उपत्यकामा राति १० बजेसम्म गाडी, ऐन प्रमाणिकरण पछि लागु हुने
काठमाडौँ । काठमाडौं महानगरले राजधानीमा चल्ने सार्वजनिक यातायातका गाडीहरू राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने अनिवार्य गरेको छ । अबको १५ दिनमा ऐन प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि राति १० बजेसम्म सार्वजनिक साधन अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था लागू हुने जानकारी महानगरले दिएको छ । काठमाडौं महानगरले सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ जारी गरी महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनले बिहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो । कात्तिकदेखि माघ मसान्तसम्म भने बसले बिहान ५ देखि राति ९ बजेसम्म सेवा दिनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । ऐनमा महानगरसँग स्वीकृति नलिई सार्वजनिक सवारी साधनमा कुनै विज्ञापन राख्न नपाइने, बसमा फोहोर फाल्ने भाँडो, अग्नि नियन्त्रक उपकरण अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । चालक र सहचालकलाई पोसाक उपलब्ध गराउने, यात्रुका गुनासो सुन्ने र समस्या समाधान गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्थासमेत ऐनमा गरिएको जानकारी महानगरका अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार सार्वजनिक सवारी साधनमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन ऐनमा त्यस्तो व्यवस्था गरिएको हो । सार्वजनिक सवारी साधनमा प्राथमिक उपचार सामग्री अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्थासमेत गरिएको छ । चालकले जथाभावी यात्रु चढाउने र ओराल्ने नगर्ने, अश्लील नबोल्ने, यौनजन्य दुर्व्यवहार नगर्ने, मदिरा र सुर्तीजन्य वस्तुको प्रयोग नगर्ने दायित्व निर्वाह गर्नुपर्ने र नगरेमा कारबाही हुने व्यवस्थासमेत ऐनमा गरिएको छ । ऐनमा मदिरा तथा सुर्तीजन्य वस्तुको सेवन नहुने, अश्लील बोल्न रोक लगाउने, यौनजन्य हिंसा हुन नदिने दायित्व सहचालकलाई हुने र भएमा कारबाही हुने व्यवस्था राखिएको छ । ऐनमा यात्रुले अनिवार्य टिकट लिनुपर्ने, कागजी टिकटलाई विद्युतीय टिकटले प्रतिस्थापन गर्नुपर्ने, तोकिएको स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने व्यवस्था अनिवार्य लागू गरिने भएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
कानुनबिनै रेल खरिद गर्ने तयारी, प्रक्रिया अन्तिम चरणमा
काठमाडौं । सरकारले रेल सञ्चालनसम्बन्धी कानुन निर्माण नगरी खरिद प्रक्रिया अघि बढाएको छ। जनकपुर-जयनगर रेल सञ्चालन गर्न सरकारले बजेटसहित रेल खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। तर रेल सञ्चालनसम्बन्धी कानुन भने छैन। सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्ने निर्णय गरिसकेको छ। रेल खरिद सम्झौता गर्न रेल विभागले एक साताअघि भारतीय कम्पनीलाई पत्राचार गरिसकेको छ। विभागका महानिर्देशक बलराम मिश्रा सम्झौता भएको तीन महिनाभित्र रेल सञ्चालन हुने दाबी गर्छन् । जनकपुर–जयनगर रेल रेल्वे कम्पनीमार्फत सञ्चालन गरिनेछ। तर, रेल सञ्चालन गर्ने रेल्वे कम्पनीसम्बन्धी कानुन छैन । मिश्राका अनुसार रेल्वे कम्पनीको संगठन संरचना र कर्मचारी विनियमवलीको मस्यौदा तयार भइसकेकाले रेल सञ्चालनमा कुनै समस्या नहुने बताउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
साझाले थप २० नयाँ शहरी बस ल्याउँदै, रक्सौल आइपुगे नयाँ बस
काठमाडौँ । साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महिना पहिले बस खरिदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो । साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरीद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरिद भएकोे हो । उनले भने, “अहिले ती नयाँ बस रक्सौलमा आइपुगेको छ । भन्सार प्रक्रिया पूरा गरेर अब केही समयभित्रै काठमाडौँ आइपुग्नेछ ।” बस काठमाडौँ आइपुगे पछि उपत्यकामा माग भएका ठाउँ र आवश्यकता हेरेर सरकारसँग रुट माग गरिने उनले जानकारी दिए । काठमाडौँ महानगरपालिकाले रु पाँच करोड र ललितपुर महानगरपालिकाले रु एक करोड शेयर खरिद गरेका छन् । विसं २०१९ मा बस सेवा शुरु गरेको साझा पहिले लोकप्रिय सार्वजनिक सवारी थियो । विभिन्न समस्याका कारण दुई दशकसम्म साझाका सेवा ठप्प भयो । विसं २०७० वैशाखदेखि साझाले नयाँ बस खरिद गरेर पुनः सेवा सञ्चालन गरेको थियो । पहिले उपत्यकाको शहरी क्षेत्रमा सीमित साझाका बस अहिले काठमाडौँ उपत्यकाका ग्रामीण क्षेत्रसम्म फैलिएको छ । साझा यातायातले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा बस खरीद गरेर सेवा फैलाइरहेको जनाएको छ । साझा यातायातले गत वर्षदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर ‘सेमी लो स्टेप बस’ समेत सञ्चालनमा छ । साझाले काठमाडौँदेखि बागलुङ र काठमाडौँदेखि कुश्मासम्मको लामो दूरीका दुईदुई बस समेत सञ्चालन गरिरहेको छ ।