ज्योति विकास बैंकद्वारा चार जिल्लाका स्वास्थ्य संस्थामा बेबी वार्मर जडान
काठमाडौं । ज्योति विकास बैंकले प्रदेशका विभिन्न जिल्लाका स्वास्थ्य चौकी तथा अस्पतालहरूमा नवजात शिशुको शारीरिक तापक्रम सन्तुलनमा राख्न प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन उपलब्ध गराएको छ । दुर्गम क्षेत्रसम्म सुरक्षित प्रसूति सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो पहल गर्दै आएको हो । बैंकको पहलमा सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१२ स्थित सिसुवाखोला हेल्थ पोस्ट र मकालु गाउँपालिका–५ स्थित नुम प्राथमिक स्वास्थ्य केन्द्रमा बेबी वार्मर जडान गरिएको छ । यस्तै, खोटाङको जालपा वडा–१२ स्थित पुजनसेवा नगर अस्पताल र पाँचथरको फालेलुङ गाउँपालिका–२ स्थित एकतीन हेल्थ पोस्टमा पनि सो उपकरण जडान गरिएको बैंकले जनाएको छ । उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्य संस्थाका पदाधिकारी, स्थानीय प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो । सोही अवसरमा अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिमसमेत प्रदान गरिएको थियो । बैंकका अनुसार हालसम्म देशभर ७० वटा बेबी वार्मर जडान गरिसकिएको छ । यसअघि विभिन्न चरणमा जडान गरिएका ६६ वटा बेबी वार्मरमार्फत हरेक वर्ष करिब २ हजार ४४२ भन्दा बढी नवजात शिशुले सेवा पाउँदै आएका छन् । हालसम्म करिब १२ हजार २१० भन्दा बढी शिशु प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भइसकेका छन् । स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने मान्यतालाई आत्मसात् गर्दै नवजात शिशुको अकाल मृत्यु न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले बैंकले यो कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । जीवनरक्षक स्वास्थ्य क्षेत्रमा बैंक तथा वित्तीय संस्थामध्ये अग्रस्थानमा रहेर काम गर्ने संस्थाका रूपमा ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । बैंकले खुद मुनाफाबाट सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा ५० प्रतिशत बढी रकम छुट्याउँदै आएको जनाएको छ । साथै, गएको आर्थिक वर्षमा बैंकले करिब ४१ करोड रुपैयाँ कर तिरेर राष्ट्रप्रति आफ्नो दायित्व निर्वाह गरेको जनाएको छ ।
नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच सम्झौता, कर्मचारी र ग्राहकलाई उपचारमा छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र चावहिलस्थित मेडिकेयर हस्पिटल लिमिटेडबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ । पौष १८ गते भएको उक्त सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, उनीहरूका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहक, बैंकका क्रेडिट कार्ड होल्डर तथा अवकाश प्राप्त कर्मचारीहरूले मेडिकेयर हस्पिटलमा उपचार गर्दा बिल रकममा १० प्रतिशत छुट पाउनेछन् । सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लिमिटेडको तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नेपाल बैंकका कर्मचारी, अवकाश प्राप्त कर्मचारी तथा बैंकसँग आबद्ध ग्राहकहरू मेडिकेयर हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा सहुलियत दरमा उपचार सुविधा लिन सक्नेछन् । बैंकले यस किसिमका सहकार्यबाट आफ्ना कर्मचारी र ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ ।
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५९ पैसा र बिक्रीदर २० रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५ रुपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४२ पैसा , बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ६१ पैसा , ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।