसुवागढी नाकालाई मध्यनजर गर्दै शाखा खोलिएको बैंकले जनाएको छ । सो शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले उद्घाटन गरेका थिए । गत वर्षको भुकम्पका कारण अतिप्रभावित जिल्ला रसुवामा बैंकको शाखा विस्तार भएकापछि सो क्षेत्रमा आर्थिक गतिबिधी बढाउन समेत सहयोग पुग्ने, पिडीतहरुलाई सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध हुने राहत रकम बैंक मार्फत भुक्तानी गर्न सहज हुनेछ । रसुवा जिल्लाको स्याफ्रुवेशी चिनसँग जोडिएको प्रमुख व्यापारिक नाका हो । बैंकको शाखा कार्यालय स्थापना भएपछि व्यापारिक प्रयोजनका लागि सहज हुनुका साथै बैंकको शाखा कार्यालयबाट उपलब्ध हुने बैंकिङ्ग कारोबारले सो क्षेत्रमा व्यापारिक गतिविधि समेत बढाउने बैंकले जनाएको छ ।

ज्योति बिकाश बैंक नौं औं बर्षमा, नाफा १३ करोड

काठमाडौं, १० साउन । ज्योति बिकाश बैंक नौं औं वर्ष प्रवेश गरेको छ । नौं औं वर्ष प्रवेशसँगै बैंकले आफ्नो सेवालाई थप विस्तार गर्दै गुणस्तरिय बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । २०६५ साल साउन ९ देखि स्थापित जाजरकोट र खोटाङ लगाएत २४ वटा शाखा तथा विस्तार गरिसकेको छ । बैंकको देवघाटमा एक्स्टेन्सन काउन्टरसहित देशभर ९ वटा एटिएम संचालनमा छन् । बैंकले झिमरुक बिकाश बैंकसंगको मर्जर प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । मर्जरपछि बैकको शाखा सञ्जाल वृद्धि भई २९ पुग्ने छ । साथै , बैंकको सञ्जाल देश व्यापी रुपमा सातै प्रदेशमा पुर्याउने योजनाका साथ उपयुक्त स्थानहरु पहिचान गरि थप शाखा सञ्जालहरु वृद्धि गरिने बैंकल जनाएको छ । बैंकले इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, टेलिफोन तथा मोबाइलको बिल भूक्तानी सेवा, एबिबिएस सेवा तथा एटिएम कार्ड मार्फत जारी गर्ने समेत योजनामा बनाएको छ । बैंकले असार मसान्तसम्म ६५,५०० हजार निक्षेपकर्ताको ७ अर्व ६७ करोड निक्षेप संकलन भएको छ । करिब ३,८०० ऋणीहरु मार्फत ६ अर्व ६ करोड कर्जा लगानी गरेको छ । त्यस्तै बैंकले २१ करोड १० लाख संचालन मुनाफा आर्जन गरी खुद मुनाफा १३ करोड ४३ लाख आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्व ५० करोड पूँजी पुर्याउने उदेश्य राखेको छ ।