सुन्दर यातायातले गर्यो नीति कार्यक्रमको स्वागत, ‘विद्युतीय सवारी सम्बन्धी नीति बनाऊ’
काठमाडौँ । सुन्दर यातायात प्रालिले सरकारले ल्याएको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधन सञ्चालन तथा प्रयोगका लागि प्रोत्साहन गर्ने कुरा उल्लेख भएकोमा स्वागत गरेको छ । प्रालिका अध्यक्ष भेषबहादुर थापाले सोमबार विज्ञप्ति प्रकाशित गरी नीति कार्यक्रममा विद्युतीय सवारीको कुरा उल्लेख भएकोमा स्वागत गरेका हुन् । सुन्दर यातायातले बस तथा चार्जिङ स्टेशन सञ्चालनको लागि आवश्यक मेशिन तथा सामाग्री आयात गरी सञ्चालन गर्ने नीति बनाउन सरकारसँग अनुरोध गरेको छ । सुन्दर यातायातले लाखौँ खर्च गरेर चार्जिङ स्टेशनको सामान ल्याएको र नीति नबन्दा प्रयोगविहीन भएकोमा ध्यानाकर्षण गराएको छ । अहिलेसम्म विद्युत युनिट दर निर्धारण हुन नसकेको, विद्युतीय सवारी साधनको भाडादर कायम गर्न नसकेको र विद्युतीय सवारी साधन सम्बन्धी नीति बनाउन नसकेकोमा विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराइएको हो ।
यातायात कार्यालयमा भ्रष्टाचार, पाँच वर्षमा १२३ विरुद्ध मुद्दा
काठमाडौं । ०७५ मा यातायात कार्यालयका ५६ जनाविरुद्ध भ्रष्टाचार अभियोग लागेको छ । तिनमा कार्यालय सहयोगीदेखि प्रमुखसम्म छन् । उनीहरूले परीक्षामा सहभागी नै नभएका र फेल भएकालाई पास गराएर लाइसेन्स दिलाउने, तर पास भएकालाई फेल गराइदिने गरेको भेटिएको अख्तियारले जनाएको छ । असोजमा यातायात व्यवस्था कार्यालय, एकान्तकुनाका तत्कालीन प्रमुख सहसचिव तेजनारायण यादव, शाखा अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी र विष्णुप्रसाद सुवेदी, नायब सुब्बा लेखनाथ भुसाल, मेकानिकल इन्जिनियर श्याम केसी, ठूलोभर्याङ कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल र कम्प्युटर अप्रेटर विज्ञान खड्गी, यातायात व्यवस्था विभागका कम्प्युटर अप्रेटर लक्ष्मण तिवारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी उनीहरूले दुई सय चारजनालाई लाइसेन्स दिएको खुलेको थियो । माघमा यातायात कार्यालयका आठ कर्मचारीविरुद्ध मुद्दा दायर भयो । परीक्षामा अनुपस्थित तथा फेल भएका ६ सय २९ जनालाई आर्थिक चलखेलका आधारमा लाइसेन्स वितरण गरेको खुलेपछि मुद्दा दायर भएको हो । एकान्तकुना कार्यालयका शाखा अधिकृतद्वय भक्तबहादुर विष्ट र विष्णुप्रसाद सुवेदी, कम्प्युटर अप्रेटरहरू जयनारायण चौधरी, सचिनकुमार सिंह र अमितकुमार साह, भर्याङ कार्यालयका कम्प्युटर अधिकृत विजेन्द्रराज जोशी, मेची यातायात व्यवस्था कार्यालयका कम्प्युटर अप्रेटर विजयराम वनमाला र प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्रालयका कम्प्युटर अप्रेटर मदनकुमार साहविरुद्ध मुद्दा दायर भएको हो । गत १६ साउनदेखि २४ असोजसम्म एकान्तकुना कार्यालयबाट लिएका विभिन्न वर्गका सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा फेल, अनुपस्थित र चेकलिस्टमा नाम नै नभएकालाई उनीहरूले लाइसेन्स दिलाएका थिए । फेल भएकालाई पास गराएकोमा साउनमा पनि आयोगले १४ विरुद्ध मुद्दा दायर गरेको थियो । मेकानिकल इन्जिनियर श्याम केसी, सइ श्रीराम तिवारी, विमल खरेल, जवान गणेश खड्का र अन्य नौ बिचौलियाविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
‘हुन्डाई फेस्टिभ डिलाइट २०७५’ मा भावना केसीले जितिन् ‘हुन्डाई आई २० एक्टिभ’
काठमाडौँ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७५’ का विजेताहरुको नाम घोषणा गरेको छ । सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको निःशुल्क बिमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्र मार्फत १०० जना भाग्यमानी विजेताहरुलाई १०-१० ग्राम सुन र बम्पर लक्की ड्रबाट २ जनालाई हुन्डाई आई२० एक्टिभ र हुन्डाई क्रेटा जित्ने अवसर पाएका थिए । हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरका विजेताको घोषणा लक्की ड्र मार्फत आइतबार सार्वजनिक गरिएको हो । सो कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल र मिस नेपाल श्रृंखला खतिवडा थिए । हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरको पहिला बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ९०६ का हाउजिङ्ग एण्ड इन्स्योरेन्स डिपार्टमेन्ट, वेलफेयर प्लानिङ्ग डिरेक्टोरेट भावना केसी काठमाण्डौंले हुन्डाई आई २० एक्टिभ जितिन् । साथै हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १६२२ का बद्री कुमार खड्का, दाङले हुन्डाई क्रेटा जिते । योजना २१ भदौदेखि ३० कात्तिक २०७५ सम्म लागु गरिएको थियो ।