ओम डेभलपमेन्ट बैंकको नाफा ३२ करोड, जानकी फाइनान्सले कमायो ८ करोड
काठमाडौं, १६ साउन । ओम डेभलपमेन्ट बैंकले २०७३ असारसम्ममा ३२ करोड ७६ लाख नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा २०७२ असार मसान्तको भन्दा १७ करोड ३३ लाखले बढि हो । बैंकले २०७२ असार मसान्तसम्ममा जम्मा १५ करोड ४३ लाख नाफा कमाएको थियो । एक अर्ब ५ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५७ करोड रुपैंयाँ रहेको छ । ओम डेभलपमेन्ट बैंकको प्रति सेयर आम्दानी ३१ रुपैंयाँ १२ पैसा छ भने प्रति सेयर नेटवर्थ १५४ रुपैंयाँ ७६ पैसा रहेको छ । त्यस्तै, जानकी फाइनान्सले २०७३ असार मसान्तसम्ममा ७ करोड ९४ लाख नाफा कमाएको छ । कम्पनीले २०७२ असार मसान्तसम्ममा ६ करोड ९३ लाख नाफा आर्जन गरेको थियो । ३१ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २१ करोड रुपैंयाँ रहेको छ । जानकी फाइनान्सको प्रति सेयर आम्दानी २५ रुपैंयाँ ५७ पैसा छ भने प्रति सेयर नेटवर्थ १७० रुपैंयाँ १७ पैसा रहेको छ । कम्पनीको खराब कर्जा २ दशमलब ५८ प्रतिशत रहेको छ । कम्पनीले आर्जन गरेको नाफामा २ करोड ४९ लाख रुपैंयाँ राइटब्याकबाट प्राप्त गरिएको हो । यसैबिच, बागमति डेभलपमेन्ट बैंकले २०७३ असार मसान्तसम्ममा एक करोड २ लाख नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्म कमाएको भन्दा तीन लाखले कम हो । कम्पनीले २०७२ असार मसान्तसम्ममा एक करोड पाँच लाख नाफा कमाएको थियो । ५ करोड ७५ लाख चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक करोड ५७ लाख रुपैंयाँ रहको छ । बगमति डेभलपमेन्ट बैंकको प्रति सेयर आम्दानी १७ रुपैंयाँ ७४ पैसा छ भने प्रति सेयर नेटवर्थ १२७ रुपैंयाँ ३० पैसा रहेको छ ।
नेशनल माइक्रोफाइनान्सको नाफा २९६ प्रतिशतले वृद्धि
काठमाडौं, १६ साउन । नेशनल माइक्रोफाइनान्सको नाफा २९६ प्रतिशतले बढेको छ । फाइनान्सले २०७३ असार मसान्तसम्ममा ४ करोड ८ लाख रुपैंयाँ नाफा कमाएको छ । यो नाफा २०७२ असार मसान्तमा कमाएको भन्दा ३ करोड २ लाखले बढि हो । कम्पनीले २०७२ असार मसान्तसम्ममा एक करोड ३ लाख नाफा कमाएको थियो । ७ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५ करोड रुपैंयाँ रहेको छ । नेशनल माइक्रोफाइनान्सले ११ करोड ७५ लाख ब्याज आम्दानी गरेर ३ करोड २७ लाख ब्याज खर्च गरेको छ । सञ्चालन मुनाफा ६ करोड ४२ लाख रहेको कम्पनीले २ करोड ४७ लाख रुपैंयाँ कर्मचारीका लागि खर्च गरेको छ ।
तीजलाई लक्षित मेगा बैंकको नगद फिर्ता योजना, पाँच सयमा खाता खोल्दा अनेक लाभ
काठमाडौं, १५ साउन । नारीहरुको महानपर्व तीजको अवसर पारेर मेगा बैंक नेपाल लिमिटेडले महिलाहरुलाई ‘मेगा नारी सिर्जनशील बचत खाता’मा विशेष योजना ल्याएको छ । तीजको सौगातस्वरुप ‘मेगा नारी सिर्जनशील बचत खाता’मा नगद फिर्ता योजना ल्याइएको हो । जसका लागि महिलाहरुले न्यूनतम पाँच सय मौज्दात रहने गरी ‘मेगा नारी सिर्जनशील बचत खाता’ खोल्नुपर्ने मेगा बैंकले जनाएको छ । यो खाता खोली मेगा भिसा डेबिट कार्डबाट गर्ने सम्पूर्ण खरिदमा २ प्रतिशत र मेगा भिसा डोमेस्टिक क्रेडिट कार्डबाट गरिने सम्पूर्ण खरिदमा ५ प्रतिशत नगद फिर्ता योजना ल्याइएको मेगा बैंकले जनाएको छ । यसैगरी, यो खातामा बार्षिक साँढे ३ प्रतिशत बार्षिक ब्याज पाइनेछ । खाता खोलेबापत भिसा कार्ड, एकाउन्ट विवरण सुविधा, मोबाइल बैंकिङ सेवा पाइनेछ । यस्तै, चेकबुक, अनलाइन बैंकिङ भने निःशुल्क पाइन्छ । सेफ डिपोजिट लकर र डिमाण्ड ड्राफ्टमा २५ प्रतिशत छुटको व्यवस्था छ । यो योजना सीमित अवधिसम्म मात्र संचालन हुने मेगा बैंकले जनाएको छ ।