आजसम्म सेयरधनी बने सिद्धार्थ बैंक र सिटिजन्स बैंकको लाभांश पाइने
काठमाडौं । सिद्धार्थ बैंक र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक १६ गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ यी दुई बैंकले कात्तिक १७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबरा भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । सिद्धार्थ बैंकले कात्तिक ३० गते काठमाडौंमा २४औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको ५ प्रतिशतका दरले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतका दरले ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ७७ करोड ७३ लाख १६ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश १९औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने छ । तर, हालसम्म बैंकले साधारण सभा आह्वान गरिसकेको छैन ।
मुक्तिनाथ विकास बैंकको साधारण सभाबाट १८.२० प्रतिशत लाभांश पारित
काठमाडौं । मुक्तिनाथ विकास बैंकले शनिबार पोखरामा उन्नाइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरूलाई १८.२० प्रतिशत लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । लाभांशमध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशको करसहित) रहने निर्णय भएको छ । साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो । सभाले आव २०८०/०८१ को वार्षिक प्रतिवेदन अनुमोदन गर्नुका साथै बैंकको चुक्ता पूँजी ९ अर्ब ३ लाख ८८ हजार ७ सय ६७ रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ । सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने र पूँजीवृद्धि पश्चात नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गरिएको छ। साथै, आव २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्तिको प्रस्ताव पनि स्वीकृत गरिएको छ । कार्यक्रमको औपचारिक उद्घाटन अध्यक्ष मल्लले गरेका थिए । स्वागत मन्तव्य सञ्चालक समिति सदस्य भरत प्रसाद लम्सालले राखे भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युम्न पोखरेलले बैंकको हालको अवस्था, उपलब्धि तथा भावी रणनीतिबारे जानकारी दिएका थिए । सभामा प्रस्तुत प्रतिवेदनमाथि विभिन्न सेयरधनीले सुझाव तथा जिज्ञासा राखेका थिए, जसका बारेमा अध्यक्ष मल्ल र सीईओ पोखरेलले स्पष्टीकरण प्रदान गरेका थिए ।
कामना सेवाको पहिलो त्रैमासिक नाफा १९ करोड ७६ लाख, ५३ अर्ब कर्जा प्रवाह
काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिसम्म ६३ अर्ब ७८ करोड निक्षेप संकलन गरि ५३ अर्ब ४५ करोड कर्जा प्रवाह गरेको छ । बैंकले प्रथम त्रैमासको अन्त्यसम्म १९ करोड ७६ लाख खुद मुनाफा कमाउन सफल भएको छ । बैंकको कर्जा निक्षेप अनुपात ८६.३५ प्रतिशत रहेको छ । सोही अवधिसम्म बैंकको कुल सम्पत्ति ७१ अर्ब ६३ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशत रहेको छ । बैंकले हालै मात्र नेपालको बैंकिङ इतिहासमै नयाँ प्रडक्ट डोरस्टेप बैंकिङ सार्वजनिक गरेको थियो, जसले आफ्ना ग्राहकहरूलाई घरमै डिजिटल प्रविधिमा आधारित बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ । गत महिना सम्पन्न बैंकको १९ औं वार्षिक साधारणसभाले आ.व. ८१.८२ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।