सिटिजन्स बैंक र एकता बुक्सबीच सहकार्य, ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एकता बुक्सबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने समझदारी भएको छ । बैंक र काठमाडौंको थापाथलीस्थित एकता बुक्सबीच सो समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले एकता बुक्सका थापाथली, मानभवन, पोखरा र इटहरीस्थित आउटलेटहरूमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले यस किसिमको सहकार्यबाट ग्राहकहरू लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ प्रोत्साहित हुने विश्वास व्यक्त गरेको छ । सिटिजन्स बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी गर्न उत्प्रेरित गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालन गर्दै आएको जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा उपलब्ध हुने बैंकले जनाएको छ ।

४ बैंकमा राष्ट्र बैंकको डण्डा, सप्तकोशी डेभलपमेण्टमाथि शीघ्र सुधारात्मक कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ४ वटा बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकबाट जारी निर्देशन उल्लङ्घन गरेको भन्दै चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा प्राइम बैंक, कुमारी बैंक, लुम्बिनी विकास बैंक र सप्तकोशी डेभलपमेनट बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो । राष्ट्र बैंकले गरेको निरीक्षणका क्रममा प्राइम बैंकले केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ बमोजिम जोखिम भार गणना गरेको नपाइएको राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सचेत गराएको छ ।  यस्तै, कुमारी बैंकले कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न पाउने छैन भन्ने व्यवस्था अनुपालना नगरेकोले पाइएपछि सीईओलाई सचेत गराएको छ । यस्तै, राष्ट्र बैंकले लुम्बिनी विकास बैंकमा गरेको स्थलगत निरीक्षणपश्चात सञ्चालक समितिले सीईओलाई दोस्रो कार्यकालको लागि पुनर्नियुक्ति गर्दाको मितिमा उल्लेख गरिएको सेवा सुविधा छोटो समयपश्चात नै वृद्धि गरी गरेको पाइएको जनाएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ७ मा भएको व्यवस्था उल्लङ्घन गरेको पाइएकाले बैंकको तत्कालीन संचालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।  यस्तै, सप्तकोशी डेभलपमेण्ट बैंकमा गरेको स्थलगत निरीक्षणपश्चात थप गरिएको कर्जा नोक्सानी व्यवस्था समायोजन गर्दा २०८१ असार मसान्तमा संस्थाको पुँजी कोष अनुपात नियामकले तोकेको १० प्रतिशतको न्यूनतम पुँजीकोष अनुपातमा ४२.७ प्रतिशतले नपुग रहेको पाइएको राष्ट्र बैंकले जनाएको छ । २०८२ असार मसान्तको पछिल्लो वित्तीय विवरण अनुसार न्यूनतम पुँजीकोष अनुपात ७.५१ प्रतिशत रहेको छ । जुन राष्ट्र बैंकले तोकेको न्यूनतम् पुँजीकोष अनुपातमा २४.९ प्रतिशतले न्यून रहको हुँदा सप्तकोशी बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले प्रवाह गरेको चालु पुँजी प्रकृतिका कर्जाहरू आवश्यक कागजात नलिई संस्थाको कोर बैंकिङ प्रणालीमा समयावधि थप गरेको, कर्जा नोक्सानी व्यवस्था सम्बन्धी विवरण यथार्थपरक नभएको तथा केन्द्रीय बैंकमा गरेको रिपोर्टिङ विश्वसनीय नभएको र निर्देशनहरू पालना नगरेको पाइएकाले सप्तकोशी डेभलपमेण्ट बैंकका सीईओ दिनेशकुमार पोखरेललाई नसिहत दिइएको राष्ट्र बैंकले जनाएको छ । स्थलगत निरीक्षणका क्रममा पाइएका कैफियतहरु सुधार गर्ने जिम्मेवारी बैंकको सञ्चालक समितिमा रहने हुँदा प्रतिवेदनमा उल्लेखित कैफियत/गल्ती तथा अवस्था पुन: दोहरिन नदिन र सीईओबाट भएको कैफियतहरू सुधारको लागि जिम्मेवार रहन राष्ट्र बैंकले लिखित आदेश जारी गरेको छ । 

सिद्धार्थ बैंकका ग्राहकलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरूले अब काठमाडौंको गोकर्णेश्वरमा अवस्थित माउन्ट अफ एक्सेल प्रालिमा विभिन्न सेवाहरू लिँदा छुट सुविधा पाउने भएका छन् । यस सम्बन्धमा सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेलबीच सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले माउन्ट अफ एक्सेलमा सेवा उपयोग गर्दा सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यस सहकार्यले आफ्ना ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्नुका साथै नगद रहित कारोबार (डिजिटल ट्रान्जेक्सन) मा जोड दिँदै डिजिटल बैंकिङ संस्कृतिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ । यस सम्झौता तथा सेवा सम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले बैंकको २४ घण्टा सञ्चालनमा रहने ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।