चार वटा बाणिज्य बैंकको नाफा चार अर्ब, सिद्धार्थ, प्रभु, सनराईज र लक्ष्मीले कति कमाए ?

काठमाडौं, १८ साउन । चार वटा बाणिज्य बैंकहरुले २०७३ असार मसान्तसम्ममा चार अर्ब नाफा कमाएका छन् । मंगलबार वित्तिय विवरण सार्वजनिक गरेका सिद्धार्थ बैंक, प्रभु बैंक, सनराईज बैंक र लक्ष्मी बैंकले सो अवधीमा कुल चार अर्ब नाफा कमाउन सफल भएका हुन् । चारमध्ये सिद्धार्थ बैंक र प्रभु बैंकको नाफा एक अर्ब नाघेको छ भने सनराइज बैंकले आफ्नो नाफा १०२ प्रतिशतले बढाउन सफल भएको छ । त्यस्तै, लक्ष्मी बैंकको नाफा पनि २३ करोडले वृद्धि भएको छ । सिद्धार्थको नाफा १२४ करोड सिद्धार्थ बैंक लिमिटेडले २०७३ असार मसान्तसम्ममा एक अर्ब २४ करोड नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तममा कमाएको भन्दा ४७ करोडले बढि हो । बैंकले २०७२ असार मसान्तसम्ममा जम्मा ७७ करोड नाफा कमाएको थियो । बैंकले कमाएको नाफामा १५ करोड रुपैंयाँ राइटब्याकबाट प्राप्त भएको हो । सिद्धार्थको खराब कर्जा एक दशमलब ४१ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी रुपैंयाँ ४९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २०६ रुपैंयाँ ९१ पैसा रहेको छ । प्रभुले कमायो ११४ करोड प्रभु बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब १४ करोड नाफा कमाएको छ । बैंकको यो नाफामा एक अर्ब ५ करोड रुपैंयाँ राइटब्याकबाट प्राप्त भएको हो । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा १३ करोडले बढि हो । बैंकले सो अवधीमा जम्मा एक अर्ब १ करोड रुपैंयाँ नाफा कमाउन सफल भएको थियो । समस्याग्रस्त ग्राण्ड बैंकसँग मर्ज भएको प्रभुको खराब कर्जा ८ दशमलब ३८ प्रतिशत रहेको छ । बैंकले ६० अर्ब निक्षेप संकलन गरेर ४८ अर्ब कर्जा प्रवाह गरेको छ । सनराइजको नाफा १०२ प्रतिशतले वृद्धि त्यस्तै, सनराइज बैंकले आफ्नो नाफामा १०२ प्रतिशतले वृद्धि गरेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा ९५ लाख रुपैंयाँ नाफा कमाएको हो । यो नाफा बैंकले २०७२ असारमसान्तसम्ममा कमाएको भन्दा ४८ करोड अर्थात १०२ प्रतिशतले बढि हो । सो नाफामा ५५ करोड रुपैंयाँ भने राइटब्याकबाट प्राप्त भएको हो । बैंकले २ दशमलब ९० प्रतिशतमा रहेको खराब कर्जालाई घटाएर एक दशमलब २४ प्रतिशतमा झारेको छ । ३ अर्ब ९७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १६ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २३ रुपैंयाँ ९८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५४ रुपैंयाँ ५६ पैसा रहेको छ । लक्ष्मी बैंकले कमायो ६७ करोड लक्ष्मी बैंकले २०७३ असार मसान्तसम्ममा ६७ करोड ३७ लाख मुनाफा आर्जन गरेको छ । बैंकले कमाएको यो नाफा २०७२ असार मसान्तसम्मको भन्दा २३ करोड ७४ लाखले बढि हो । बैंकले सो अवधीमा ४३ करोड ६३ लाख नाफा आर्जन गरेको थियो । लक्ष्मी बैंकको यो नाफामा १० करोड रुपैैंयाँको हिस्सा राइटब्याकले ओगटेको छ । ३ अर्ब चुक्ता पुँजी भएको लक्ष्मी बैंकको जगेडा कोषमा २ अर्ब ६० करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २२ रुपैंयाँ १७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १८५ रुपैंयाँ ७७ पैसा रहेको छ ।

कैलाश विकास बैंकको नाफा करिव ४४ करोड, विकास बैंक मध्ये सबैभन्दा बढी

काठमाडौं, १७ साउन । कैलाश विकास बैंकले गत आथिर्क वर्षमा ४३ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको छ । विकास बैंकहरु मध्ये कैलाश विकास बैंक सबैभन्दा बढी नाफा गर्न सफल भएको छ । सरकारलाई बुझाउने कर र कर्मचारी बोनस खर्चअघिको बैंकको नाफा ६९ करोड रुपैयाँ छ । बैंकको कर खर्च १८ करोड ८२ लाख र स्टाफ बोनस ६ करोड २७ लाख रुपैयाँ हुने जनाएको छ । बैंकको चुक्ता पुँजी १ अर्ब ५८ करोड छ भने संचित कोषमा ८६ करोड ७४ लाख रुपैयाँ छ । बैंकले गत आसार मसान्तसम्ममा निक्षेप १५ अर्ब ७ करोड परिचालन गरेको छ भने कर्जा सापटी १३ अर्ब २६ करोड र लगानी ४५ करोड रुपैयाँ गरेको छ । यस विकास बैंकको क्यापिटल एडेक्वसी १६ प्रतिशत छ भने खराव कर्जा ०.८२ प्रतिशत छ । बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ, प्रतिसेयर सम्पत्ति ११२३ रुपैयाँ, प्रतिसेयर आम्दानी २७ रुपैयाँ रहेको छ ।

नेपाल बंगलादेश बैंक पनि अर्ब कमाउने सूचिमा, नाफा एक अर्ब १९ करोड

काठमाडौं, १७ साउन । नेपाल बंगलादेश बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब १९ करोड नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तममा कमाएको भन्दा ३८ करोड ४३ लाखले बढी हो । बैंकले २०७२ असार मसान्तसम्ममा ८१ करोड ३९ लाख नाफा कमाएको थियो । तीन अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा पनि तीन अर्ब रुपैंयाँ नै रहेको छ । नेपाल बंगलादेश बैंकको प्रति सेयर आम्दानी ३९ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ २०० रुपैंयाँ रहेको छ । बैंकले राइट ब्याकबाट ५ करोड प्राप्त गरेको छ भने सम्भावित कर्जा जोखिमका लागि ७ करोड प्रोभिजन गरेको छ । बैंकको खराब कर्जा भने जम्मा शुन्य दशमलब ७१ प्रतिशत रहेको छ । बैंकले दुई अर्ब ९१ करोड ब्याज आम्दानी गरेर एक अर्ब ४५ करोड ब्याज खर्च गरेको छ । बैंकको सञ्चालन मुनाफा भने एक अर्ब ५१ करोड देखिन्छ । नेपाल बंगलादेश बैंकले कर्मचारी खर्च ३३ करोडबाट बढाएर ४० करोड पुर्याएको छ ।