५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छाप्दै राष्ट्र बैंक, डेढ अर्ब लागत लाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छाप्न लागेको हो । राष्ट्र बैंकका अनुसार उक्त ५० रुपैयाँ दरका नोट छाप्नका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरिएको छ । बोलकबोल मार्फत उक्त कम्पनी छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ ।  उक्त नोट छपाइको डिजाइन तथा छपाइका लागि १ अर्ब ४७ करोड रुपैयाँ भुक्तानी गर्ने सहमति भएको छ । 

नारायणी डेभलपमेन्ट बैंकको २ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १ लाख ९२ हजार ७७७ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  बैंकको उक्त सेयरका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।  यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिदका लागि आवेदन नदिए सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।  बैंकको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिका–१० चितवनमा रहेको छ ।    

कामना सेवा ‘डुअर स्टेप बैंकिङ’ : अब बैंक धाउनु पर्दैन, बैंक नै तपाईंको घर पुग्छ

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट वचत खाता अन्तर्गत नेपालकै पहिलो ‘डुअर स्टेप बैंकिङ सर्भिस’ सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको छ ।  यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैंकिङ सुविधा लिन चाहने ग्राहकका लागि प्रत्यक्ष रूपमा फाइदाजनक हुने बैंकले जनाएको छ ।  अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत ग्राहकले बैंकले प्रदान गर्ने विभिन्न सेवाहरु जस्तै नगद जम्मा गर्ने, खातावाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधाहरु आफ्नो घर वा कार्यालयमा वसेर प्राप्त गर्न सक्नेछन् । यी सुविधाहरू निःशुल्क रूपमा प्रदान गरिएको छ ।  ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत आवश्यक सेवा अनुरोध गर्न सक्ने र अनुरोध प्राप्त भएपश्चात बैंक प्रतिनिधिले अनुरोध गरिएको स्थानसम्म नै पुगी उक्त सेवा प्रदान गर्ने बैंकले जनाएको छ।  यसले डिजिटल बैंकिङको प्रर्वद्धन गर्दै बैंकिङ पहुँचलाई अझ सहज, सरल र प्रविधिमैत्री वनार्ईको छ ।  नेपाल राष्ट्र बैंकवाट स्वीकृति लिई सुरुवात गरिएको यो सुविधा नेपालकै पहिलो ‘डुअर स्टेप बैंकिङ सर्भिस’ हो ।  विश्वका केही विकशित देशहरूमा ग्राहकको घरमै पुगेर बैंकिङ सुविधा प्रदान गर्ने प्रचलन रहेता पनि नेपालको बैंकिङ इतिहासमा पहिलो भएको र कामना सेवाले यस्तो सुविधा ल्याएर नेपालको बैंकिङ क्षेत्रमा नवीनतम सुविधाको थालनी गरेको बैंकका प्रमुख मार्केटिङ अधिकृत दिपेन्द्र सुवेदीले जनाए ।  प्रमुख मार्केटिङ अधिकृत सुवेदीका अनुसार बैंकले यो सुविधाले ग्राहकको सन्तुष्टीलार्य मुख्य प्राथमिकता मान्दै डिजिटल प्रविधिमा आधारित सुविधास्वरूप डुअर स्टेप बैंकिङ सर्भिसको सुरुवात गरिएको हो । यो सुविधा दैनिक रूपमा व्यस्त रहने व्यवसायी, कार्यालयका कर्मचारी, गृहिणी, ज्येष्ठ नागरिकहरूका लागि अत्यन्त उपयोगी हुने विश्वास बैंकले लिएको छ ।  ग्राहकको लामो लाइन, बैंकसम्म पुग्ने समय तथा कागजी झन्झट नलिई घरमै वसेर बैंकका सुविधाहरू उपभोग गर्न सकिने छ । यो सुविधा अन्तर्गत बैंकको लकर सुविधा, एटिएम डेविट कार्ड, मोवाईल बैंकिङ सुविधासमेत नि:शुल्क रहेको छ ।  हाल यो सुविधा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरुवात गरिएको र विस्तारै देशैभर यो सुविधा विस्तार गर्ने बैंकले जनाएको छ ।