एनआईसी एशिया बैंकका ग्राहकका लागि ओम अध्याय रिट्रिटमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई मकवानपुरस्थित ओम अध्याय रिट्रिटमा छुट उपलब्ध गराउने सम्झौता बैंक र रिसोर्टबीच सम्पन्न भएको छ । सम्झौतापछि बैंकका ग्राहकहरूले थाहा, मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा सेवा लिँदा डिजिटल भुक्तानी गरेबापत १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् । रिसोर्टका अनुसार ग्राहकहरूले रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म र खाना तथा पेयपदार्थमा १० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछन् । यो सुविधा लिनका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधाको लाभ दिलाउने मात्र नभई डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबारको विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

महालक्ष्मी विकास बैंक आईएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ (ISO 9001:2015) बाट पुनः प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा प्रदान गर्न सक्षम देखिएपछि बैंकलाई २०८१ साल साउन ३२ गतेदेखि लागू हुने गरी प्रमाणपत्र प्रदान गरिएको थियो । सोही प्रणालीको निरन्तरता र प्रभावकारिता सुनिश्चित गर्न २०८२ साल भदौमा सम्पन्न पहिलो सर्भिलियन्स अडिटबाट बैंक पुनः प्रमाणित हुन सफल भएको हो । बैंकले 'प्रोभिजन अफ डेभ्लोमेन्ट बैंकिङ एक्टिभिटी' शीर्षकअन्तर्गतको सेवा क्षेत्रमा यो प्रमाणपत्र प्राप्त गरेको हो । विकास बैंकहरुको समूहमा यस प्रकारको प्रमाणपत्र प्राप्त गर्ने अग्रणी संस्थामध्ये महालक्ष्मी विकास बैंक पहिलो मध्ये एक बनेको बैंकले जनाएको छ । बैंकका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम राख्ने, उत्कृष्ट सेवा प्रदान गर्ने, ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने र आफ्नो कार्य प्रणालीलाई निरन्तर सुधार गर्न सक्ने संस्थालाई मात्र यस्तो प्रमाणपत्र प्रदान गरिन्छ । आईएसओ प्रमाणीकरण प्रक्रियाअन्तर्गत बैंकको नीति, नियम, आन्तरिक प्रक्रिया, अभिलेखीकरण प्रणाली तथा समग्र व्यवस्थापन अभ्यासको विस्तृत मूल्यांकन र अडिट गरिएको थियो । महालक्ष्मी विकास बैंकले आईएसओ पुनःप्रमाणीकरणले आफ्नो सेवा गुणस्तर र व्यवस्थापन प्रणालीमा थप विश्वसनीयता र पारदर्शिता स्थापित गरेको विश्वास व्यक्त गरेको छ ।

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा सम्पन्न भएको छ । उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गरेको छ । आर्थिक वर्ष २०८२/८३ को लागि जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।